सस्तियो माघे सक्रान्तिको तरुल «

सस्तियो माघे सक्रान्तिको तरुल

माघे सक्रान्ति पर्वका लागि काठमाडौंमा तरुल किन्नेको भिड लागेको छ । माघे सक्रान्ति पर्वका लागि एक साताअघिदेखि काठमाडौंमा तरुल, चाकुलगायतको व्यापार निकै बढेको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष तरुलको मूल्य सस्तिएको व्यवसायीहरू बताउँछन् । माघे सक्रान्ति पर्वमा तरुल खाने चलन छ । कालिमाटी तरकारी बजारका व्यापारीले ठूलो परिणाममा भित्रिएकाले गत वर्षभन्दा सस्तो मूल्यमा तरुल बेचेको बताएका छन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले यो वर्ष गतवर्षको तुलनामा प्रतिकेजी १० रूपैयाँका दरले सस्तो भएको बताए । बजारमा यो वर्ष सिमल तरुल सबैभन्दा बढी प्रतिकेजी ३ सय रूपैयाँमा बिक्री भएको छ । त्यसैगरी तरुल प्रतिकेजी ५० रूपैयाँ, हात्तीपाइले तरुल बढीमा १ सय २० रूपैयाँमा बिक्री भइरहेको छ । गत वर्ष सिमल तरुल प्रतिकेजी ३ सय ५० रूपैयाँभन्दा बढीमा बिक्री भएको विकास समितिका उपनिर्देशक श्रेष्ठले बताए ।
यो वर्ष काठमाडौंमा सबैभन्दा बढी तरुल सर्लाहीबाट भित्रिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार यस वर्ष माघे संक्रान्तिलाई लक्षित गरेर पिँडालु १ सय ३० टन, सक्खरखण्ड १ सय ५० टन भित्रिएको छ । सर्लाही, सुनसरी, धरान, चितवन र धादिङबाट यस वर्ष तरुल काठमाडौं भिœयाइएको हो ।

प्रतिक्रिया दिनुहोस्