संकटमा आधुनिक चामल कारखाना «

संकटमा आधुनिक चामल कारखाना

नेपालगन्ज-नेपाल खाद्य संस्थान राजापुरले यसवर्ष किसानबाट धान पाउन सकेको छैन । संस्थानले तोकेको मूल्यभन्दा बढीमा व्यवसायीले खरिद गर्न थालेपछि संस्थानले धान पाउन नसकेको हो ।नेपाल खाद्य संस्थान राजापुरले यसवर्ष किसानबाट धान पाउन सकेको छैन । संस्थानले तोकेको मूल्यभन्दा बढीमा व्यवसायीले खरिद गर्न थालेपछि संस्थानले धान पाउन नसकेको हो ।संस्थानको राजापुरमा रहेको आधुनिक चामल कारखानाले मंसिरको दोस्रो सातादेखि काँटालगाएर धान खरिद गरेको थियो । संस्थानले मूल्य तोके लगत्तै व्यवसायीले संस्थानको भन्दा ५० देखि १ सय ५० रूपैयाँसम्म बढी मूल्यमा खरिद गर्न थालेपछि संस्थानले धान पाउन नसकेको राजापुरका मिलप्रमुख अनिल श्रेष्ठले बताए । “हालसम्म ३ सय ३० क्विन्टल मात्र खरिद गरेका छौं,” उनले भने ।सरकारले तोकेको समर्थन मूल्यअनुसार यसवर्ष मोटो धान प्रतिक्विन्टल २ हजार ३ सय ३१ रूपैयाँ, मकवानपुर २ हजार ५ सय ५० र मध्यम २ हजार ४ सय ६० रूपैयाँमा खरिद भए पनि व्यवसायीले त्योभन्दा बढी मूल्यमा खरिद गर्ने गरेका छन् । 
मिल सञ्चालनमा समस्याधान नपाएपछि संस्थानको राजापुरमा रहेको आधुनिक चामल कारखाना संकटमा परेको छ । यस वर्ष राजापुरमा पहिलो चरणमा ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य संस्थानको छ । त्यस्तै दोस्रो चरणमा थप ३० हजार गरी कुल ७० हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहे पनि हालसम्म ३ सय ३० क्विन्टलमात्र खरिद भएको संस्थानले जनाएको छ ।गतवर्ष २० हजार क्विन्टल लक्ष्य रहेकोमा राजापुरले १ हजार ९ सय ५० क्विन्टलमात्र खरिद गरेको थियो । मिल सञ्चालनमा संकट आएपछि कैलालीको टीकापुरबाट ६ हजार क्विन्टल धान खरिद गरी सञ्चालन गरिए पनि यसवर्ष कैलालीमा समेत ज्यादै न्यून मात्र खरिद भएपछि मिल बन्द गर्नुपर्ने अवस्थामा पुगेको संस्थान राजापुरले जनाएको छ ।
मिल सञ्चालनको विकल्प खोजिँदैकरोडौंको मिल बन्द हुने अवस्थामा पुगेपछि संस्थानको राजापुरस्थित कार्यालयले वैकल्पिक उपाए अपनाउन केन्द्रमा पत्राचार गरेको छ । केन्द्रले छलफलका क्रममा रहेको जनाए पनि हालसम्म औपचारिक जानकारी नआएको मिल प्रमुख श्रेष्ठको भनाइ छ । “केन्द्रमा टेण्डर प्रक्रियाबाट भए पनि वैकल्पिक व्यवस्था गर्र्नुपर्ने भनी पत्राचार गरेका छौं,” उनले भने, ‘तर त्यो सम्भावना ज्यादै न्यून छ ।”वैकल्पिक उपाय अपनाएर धान खरिद गरी मिल सञ्चालन गर्नेबारे केन्द्रमा व्यवस्थापकीय छलफल भइरहेको संस्थानका सूचना अधिकारी शंकर सापकोटाले बताए । सिमावर्ती जिल्लाबाट ल्याउने बाटो पनि नभएकाले अन्य विकल्पबाट धान खरिद गर्न पनि गाह्रो भएको उनी बताउँछन् । “कैलालीमा पनि ज्यादै न्यून खरिद भएको छ,” उनले भने, “व्यवसायीसँग किन्नुको विकल्प छैन, तर व्यवसायीसँग बढी मूल्यमा किन्ने अवस्थामा हामी छैनौं ।” धान पाउन नसक्ने अवस्था रहेकाले यसवर्ष मिलबन्द गर्नुपर्ने अवस्था आउनसक्ने उनले संकेत गरे । 
अन्चल कार्यालय नेपालगन्ज लक्ष्य नजिक संस्थानअन्तर्गत विभिन्न जिल्लामा धान खरिद ज्यादै न्यून भए पनि खाद्य संस्थान अञ्चल कार्यालयको कारकाँदोमा रहेको धान खरिद केन्द्र भने लक्ष्यको नजिक पुगेको छ । संस्थानको यसवर्षको लक्ष्य २५ हजार क्विन्टल धान खरिद गर्ने रहेकोमा हालसम्म करिव २३ हजार ७ सय क्विन्टल खरिद गरि सकेको छ । मंसिर १० गतेदेखि काँटालगाएर खरिद कार्य सुरु गरेको संस्थानमा दैनिक रूपमा धान बिक्रीका लागि आउने कृषकको संख्या हेर्दा यस वर्षको लक्ष्य सजिलै पुरा हुने देखिन्छ ।खाद्य संस्थान अन्चल कार्यालय नेपालगन्जका प्रमुख हरिप्रसाद जोशीले अबको केही दिनभित्रै लक्ष्य पुरा हुने बताए । “अबको केही दिनमै हाम्रो कोटा पुरा हुन्छ,” उनले भने, “धान बेच्नका लागि कृषकहरू सोध्न आउने क्रम जारी छ ।” संस्थानले गतवर्ष २० हजार क्विन्टल लक्ष्य लिएकोमा १३ हजार क्विन्टल मात्रै धान खरिद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्