कम्युनिस्टहरूको व्यावहारिक परिवर्तन कहिले ? «

कम्युनिस्टहरूको व्यावहारिक परिवर्तन कहिले ?

१२ वर्ष लामो जनयुद्धको उद्गम मानिने रुकुमजस्ता जिल्लामै 
अहिले कम्युनिस्टका सिद्धान्त र व्यवहारमा आकाश–जमिनको फरक छ ।

सामान्यतया आममानिसले बुझेको कम्युनिस्ट सिद्धान्त भनेको कम्युनिस्टहरू क्रान्तिकारी र परिवर्तनकारी शक्ति हुन्, सामाजिक, सांस्कृतिक कुरीति आफू पनि गर्दैनन् र गर्नेका विरुद्ध पनि लड्छन्, जनताको अधिकारको पक्षमा जस्तोसुकै क्षति बेहोरेर पनि संघर्ष गर्छन्, व्यक्तिगत फाइदा नहेरेर सामुहिक जीवनपद्धतिमा विश्वास र अभ्यास गर्छन्, हरेक क्षेत्रबाट पछि परेका वा पारिएका व्यक्ति तथा समुदायलाई मूल धारमा ल्याउँछन् र त्यसको परिवर्तन आफैंबाट सुरु गर्छन् । त्यति मात्र होइन, समग्रमा कम्युनिस्टहरूको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र धार्मिक संस्कार पनि फरक हुन्छ । तर आममानिसको सामान्य जानकारीमा रहेका कम्युनिस्ट नेताकार्यकर्तामा हुनुपर्ने गुण २१ औं शताब्दीको वैज्ञानिक समाजवादको नारा लगाउन नछोडिरहेको पार्टी मूल नेतृत्वहरूमा पनि व्यवहारत अन्य पार्टीहरूको भन्दा खासै फरक भूमिकामा देखिँदैन ।

जनयुद्धको माओवादी र संघीयताका कम्युनिस्ट पार्टी
नेपालको राजनीतिक वृत्तमा माओवादी जनयुद्धको एउटा सफल एजेन्डा भनेको संघीय संरचनामा देशलाई लैजानु हो । तर, त्यसबाहेक अन्य नेपाली समाजको सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणको मुद्दा भने खासै परिवर्तन भएको पाइँदैन । द्वन्द्वकालको समाज र हिजोआजको शान्तिकालको समाजमा एकदमै फरक छ । फरक भन्नुको मतलब राम्रो भनेको चाहिँ पटक्कै होइन, बरु बिग्रेर फरक भएको छ । जति द्वन्द्वकालमा समाज विकृतिबाट जोगिएको थियो र विकृतिमुक्त समाज थियो, अहिलेको शान्तिकालमा त्यस्तो कहीँ देखिँदैन ।
द्वन्द्वकालमा दुईपक्षीय बीच हुने झडप वा राजनीतिक आस्थाका आधारमा मृत्युका घटना त धेरै थिए, तर सामाजिक स्तरबाट हुने हत्या, हिंसा, बलात्कार, चोरी, डकैती, बोक्सी आरोप र रूढिवादी धार्मिक संस्कारहरू पूरै अन्त्यजस्तो देखिन्थ्यो । त्यसको मुख्य योगदान माओवादी जनयुद्धकाल नै थियो । यस्ता विकृत काम गर्नेलाई माओवादीले जनकारबाही गर्छ भन्ने जसरी त्रास थियो, त्यसकै कारण समाज सुध्रिएको थियो । तर, जसरी जनताका घरमा खाँदै, जंगल र ओढारहरूमा बास बस्दै गरेको माओवादी सिंहदरबारमा पस्यो अनि पुनः यी गतिविधि दोहोरिन थालेका छन् ।

