Logo

नवलपुरमा घरघरमा धारा, स्थानीय हर्षित

धादिङवेशी-खानेपानीको चरम अभाव झेल्दै आएको निलकण्ठ नगरपालिका वडा नम्बर ६ मा खानेपानीको समस्या समाधान भएको छ । सर्भिस फर पिस र कोरिया इन्टरनेसन कोअपरेसन एजेन्सी (कोइका) को संयुक्त पहलमा लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएपछि अहिले गाउँको मुहार नै फेरिएको छ । नवलपुरका सय घरधुरीमा अहिले घरघरमै पानीको धारा जडान गरिएको छ । घण्टौं हिँडेर पानी लिन जानुपर्ने समस्या समाधान भएपछि स्थानीयवासी खुशी देखिएका छन् ।
नवलपुर लिफ्टिङ खानेपानी आयोजनाका अध्यक्ष समेत रहेका स्थानीयवासी शारदा शंकर राजभण्डारीले घरघरमै धारा जडान भएपछि गाउँले मुहार फेरेको बताए । “पानीको ठूलो समस्या थियो । घण्टौं हिँडेर पानी लिन जानुपथ्र्यो । घरमै पानी आउन थालेपछि ती दुःखका दिन हटेका छन्,” उनले पुराना दिन सम्झँदै भने ।
डेढ किलोमिटर तल रहेको खोलाबाट पानी लिफ्टिङ प्रविधिबाट गाउँमा पु¥याएर घरघरमा धारा जडान गर्दा ७१ लाख २३ हजार ९ सय ३२ रुपैयाँ खर्च भएको सर्भिस फर पिस नेपालका केन्द्रीय सदस्य एवं कार्यक्रम संयोजक उपेश कुमार श्रेष्ठले जानकारी दिए । गत पुस १५ गते आयोजना सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिएको श्रेष्ठले बताए । आयोजना सफल बनाउन समुदायले सकारात्मक सहयोग पु¥याएकाले आयोजना समयमै सम्पन्न भएको भन्दै श्रेष्ठले स्थानीयको प्रशंशासमेत गरे । आयोजनाको कूल लागतमध्ये ८० प्रतिशत कोइका र २० प्रतिशत सर्भिस फर पिसका तर्फबाट खर्च भएको हो ।
सर्भिस फर पिस नेपालले भूकम्पपछि धादिङमा विद्यालय पुनर्निर्माण र खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ । यसअघि निलकण्ठ नगरपालिका ५ खाल्टे र ज्वालामुखी गाउँपालिका ५ खरीमा समेत खानेपानी आयोजना सम्पन्न गरी स्थानीयलाई हस्तान्तरण गरिसकेको छ । त्यस्तै, नीलकण्ठ नगरपलिका वडा नं ६ कै कुसुण्डे भने खानेपानी आयोजनाको काम जारी छ । सो आयोजना पनि डेढ महिनाभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको सर्भिस फर पिस नेपालका महासचिव सरोज खनालले बताए ।
निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगानाले तिर्खामुक्त नगर बनाउने अभियानमा साथ दिएको भन्दै सर्भिस फर पिस र कोइकाले गरेको काम स्वागतयोग्य भएको बताए । “निलकण्ठ नगरपालिकालाई तिर्खामुक्त बनाउने मेरो प्रतिवद्धता हो,” मेयर ढुंगानाले भने, “सो अभियानमा सहकार्य गरिरहेका र गर्न आउनेहरुलाई नगरपालिकाले सहयोग गर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्