गोदावरीमा माघीको रौनक «

गोदावरीमा माघीको रौनक

धनगढी-सुदूरपश्चिम प्रदेशको प्रस्तावित स्थायी राजधानी गोदावरीमा अहिले माघीको रौनक छ । यही माघ १ गते (आज) देखि फागुन १ गतेसम्म हुने माघी मेलाको रौनक केही दिन अघिदेखि नै यहाँ सुरु भइसकेको छ ।
नेपालका मात्र नभएर भारतका विभिन्न सहर तथा ग्रामीण क्षेत्रहरुबाट समेत यहाँ मानिसहरु आउने गरेका छन् । गोदावरीमा घुइँचो लाग्न थालेपछि गोदावरी व्यवस्थापन समितिले प्रतिक्षालय तथा खानेपानीको व्यवस्था गरेको छ । गोदावरीमा धार्मिक स्थलमात्र नभएर मनोरञ्जनका लागि पनि विभिन्न गतिविधिहरु भइरहन्छन् ।
विवाह, ब्रतवन्धलगायत शुभ कामका लागि झन् बढी घुइँचो लाग्ने गरेको छ । होटल अभावले आएका पर्यटकहरुलाई खानपानका लागि निकै सास्ती भोग्नुपरेको छ । बस्ने र खाने राम्रो व्यवस्था नभए पनि पर्यटक आउने निरन्तरता भने रोकिएको छैन । गोदावरीबाट अत्तरिया बजार ६ किलोमिटर टाढा रहेको छ । त्यहाँ विभिन्न सुविधायुक्त गेष्ट हाउस, होटलको समेत व्यवस्था रहेको छ । ग्रिन गोदावरी रिसोर्ट, होटल पोखरा गेष्ट हाउस, होटल फारवेल, होटल मयूरजस्ता होटलसमेत रहेका छन् । झन् धार्मिक महिना माघमा दर्शालम्वीहरुलाई होटल व्यवस्थापनका लागि निकै नै समस्या हुने गरेको छ । माघ १ गतेका दिनमात्रै १ लाखभन्दा बढी धार्मिक पर्यटक आउने गरेको होटल व्यवसायी प्रमिला क्षेत्रीले बताइन् ।
बिदामा परिवार र साथीभाइसहित गोदावरीमा पर्यटक आउँछन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट गोदावरीको सडक समेत स्तरोन्नति भइरहेका कारण पनि पर्यटकलाई गोदावरी जान निकै नै सहज हुनेछ । सुदूरपश्चिम प्रदेशको ठूलो धनगढी विमानस्थल पनि गोदावरीबाट १२ किलोमिटरको दूरीमा पर्छ । त्यसैले पनि आन्तरिक तथा बाह्य पर्यटकहरु गोदावरी जानका लागि इच्छुक हुने गर्छन् । विमानस्थलबाट गोदावरीका लागि सबैखाले साना तथा ठूला सवारीसाधन सहजै पाउन सकिन्छ ।
गोदावरी अहिले सुदूरपश्चिम प्रदेशको राजधानीको विषयले पनि चर्चामा रहेको छ । गोदावरीको टाकुराबाट धनगढी, अत्तरियालगायत तराईका दृष्यहरु मनोरम ढंगले दृष्यावलोकन गर्न सकिन्छ । त्यहाँबाट गोदावरीमा रहेका हनुमानको ठूलो मूर्ति, गौतम बुद्ध सुतेको मूर्ति, गणेश भगवानको मूर्ति र शिव÷लक्ष्मी भगवानका मूर्तिको अवलोकन तथा दर्शन र रमणीय ताल अवलोकन गर्न सकिन्छ ।
गोदावरीमा बेला–बेलामा निजी क्षेत्रले केबुलकार बनाउने अवधारणा ल्याएको छ । यसका कारणले पनि पर्यटकहरु हौसिएका छन् । गोदावरीमा हिन्दू धर्म आस्थावानहरु हिन्दू परम्पराअनुसार व्रतबन्ध, वैवाहिक, श्राद्ध तथा काजक्रियाका कार्यलगायत धार्मिक कार्यमा विभिन्न स्थानहरुबाट आउने गरेको नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी तथा गोदावरी विकास समितिका अध्यक्ष पदमराज जोशीले बताए ।
किंवदन्तीअनुसार गोदावरी नदीमा भगवान श्रीकृष्ण, भगवान राम आएर स्नान गरेको सुनिन्छ । भीष्म पिता आएका र पाँच पाण्डवहरु आएर पनि यज्ञ गरेको किम्वदन्ती छ ।
पछिल्लो समय पर्यटक बढ्न थालेको कैलाली होटल व्यवसायी संघका अध्यक्ष कलम बमले जानकारी दिए । पर्यटकलाई सहजताका लागि पनि गोदावरीमा सुविधासम्पन्न होटल खोल्ने तयारी रहेको उनको भनाइ छ ।

हिमेश बिक

प्रतिक्रिया दिनुहोस्