कम्युनिस्ट अरूभन्दा कसरी फरक ?
बेला–बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसहितका जिल्लास्तरका नेताहरूले पनि भाषणका क्रममा भन्ने गर्छन्— हामी कम्युनिस्टको अन्य संसदीय दलभन्दा सामाजिक व्यवहार र एजेन्डा फरक छ । तर, साँच्चिकै व्यवहारगत रूपमा हेर्दा कम्युनिस्ट र कांग्रेससहित अन्य दलहरूमा आबद्ध कार्यकर्ताहरूको व्यवहार एउटै छ । केही कम्युनिस्ट नेताले शपथ खाँदा ईश्वरको नाम कटाएर देश र जनताको नाममा बोल्नेबाहेक अधिकांश नेता–कार्यकर्ता उही ईश्वरकै नामको दिशामा छन् । जनयुद्धकालमा गाउँगाउँमा रक्सी खोज्दै फाल्ने कम्युनिस्टहरू अहिले आफैं रक्सी खाने त छँदैछ, रक्सीकै डिलर राखेर व्यवसाय गर्नेदेखि रक्सी उद्योगसमेत गाउँगाउँमा खोलिरहेका छन् । त्यस्तै अन्य पार्टीका कार्यकर्ता र जनताजस्तै कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरूको पनि जन्म तथा मृत्यु संस्कारमा कुनै फरक छैन । त्यसबाहेकका अन्य सामाजिक तथा सांस्कृतिक मुद्दामा झन जोडतोडका साथ उठिरहेका छन् । केही वर्षअघि प्रचण्डले नै भैंसी पूजा गरेको निकै चर्चाको विषय बनेको थियो भने अघिल्लो वर्ष माओवादी नेता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारी निवास सर्दा कालो बोका काटेर कार्यालय सारेको समेत नेपाली राष्ट्रिय मिडियाहरूमा समाचार छापिए । जनवादी विवाहको वैवाहिक संस्कार अँगाल्ने माओवादी नेता–कार्यकर्ताहरूले नै जनवादी विवाह त के, बालविवाह र बहुविवाहका मुद्दामा मसेत निकै आलोचना खेप्नुपरिरहेको छ । मृत्युपछि घटनाक्रम सेलाए पनि प्रचण्ड पुत्र प्रकाशले नै बहुविवाह गरेर श्रीमतीहरूलाई दुःख दिइरहेको बारम्बार समाचार तथा प्रतिक्रियाहरू आउने गरका थिए । त्यस्तै मान्छेको मृत्यु संस्कारको कुरा गर्दा जनयुद्धमा मृत्यु हुँदा जंगलमा खाल्डो खनि लास गाडेर लालसलाम गर्दै अर्को युद्धमोर्चामा सहभागी हुने सहयोद्धाहरूले समेत अहिले कपाल फालेर १३ दिने संस्कार गरिरहेको पाइन्छ ।
बुर्जुवा शिक्षा भन्दै पढाइ छोडेर जंगल हिँडेकाहरू अहिले छोराछोरीका उमेरसँग भर्ना भएर पढिरहेको पाइन्छ । त्यति मात्र होइन, निजी बोर्डिङ स्कुलहरूको विरोध गर्दै खारेजी अभियान चलाएको माओवादी नेता–कार्यकर्ताबाट नै अहिले निजी स्कुलहरू खोल्ने, आफ्ना छोराछोरी सरकारी छोडेर त्यसमै पढाउने पनि गरेको पाइन्छ । त्यसका साथै अध्ययन तथा स्वास्थ्य उपचारको सिलसिलामा विदेशका महँगा–महँगा संस्थाहरूमा जानेमा पनि कम्युनिस्टहरू नै पछिल्लो समय बढी देखिएका छन् । द्वन्द्वकालमा मन्दिर भत्काउँदै हिँड्ने माओवादी जनप्रतिनिधिहरूले नै अहिले मन्दिर निर्माणका लागि लाखौं रकम छुट्याएको त झनै नौलो कुरा भएन ।

