यस्ता छन् विद्युतीय सवारीका चुनौती «

यस्ता छन् विद्युतीय सवारीका चुनौती

विगतका वर्षहरूमा विद्युतीय कारको त्यति धेरै महत्व थिएन । भएको विद्युतीय सवारीको प्रयोगलाई पनि प्राथमिकता दिइएन । तर, पछिल्लो समय विद्युतीय सवारी राज्य तथा नागरिकहरूमा धेरै चासोको विषय बनेको छ ।
सवारीसाधनले प्रदूषण बढाउन ठूलो भूमिका खेलेकाले डिजेल÷पेट्रोलबाट चल्ने सवारी साधनको विकल्प खोज्न थालिएको हो । त्यसको सबैभन्दा उपयुक्त विकल्पको रुपमा विश्वका ठूला सवारी निर्माताहरूले समेत विद्युतीय सवारीलाई उच्च प्राथमिकता दिन थालेका छन् । दुईपांग्रे सवारीमात्र होइन, चारपांग्रे सवारी हुँदै ठूला मास ट्रान्सपोर्टका साधन उत्पादनमा समेत विभिन्न कम्पनीहरूले ठूलो धनराशि खर्चन थालेका छन् ।
विश्वभर विद्युतीय सवारीको चासो बढिरहेको छ । संसारका सबैजसो ठूला सवारी उत्पादक कम्पनीहरूले विद्युतीय सवारी उत्पादनमा आफूलाई अब्बल सावित गर्न प्रयासरत रहेका छन् । सवारी उत्पादक कम्पनीहरूले मात्र होइन, धेरै मुलुकहरूले समेत विद्युतीय सवारी प्रयोगलाई प्राथमिकता दिएका छन् । कतिपय देशहरूले एउटा सहरलाई इन्धनबाट चल्ने सवारीमुक्त सहरको रुपमा घोषणा गर्ने क्रममा छन् भने केहीले गरिसकेका छन् । छिमेकी मुलुक भारतमा समेत विद्युतीय सवारी प्रयोगलाई प्राथमिकतामा राखिएको छ । निजी कारमात्र होइन, भारतमा सार्वजनिक सवारीमा समेत विद्युतीय सवारी प्रयोगमा आउने भएको छ ।
पछिल्लो समय भारतमा विद्युतीय सवारी उद्योग व्यापक विस्तार हुँदै गइरेको बताइन्छ । विद्युतीय कार उद्योगमा भएको विस्तारका केही कारणहरू यस्ता छन् । भारत सरकारले लिएको नीति अनुसार २०२० सम्ममा प्रदूषणदर निक्कै कम गर्नुपर्छ । उक्त अवधिसम्ममा डिजेल तथा पेट्रोलबाट चल्ने सवारीको तुलनामा प्रदूषण नगर्ने विद्युतीय सवारीप्रति आम मानिसको आकर्षण बढ्ने अनुमान गरिएको छ । भारतको न्यायालयले सरकारलाई प्रदूषण नियन्त्रणका लागि आदेश दिएकाले पनि सरकारले विद्युतीय सवारी उत्पादकलाई उच्च प्राथमिकता दिएको छ । आवश्यक नीति तय गरी प्रदूषण नगर्ने विद्युतीय सवारीको प्रयोगमा प्रोत्साहन गर्न लागिएको हो ।
अमेरिकी विद्युतीय सवारी उत्पादक कम्पनी टेस्लाजस्ता सवारी उत्पादकहरूले विद्युतीय सवारीको विश्वव्यापी प्रोत्साहन गरिरहेका छन् । टेस्ला भारतीय बजारमा प्रवेशको चरणमा रहेको छ । टेस्लाका सवारी सवारीमात्र नभएर ग्ल्यामरस सवारी भएको बताइन्छ । कर्पोरेट हाउसहरूलाई विद्युतीय सवारी प्रयोग गर्न प्रोत्साहन गरिएको छ । विद्युतीय सवारी उत्पादक कम्पनी महिन्द्रा इलेक्ट्रिक्सले विभिन्न व्यावसायिक घरानाहरूलाई इलेक्ट्रिक सवारीको प्रयोगका लागि प्रोत्साहन गरिरहेको छ ।
विश्वभर विद्युतीय सवारीमा प्रयोग हुने व्याट्रि निक्कै महँगो पर्दै आएको छ । विद्युतीय सवारीको यो नै सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । २०११ मा १ एडब्लूएच व्याट्रिको मूल्य ६ सय अमेरिकी डलर पथ्र्यो । २०२० सम्ममा यो मूल्य घटेर प्रति केडब्लूएचको २ सय डलरमा झर्ने अनुमान गरिएको छ ।
विश्वका मुख्य सवारी उत्पादक जनरल मोटर्स, फक्सवागन, डिमलर एजी मात्र होइन, भारतीय सवारी उत्पादक कम्पनीहरूले पनि विद्युतीय सवारी उत्पादनमा प्राथमिकताका साथ लागेका छन् । विद्युतीय सवारी वास्तविक रुपमा नयाँ केही होइन । तर यसको इतिहास उल्लेखनिय रहेको छ । व्याट्रिको शक्तिबाट चल्ने सवारीको क्षमताबारे सबै प्रष्ट भई नै सकेको छ ।
