ज्येष्ठ नागरिकले पाएको अधिकार पनि लिन सकस «

ज्येष्ठ नागरिकले पाएको अधिकार पनि लिन सकस

हाम्रो देशको कुल जनसंख्यामध्ये ज्येष्ठ नागरिक (६० वर्ष र माथि) कुल जनसंख्याको ८.१ प्रतिशत अर्थात् २१ लाख भन्दा माथि रहेको तथ्याङ्क छ भने यो समूहको जनसंख्या वृद्धिदर ३.३९ प्रतिशत रहेको पाइन्छ । यी संख्याका ज्येष्ठ नागरिकहरूमध्ये ६०–७० उमेर समूह अझै पनि जुधारु किसिमले बौद्धिक एवं श्रममूलक कार्यमा संलग्न भएको प्रशस्तै पाइन्छ । विभिन्न उत्पादनमूलक कार्यसंलग्नताका हकमा निजहरूको स्वास्थ्य स्थिति, आर्थिक अवस्था र कामको प्रकृति भने फरक–फरक रहेको छ । हाम्रो मुलुकमा नागरिकहरूको अपेक्षित आयु हाल सन् २०२१ को तथ्यांक अनुसार ७०.१७ वर्ष रहेको पाइन्छ । हिमाल, पहाडमा बसोबास गर्नेको अपेक्षित आयु बढी छ भने मधेसमा बसोबास गर्ने मानिसलगायतका जातजातिको अपेक्षित आयु हिमाल तथा पहाडको भन्दा कम रहेको अनुसन्धानले देखाएको छ । यसरी मानिसको आयुलाई हावापानी, रहनसहन, आर्थिक स्थिति, उपलब्ध स्वास्थ्य सेवा आदिले असर पारेको हुन्छ ।
संविधानले ज्येष्ठ नागरिकको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रत्याभूत गरेको छ । दिगो विकास लक्ष्यमा ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षालगायत सुरक्षित, समावेशी र पहुँच चयोग्य हरित तथा सार्वजानिक खुला ठाउँहरूमा पहुँच सर्वसुलभ गर्ने विषय समावेश भएको छ । सरकारले ज्येष्ठ नागरिकको संरक्षण, स्याहारसुसार र सुरक्षा गर्नका लागि वृद्धाश्रम र दिवा सेवा केन्द्रहरू सञ्चालन, यातायातमा विशेष सहुलियत, औषधोपचार, सामाजिक सुरक्षा भत्तालगायतका सेवा सुविधा पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । यसै सन्दर्भमा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । सो लिन पनि धेरै कष्ट भएको सर्वसाधारणको गुनासो छ । उदाहरणका लागि बैंकमार्फत सेवा–सुविधा दिनु राम्रो हो, तर ओच्छ्यान परेका ज्येष्ठ नागरिकले सो लिन बैंकिङ नियम धेरै झन्झटिलो छ । सो भत्ता लिन सम्बन्धित मान्छे आफैँ उपस्थित हुनुपर्ने कि बैंकको प्रतिनिधि आएर सनाखत गर्नुपर्ने अवस्था छ ।
ओच्छ्यान परेका ज्येष्ठ नागरिक आफैँ उपस्थित हुन त धेरै कठिन छ, बैंकको व्यस्तताले गर्दा प्रतिनिधि पठाउन हप्तौँ लगाइदिने, यसले गर्दा ज्येष्ठ नगरिकले ठूलो पीडा भोगाइ ठूलो सजायको तारिख दिइएको छ । यसै सिलसिलामा साउन ७ गते सिन्धुपाल्चोक हेलम्बु, मजुवाका दाइ चर्काे घाममा पसिना बगाउँदै आफ्नी ८० वर्षीय आमालाई डोकोमा बोकेर वृद्धभत्ता लिन बैंक जाँदै गरेको तस्बिर सामाजिक सञ्जालमा प्रकाशित भएको थियो । सो तस्बिरले वृद्धभत्ता लिन कति सकस छ भन्ने कुरा प्रस्ट रूपमा स्मरण गराउँछ ।
यो त एक प्रतिनिधि पात्र मात्र हो । त्यस्तै यातायात तथा अस्पतालमा उमेर पुगेका ज्येष्ठ नागरिकलाई केही सहुलियत दिएको छ । सो पनि लिन सकेका छैनन् । उमेरले कमजोर भएका ज्येष्ठ नागरिकलाई सो सुविधा लिन पीडादायक भएको छ । अतः सो सम्बन्धी आवश्यक व्यवस्था गरी ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित एवम् सम्मानित बनाई सामाजिक न्याय कायम गर्नुपर्ने आवश्यकता रहेको छ ।
नेपालमा रहेका ज्येष्ठ नागरिकहरूलाई उपलब्ध स्वास्थ्य सेवा र रेखदेख स्याहारको स्थिति के छ भनी आकलन गर्ने हो भने क्षेत्रविशेष, आर्थिक अवस्था, सचेतना आदिले प्रत्यक्ष असर पारेको देखिन्छ । निश्चय नै वृद्धावस्थामा मानिसको शारीरिक अवस्था कमजोर हुन्छ, विभिन्न रोगले सताउँछ र बुढ्यौलीले पनि केही हदसम्म शिथिल तुल्याउँछ, यस्तो अवस्थामा रेखदेख र स्याहारको आवश्यकता पर्छ । जीवनको यही अवस्थालाई सहज बनाउन स्वयं ज्येष्ठजनले आपूmमा धैर्यता राखी आफ्नो शारीरिक अवस्थाअनुरूप पथपरहेजलाई मनन गर्नुपर्छ भने परिवारका सम्पूर्ण सदस्यबाट शारीरिक स्वास्थ्यलगायत यथोचित व्यवहार, रेखदेख, स्याहारसमेतमा ध्यान दिनु नितान्त आवश्यक छ ।
