बजेट प्रक्षेपण गर्दै प्रदेश सरकार «

बजेट प्रक्षेपण गर्दै प्रदेश सरकार

हेटौंडा-प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक २०७६-७७ को बजेट प्रक्षेपण गर्न सुरु गर्ने भएको छ । आगामी वर्षको बजेटको तयारीका लागि बजेट तथा स्रोत समिति गठन गरिएको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको अध्यक्षतामा गठित समितिमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, आयोगकै सदस्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंक प्रदेश कार्यालयका प्रमुख र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ ।
समितिले बजेटको कुल सीमा प्रक्षेपण, खर्च तथा स्रोतसहितको मध्यकालीन खर्च संरचना सीमा निर्धारण, बजेट कार्यान्वयनको स्थितिको समीक्षा तथा आगामी बजेटको प्रक्षेपण गर्नेछ । समितिको सदस्य सचिवमा भने आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गतको बजेट योजना कार्यक्रम महाशाखाका प्रमुख सदस्य सचिवका रूपमा रहने बताइएको छ ।
गठित समितिले आगामी ३ आर्थिक वर्षको कुल सीमा प्रक्षेपण, खर्च तथा स्रोतसहितको मध्यमकालीन खर्च संरचना सीमा निर्धारण, प्रदेशको आर्थिक परिसूचकहरूको विश्लेषण, समष्टिगत आर्थिक सोच, लक्ष्य, लगानीलगायत संरचना तयारी र बजेट कार्यान्वयनको स्थितिको समीक्षा गरी बजेट तयार गर्नेछ ।
यसैगरी सोमबार बसेको प्रदेश नीति तथा योजना आयोगको बैठकले आयोगका उपाध्यक्षको अध्यक्षतामा आवधिक योजना तर्जुमा समितिसमेत गठन गरेको छ । समितिमा आयोगका सदस्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव र सबै मन्त्रालयका सचिवहरू सदस्य रहने छन् भने आयोगका सचिव सदस्यसचिवको रूपमा रहने निर्णय गरिएको छ ।
प्रदेश नीति तथा योजना आयोगले आवधिक योजना आधारपत्रको मस्यौदालाई अन्तिम रूप दिई आधारपत्रले औंल्याएका दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, रणनीति, कार्यनीतिलगायतका आधारमा आवधिक योजना निर्माण गर्ने जिम्मेवारी आवधिक योजना तर्जुमा समितिले गर्नेछ । ३ नम्बर प्रदेशले पञ्चवर्षीय आवधिक योजनाको मस्यौदा यसअघि नै तयार गरिसकेको छ । पाँच वर्षको अवधिमा प्रदेशमा करिब ३२ खर्ब खर्च हुने अनुमान आधारपत्रमा गरिएको छ । प्रदेशको पहिलो पटक २०७५-७६ मा ३५ वर्ष ६२ करोडको बजेट बनाइएकोमा आब २०८०-८१ सम्ममा बजेटको आकार बढेर झन्डै एक खर्ब हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्