छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. महत

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले यथाशक्य चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताएक छन् । उनले यसअघिको सरकारले गरेका गलत कामलाई खारेज गर्नुपर्ने र कमजोरीहरु सच्याउनुपर्ने तथा जतिसक्दो चाँडो पूर्ण बजेट ल्याउनुपर्ने बताएका छन् ।
यसअघि अध्यादेशबाट ल्याइएको बजेटलाई प्रतिस्थापन गर्नको लागि पनि नयाँ पूर्ण बजेट ल्याईनुपर्ने महतको भनाई छ ।
उनले अब ल्याउने बजेट कृत्रिम रुपमा आकारमात्रै बढाउन नहुने सुझाव दिए । यसअघि अध्यादेशमार्फत आएको बजेटले राष्ट्रको आन्तरिक र बाहृय दुवै ऋण बढाएको उनको गुनासो छ । उनले भने,“अहिले एक जनाको भागमा ५२/५३ हजार ऋण पुगेको छ ।” अब बजेट ल्याउँदा प्रशासकीय खर्चपनि घटाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको जोड थियो ।
वर्तमान सरकारले पूर्ण बजेट ल्याउनको लागि तयारी गर्नुपर्ने भन्दै उनले वर्तमान सरकारले भूमि आयोग विघटन गरेकोमा खुशी व्यक्त गरे ।
“भूमिहिनहरुलाई भूमि दिने कुरामा सरकारले उचित र वैज्ञानिक ढंगले काम गर्छ” उनले भने, “यसअघि जस्तो आयोग बनाएर कार्यकर्ताको भर्ती केन्द्र बनाइने छैन ।” उनले अब सरकारले उचित व्यक्तिलाई उचित जिम्मेवारी दिने कुरामा जोड दिनुपर्ने पनि सुझाव दिए । पूर्वमन्त्री महतले राजनीतिक नियुक्ती गर्दापनि योग्य र सक्षम व्यक्तिलाई उचित जिम्मेवारी दिनुपर्ने बताए । उनले अर्थतन्त्रलाई पूनर्जीवन दिने कुरामा विशेष ध्यान दिनुपर्ने बताए ।