अर्थतन्त्रमा अलैंचीको सम्बन्ध «

अर्थतन्त्रमा अलैंचीको सम्बन्ध

अलैंचीका प्याकेजिङ निर्माण गरी बंगलादेश, दुबईलगायतका देशमा नेपाली अलैंचीको गुणस्तरीय उत्पादन पु-याउन सफल हुनुपर्ने देखिन्छ ।

नेपालमा १ लाख ७५ हजार कृषक अलैंची खेतीमा संलग्न छन् । १६ हजार हेक्टर जमिनमा खेती हुने अलैंची ५ हजार मेट्रिक टन उत्पादन हुँदै आएको बताइन्छ । अलैंचीको मूल्यमा आएको गिरावटले नेपालको अर्थतन्त्रमा समेत असर पुगेको छ । सरकारले अलैंची निकासी र बजारीकरणमा ध्यान नदिँदा अर्थतन्त्रमा असर परेकोे पाइन्छ ।
झापाको बिर्तामोडमा अलैंची व्यवसायी महासंघको केन्द्रीय भवनसमेत शिलान्यास भएको छ । कार्यक्रममा सहभागी अलैंची व्यवसायीले भाउमा आएको गिरावाट प्रति निकै चिन्ता व्यक्त गरेका छन् । व्यवसायीको पहलमा मात्र अलैंचीको बजारीकरण टिकेको उनीहरूले दाबी गरे । व्यवसायीले पहल नगरे बिक्री–वितरण ठप्प हुने अवस्था रहेको उनीहरूको भनाइ छ । अलैंची कृषकका समस्या सम्बन्धित निकायमा पु-याउने, अलैंचीको स्पष्ट नीति निर्माण गर्ने काम महासंघले गर्दै आएको महासंघले जनाएको छ । नेपालको अलैंची प्रवद्र्धन र निर्यात गर्दै आएको महासंघले देशभर १५ वटा शाखा विस्तार गरेको छ । उत्पादनको २ प्रतिशत नेपालमा खपत हुने र बाँकी निर्यात हुने गर्छ ।
सरकारले अलैंची व्यवसायको पक्षमा नीति नबनाएको कारण व्यसायीले आफंै बजार खोज्नुपर्ने, भारतीय व्यापारीसँग सम्झौता गर्नुपर्ने समस्या छ । व्यवसायीहरू सरकारले अलैंची व्यापारी र किसानको मर्का बुझेर साथ दिए । अर्थतन्त्रमा सहयोग पुग्ने बताउँछन् ।
अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मलकुमार भट्टराईले अलैंची उत्पादनमा कृषकलाई सरकारले साथ दिए पनि उत्पादन पश्चात् अन्तर्राष्ट्रिय बजारसम्म पु-याउने कुनै भूमिका नखेको जिकिर गर्छन् । व्यवसायीको समस्यालाई सम्बोधन गर्न केन्द्र र प्रदेश सरकारले अझै पनि चासो नदेखाएको आरोप उनी लगाउँछन् ।
बिर्तामोडमा एउटा अलैंची गोदाम राख्न वेरहाउस निर्माणमा सरकारलाई गुहार्दा अनेकौँ कुरामा सम्झौता गर्न लगाएर निर्माण कार्य असफल व्यवसायी बताउँछन् । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले कृषिक्षेत्रको विकास आफ्नो मुख्य उद्देश्य भएको बताउँदै अलैंची व्यवसायीसँग नगरपालिका सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
महासंघले भारत र बिर्तामोडको बजार मूल्य प्रक्षेपण गरी किसान तथा व्यवसायीलाई मुल्य सूचना प्राप्तिको व्यवस्था मिलाएको छ । अलैंची किसानमा मूल्य निर्धारणको समस्या जटिल बनेसँगै महासंघले ‘आईसीटी फर एजिआरआई’ सँग समन्वय गरी उक्त प्रणालीको सुरुवात गरिएको छ । अब अलैंची खेतीदेखि व्यवसायसम्मको सबै विवरण वेबसाइटमा हेर्न मिल्ने छ । वेबसाइट अपडेटसँगै अन्तर्राष्ट्रिय स्तरमा व्यापार गर्ने व्यवसायीसँग कृषकले सम्पर्क गर्न सक्ने भएका छन् ।
अलैंचीको गुणस्तर कायम गर्न उत्पादित अलैंचीलाई तीन ग्रेडमा वर्गीकरण गर्ने भएको छ । उक्त अलैंचीको फरक–फरक मूल्य निर्धारण गरेको छ । धूवाँ र पुल्ठोजन्य अलैंची बिक्रीमा रोक लगाएको छ । यससँगै अलैंचीको भण्डारण हुने झापाको बिर्तामोडमा कटिङ, ग्रेडिङ र प्याकेजिङ कार्यमा १ हजारभन्दा बढी महिलाले रोजगारी पाएका छन् । विश्वमा एक नम्बर अलैंची नेपालमा उत्पादन हुन्छ भन्ने परिचय नेपाली व्यवसायीले दिएका छन् । अलैंचीका प्याकेजिङ निर्माण गरी बंगलादेश, दुबईलगायतका देशमा नेपाली अलैंचीको गुणस्तरीय उत्पादन पु-याउन सफल हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्