ऋण नतिर्ने विद्यार्थीले डुबाउदैछन् अमेरिका «

ऋण नतिर्ने विद्यार्थीले डुबाउदैछन् अमेरिका

वासिङटन-अमेरिकामा विश्वविद्यालयबाट निक्लने विद्यार्थीहरु ठूलो ऋणमा डुब्ने गरेका छन् । ठूलो संख्याका यी विद्यार्थीका कारण देशमा अघिल्लो आर्थिक मन्दीमा विष्फोटको काम गर्न सक्ने बताइएको छ । अमेरिकामा राज्यले ९० प्रतिशत मामिलामा ऋण प्रदान गर्दै आएका छन् । यसका कारण अमेरिकी आर्थिक विशेषज्ञ चिन्तित देखिएका छन् । अमेरिकी विजनेस च्यानल सीएनबीसी विद्यार्थीले लिएको ऋणलाई कुनै पनि समयमा फुट्न सक्ने पानीको फोका भएको बताउछन् । फक्स न्यूज र मार्केट वाचले यसलाई ठूलो संकट भएको बताएको छ ।
ब्रुकिङ इन्सटिच्यूटका अनुसार २०२३ सम्ममा करिब ४० प्रतिशत विद्यार्थी ऋण तिर्न असक्षम हुने जनाएको छ । मुलुक ऋणमा डुब्नाले पुनः एक पटक २००८ को जस्तो आर्थिक मन्दीको अवस्थाा पैदा हुने सम्भावना देखिएको छ । अमेरिकी मिडियामा अब विद्यार्थीको ऋण्को तुलना २००८ मा टाट पल्टेको लेम्यान ब्रदर्स लगानी बैंकको सरह भएको विश्लेषण गर्न थालिएको छ । उक्त बैंक टाट पल्टिएपछि अमेरिकामा मन्दी सुरु भएको थियो र पुरै विश्व पनि यसैको चपेटामा आएको थियो ।
२०१६ मा पढाई सुरु गरेका विद्यार्थीको औसत ऋण ३७ हजार डलर पुगेको छ । अमेरिकन काउन्शील अन एजुकेसनका निर्देशक जोन फेनस्मिथका अनुसार ऋणमा डुबेका विद्यार्थीको संख्यामा वृद्धि भइरहेको छ । २०१८ मा २ करोड विद्यार्थी अमेरिकी विश्वविद्यालयमा भर्ना भएका थिए । २००० मा यो संख्या १.५ करोड थियो । रोजगार बजारका कारण उच्च ओहोदाको डिग्री लिन अमेरिकामा आवश्यकता भएको छ ।
अमेरिकी मौद्रिक नीति निर्धारण गर्ने फेडरल रिजर्भका प्रमुख जेरोम पावेलले अमेरिकी संसदमा युवा ऋणमा डुब्नाले ढिला वा चाडो यसले अमेरिकी अर्थ व्यवस्थालाई असर पार्ने बताएका छन् । युवासँग घर तथा कार किन्ने पैसा हुने छैन । उनीहरु यसो गर्नका लागि पनि हिचकिचाउने उनले बताए । पावेलका अनुसार ऋणको बोझले बृहत अर्थव्यवस्थालाई जोखिममा पार्न सक्छ ।
पूर्व राष्ट्रपति बाराक ओबामाको प्रशासनले विद्यार्थीलाई राहत दिनका लागि ऋण माफीको कार्यक्रमनै चलाएका थिए । यस अनुसार पढाईपछि सरकारी जागिर खाने विद्यार्थीको ऋण माफ पनि गरिएको थियो । तर अमेरिकी शिक्षा मन्त्रालयका अनुसार ट्रम्पको कार्यकालमा ऋण माफीको ९९.५ प्रतिशत निवेदन खारेज गरिएको छ । ट्रम्प प्रशासन यो कार्यक्रम अन्त्य गर्न चाहन्छ ।

 

प्रतिक्रिया दिनुहोस्