१८९९ र १९०० मा अमेरिकामा अन्य सवारीको तुलनामा विद्युतीय कारहरू धेरै बिक्री हुने गरेको थियो । अमेरिकामा १९०० मा ४ हजार १ सय ९२ कार उत्पादन भएकोमा त्यस मध्ये २८ प्रतिशत विद्युतीय कार थिए । पेट्रोल तथा स्टिम–पावर्ड इन्जिनको तुलनामा विद्युतीय सवारीको धेरै विशेषता उल्लेख गरिएको थियो १९०० मै । त्यतिबेला सवारी उत्पादकहरूले विद्युतीय सवारीले ध्वनी प्रदूषण नगर्ने, भाइब्रेसन नआउने, गन्ध नआउने लगायत फाइदाको प्रचार गरेका थिए । विद्युतीय सवारी चलाउन सजिलो हुने गरेको थियो ।
१९२० मा हेनरी फोर्डले पेट्रोलियम पदार्थ बाल्ने क्षमता भएको इन्जिन विकास गरिसकेका थिए । यो इन्जिन जडित कार विद्युतीय कारको तुलनामा सस्तो बनेको थियो । उक्त समयमा फोर्डले पेट्रोल इन्जिनयुक्त गाडीको मास प्रोडक्सन थालिसकेको थियो । १९१२ मा इलेक्ट्रिक कार १ हजार ७ सय ५० अमेरिकी डलरमा बिक्री हुन्थ्यो भने पेट्रोल कार ५ सय ५० अमेरिकी डलरमै बिक्री हुन्थ्यो ।
१९६०÷७० को दशकमा पुनः विद्युतीय कारप्रति सबैको चासो बढेको थियो । कारण थियो प्रदूषण नियन्त्रणको मुद्दा । योसँगै सवारी उत्पादकहरू इ–कार उत्पादनमै केन्द्रीत हुन थालेका हुन् । १९७० को दशकमा मिनिएचर कम्युटर कार ज्यादै लोकप्रिय हुन पुगे । त्यतिबेलाको ‘सिटीकार’ टप स्पिड ४४ एमपीएच थियो जबकी सामान्य क्रुजकारको स्पिड ३८ एमपीएच मात्र र रेन्ज ५० देखि ६० माइल्स थियो । त्यतिबेलाको अर्को चर्चित कार एलकारको उच्च गति ४५ एमपीएच र रेन्ज ६० माइल्स थियो ।
सवारी उत्पादक कम्पनीहरूले विद्युतीय सवारीको प्रविधि विकासमा लगानी बढाउन थाले । बीएमडब्लूले १९७२ को ओलम्पिकमा आफ्नो पहिलो विद्युतीय कार सार्वजनिक गरेको थियो । उक्त कारमा टुवेल्भ लिड–एसिड स्टाटर व्याट्रि राखिएको सवारीको विशेषता ४२ हर्सपावर इलेक्ट्रिक मोटर रहेको थियो । यो कारको अधिकतम गति ६२ एमपीएच र रेन्ज ३७ माइल्स रहेको थियो ।
विद्युतीय सवारी कसरी सस्तो र शक्तिशाली बनाउन सकिन्छ भनेर विभिन्न कम्पनीहरूले अर्बौं डलर लगानी गरेका छन् । कम्पनीहरूका अनुसार अबको केही समयपछि विद्युतीय सवारी सस्तो हुने बताएका छन् । विद्युतीय सवारी सस्तो हुनका लागि त्यसमा प्रयोग गरिने व्याट्रीको प्रविधि सस्तो हुने आवश्यक छ । ब्लुबरिङ न्युज एजेन्सी फाइनान्सले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ सम्ममा अहिलेको तुलनामा व्याट्रीको लागत निक्कै कम हुने छ, त्यो हिजोआज पाइनेभन्दा सस्तिँदै जाने छ ।
विश्वभर विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार निर्माणले तिव्रता पाउन थालेको छ । जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वनका लागि पनि विद्युतीय सवारी प्राथमिकतामा परेको हो । यसले विद्युतीय सवारीको बारेमा विश्वभर चहलपहल बढाएको हो । विश्वका कतिपय देशहरूले समयसीमा नै तोकेर ग्यासोलिन तथा डिजेल इन्जिनबाट चल्ने सवारीको बिक्रीमा रोक लगाउने घोषणा गरिसकेका छन् ।
सबैभन्दा धेरै जनसंख्या भएको देश चीनले पनि विद्युतीय सवारीको उत्पादन र त्यसमा प्रयोग हुने व्याट्री सस्तोमा कसरी उत्पादन गर्न सकिन्छ भन्ने व्यापक अनुसन्धान गरिरहेको छ । सन् २०१७ मा व्याट्री प्याक औषतमा प्रतिघण्टा २ सय ८ अमेरिकी डलर प्रति वाट रहेको थियो । यसलाई २०३० सम्ममा ७० अमेरिकी डलरभन्दा कम हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्