कम्युनिस्ट व्यवहारगत सुझाव
कम्युनिस्ट पार्टीले अरूभन्दा फरक पार्टी हो र हामीसँग फरक नेतृत्व छ भनेर देखाउनका लागि पूरै सम्भव नभए पनि केही हदसम्मचाहिँ पक्कै गर्नुपर्ने देखिन्छ । किताबी सिद्धान्तमा जस्तोसुकै राम्रो दस्तावेज भए पनि गाउँमा रहेका नेता–कार्यकर्ताहरूको व्यवहारमा परिवर्तन छैन भने सच्चा क्रान्तिकारी हुन सकिँदैन । कम्युनिस्ट नेता, कार्यकर्ता र शुभेच्छुक हुन केही मापदण्ड पक्कै पनि बनाउनुपर्छ । यस्ता मापदण्ड सकेसम्म पार्टीको उच्च नेतृत्वदेखि जनतासम्म र यदि त्यो सम्भव नभए कम्तीको केही सीमा बनाएर अनिवार्य लागू गर्नुपर्छ ।
अहिले मनोमानी रूपमा कसैले गर्ने र कसैले नगर्ने मनपरी भएको हुँदा कम्युनिस्ट नेता–कार्यकर्ताहरूको व्यवहारगत खिचडी देखिएको हुन्छ । त्यसकारण पनि केही विषयमा गम्भीर रूपमा समीक्षा गर्नु आवश्यक छ । यी विषयहरूमा कम्तीको पनि केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति वा सबै आम शुभेच्छुक जनतामा कुनसम्म अनिवार्य लागू गर्न सकिन्छ, त्यसमा नैतिकताको प्रश्न उठाउँदै कडाइका साथ लागू गर्नुपर्छ । तब मात्र अन्य पार्टीभन्दा कम्युनिस्ट पार्टी फरक हुनेछ र सिद्धान्त र व्यवहारमा एकरूपता आउनेछ ।
यसबाहेक हाम्रो दैनिक व्यावहारिक जीवनमा आइपर्ने धेरै विषयमा नेता, कार्यकर्ता र शुभेच्छुकहरूमा स्पष्ट मापदण्ड हुन जरुरी छ । नत्र सिद्धान्त र व्यवहारको सीमा कहिल्यै भेटिदैन र जनताबाट आलोचित भइरहनेछ । यी कुराहरू कम्युनिस्टबाहेक अरूले सुधार गर्नु पर्दैन भन्न खोजेको पटक्कै होइन । तर, जनताको सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरका लागि भन्दै लामो जनयुद्ध गरेका कम्युनिस्ट लागि यी कुरामा निश्चित गर्नु भने पहिलो सर्त नै हो । हाल पुरानो माओवादी केन्द्र र नेकपा एमाले मिलेर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेको छ । त्यस्तै अहिले एउटा नेकपा सरकारमा छ भने विप्लव नेतृत्वको नेकपा सडकमा छ । विप्लवले माओवादी द्वन्द्वकालको जस्तै जनसरकार, जनअदालत घोषणा गर्दै संघर्षको कार्यक्रम सञ्चालन गरिरहेको छ, तर यसले पनि व्यवहारगत रूपमा खासै ध्यान दिएको पाइँदैन । व्यक्तिअनुसार उसको व्यवहार क्रान्तिकारी र रूढिवादी त्यसमा भर पर्दै आएको छ, तर पार्टीगत नैतिकताको प्रश्न कतै देखिादैन । जबसम्म सिद्धान्तअनुसार कुनै पनि पार्टीको नेतृत्व, कार्यकर्ता र शुभेच्छुकको जीवनशैली र व्यवहार परिवर्तनमा कुनै मापदण्ड बन्दैन तबसम्म सच्चा देशभक्त, क्रान्तिकारी वा जनमुखिको निरन्तरता हुन सक्दैन । त्यसका लागि अन्य ठाउँका भन्दा जनयुद्धका आधार इलाका मानिएका रुकुम रोल्पाकै कम्युनिस्टबाट यसको व्यवहारगत परिवर्तन र नैतिककताको बन्धन बनाउन सुरु गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्