ऋण नवीकरण गर्दा पनि कर्जा सूचना अनिवार्य

बैंक तथा वित्तीय संस्थाले आफूले स्वीकृत गरेको सम्पूर्ण कर्जा तथा सुविधा र ९० दिनभन्दा बढीले भाखा नाघेका सम्पूर्ण कर्जा र सुविधाको विवरण महिना भुक्तान भएको १५ दिनभित्र केन्द्रमा बुझाउनुपर्ने छ ।
बैंक तथा वित्तीय संस्थाले ऋणी ग्राहकले कर्जा नवीकरण गर्दा पनि अनिवार्य रुपमा कर्जा सूचना उपलब्ध गराउनुपर्ने भएको छ । केन्द्रीय बैंकले निर्देशन जारी गर्दै कर्जा तथा ग्राहकको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकले कर्जा सूचना केन्द्रलाई थप बलियो बनाउँदै स्वीकृत गरेका र भाखा नाघेका कर्जाको विवरण पठाउन भनेको छ । राष्ट्र बैंकका अनुसार अब बैंक तथा वित्तीय संस्थाले आफूले स्वीकृत गरेको सम्पूर्ण कर्जा तथा सुविधा र ९० दिनभन्दा बढीले भाखा नाघेका सम्पूर्ण कर्जा र सुविधाको विवरण महिना भुक्तान भएको १५ दिनभित्र केन्द्रमा बुझाउनुपर्ने व्यवस्था गरिएको हो ।
यसअघि अनुमतिपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले १० लाख वा सोभन्दा बढी ऋण रकम, त्यसको भाखा नाघेको ९० दिन पूरा भएको भए मात्र कर्जा विवरण लगायतका जानकारी कर्जा सूचना केन्द्रमा बुझाउनुपर्ने व्यवस्था थियो । तर सुनचाँदी, मुद्दती निक्षेप तथा सरकारी सुरक्षणपत्रहरुको धितोमा दिएको ऋणको जानकारी भने पठाउनु नपर्ने समेत नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक आर्थिक वर्ष सकिएको १५ दिनभित्र कर्जा चुक्ता नभएसम्म यस्ता विवरण पठाइ रहनुपर्नेछ । विवरणमा कुनै परिर्वतन भएमा, कर्जा चुक्ता भएमा, भाखा नाघेको कर्जा नियमित भएमा वा भाखा मिति थप वा पुनर्तालिकीकरण भएमा सो को जानकारीसमेत १५ दिनभित्र बुझाउने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले कर्जा प्रवाह गर्न, पुरानो कर्जा नवीकरण गर्न, पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न अगावै ऋणी तथा ग्राहकका बारेमा अनिवार्य रुपमा कर्जा सूचना लिनसमेत निर्देशन दिएको छ । साथै केन्द्रले मागेका सूचना तथा जानकारी उपलब्ध गराउन भनिएको छ ।
कर्जा सूचना केन्द्रले बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रमा पठाएको विवरणहरुका बारेमा त्यस्तो अनुमतिपत्र प्राप्त संस्थाको स्थलगत अनुगमन गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि केन्द्रलाई सूचना माग गर्नसक्ने अधिकार मात्र दिइएको थियो । इजाजत प्राप्त संस्थाले कुनै व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाबाट कर्जा र सुविधाका लागि आवेदन परेमा कर्जा विश्लेषणको लागि व्यक्तिगत ऋणी तथा जमानत दिने व्यक्तिको हकमा निजको नागरिताकको प्रतिलिपी, स्थायी तथा अस्थायी ठेगाना, निजको तीन पुस्ते र एकाघर परिवारका सदस्यहरुको विवरण लिनसमेत निर्देशन दिइएको छ ।