पहिले–पहिले वृद्ध बाआमा, हजुरबा–हजुरआमालाई माया, मानसम्मानका साथ आफ्नै घरमा पालनपोषण तथा हेरचाह गरिन्थ्यो तर आधुनिक जीवनशैलीले एकल परिवारको चाहना, स्वार्थीपना, रोजगारको व्यस्तता, विदेशी संस्कारको प्रभाव बसाइँसराइ, कमजोर आर्थिक अवस्था, जनचेतनाको कमी, फिक्का नैतिक शिक्षा, राज्यको कमजोर कानुनी प्रक्रिया आदिले ज्येष्ठ नागरिक एक्लिँदै गएका छन् । समयको फेरबदलका कारण देखाई आफूलाई जन्म दिई लालनपालन गर्ने आमाबाबुलाई आफ्नो परिवार तथा इष्टमित्रबाट बेवास्ता गरी केहीलाई खान, लाउन, बस्नसमेत नदिई घरैबाट निकालिएको अवस्था छ । साथै राज्यले पनि ज्येष्ठ नागरिकलाई उचित किसिमको आवश्यक व्यवस्था नमिलाई राजनीतिक दलहरू निहित स्वार्थमा लागी सो समस्या हल गर्न ठूलो चुनौती भएको छ । आमाबाबुलाई हेंला गर्ने, वृद्धाश्रम पु¥याउने, खान–लगाउन नदिने, औषधोपचारबाट टाढै राख्ने प्रवृत्तिले नेपाली समाजलाई मानवताशून्य बनाएको छ । सम्पत्ति भएका वा नभएका दुवै खाले ज्येष्ठ नागरिक ढल्कँदो उमेरमा केवल पीडाका पात्र बनेको पाइन्छ । सम्पत्ति हुने बाबुआमालाई करकाप गर्ने, छलछाम गर्ने, तर्साउने र जालझेल गरी स्वार्थसिद्ध गर्ने छोराछोरी एकातिर निन्दनीय छन् भने सम्पत्ति नभएका बाबुआमाप्रति रत्ति दयाभाव नराख्ने, दुव्र्यवहार गर्ने सन्तान घोर कलङ्कका पात्र बनेका छन् । ज्येष्ठ नागरिक दुव्र्यवहारबाट पीडित छन् ।
यसलाई न्यूनीकरण गर्ने हिसाबले २००६ देखि अमेरिकास्थित अन्तर्राष्ट्रिय इन्पिया नामक संस्थाले हरेक वर्ष जुन १५ लाई ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवस मनाउन थालेको पाइन्छ भने संयुक्त राष्ट्रसंघले सन् २०१२ देखि यसलाई मान्यता दिएको थियो, यसै सिलसिलामा सो दिवस २०१२ देखि नै नेपालले पनि मनाउन सुरु ग-यो । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था गरिनुका साथै सम्बन्धित ऐन २०६३ मा पनि ज्येष्ठ नागरिकलाई सबैले श्रद्धा गर्नुपर्ने लेखिएको छ । तैपनि ज्येष्ठ नागरिकलाई मुख्यतः निम्न दुव्र्यवहार गरेको पाइन्छ । जस्तै : आर्थिक, शारीरिक हेंला, भावनात्मक-मानसिक, यौन दुव्र्यवहार आदि गरिन्छ । डब्लूएचओका अनुसार ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार विश्वको तथ्यांक हेर्दा प्रत्येक दिन एउटा घटनामात्र बाहिरिन्छ भने वास्तवमा हजारौँ घटना दबाइन्छ । उदाहरणका रूपमा हाम्रो देशमा कानुनबमोजिम ज्येष्ठ नागरिकलाई हरेक सार्वजानिक यातायातमा दुई सिट आरक्षण गरिएको हुन्छ, साथै भाडादरमा ५० प्रतिशत छुटको व्यवस्था छ । सो निहुँमा पनि सम्बन्धित पक्षले दुव्र्यवहार गरेको तपाईं–हाम्रो आँखाअगाडि ताजै छ । यो त एक दुव्र्यवहारको प्रतिनिधि पात्र मात्र हो । सत्ताधारी राजनीतिक दलहरू सदैव कुर्सीको खेलमा लागी ज्येष्ठ नागरिकप्रति उचित किसिमको ध्यान पु¥याउन सकेका छैनन्, चुनावमा जनमत मात्र बटुल्न झूटको खेती मात्र गरिरहेका हुन्छन् । यो झनै विडम्बना हो ।
संयुक्त राष्ट्र संघले सन् १९९१ मा वृद्धवृद्धाहरूका स्वतन्त्रता, सहभागिता, रेखदेख, आत्मसन्तुष्टि र मर्यादालाई प्राथमिकता दिएर प्रस्ताव नै पास गरेको थियो । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको मौलिक हकको सुनिश्चितता गरेको छ । चालू पन्ध्रौं योजनाले ज्येष्ठ नागरिकको जीवन सम्मानित, सुरक्षित र व्यवस्थित बनाई उनीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रले समृद्धिका लागि उपयोग गर्ने लक्ष्य लिएको छ । आव २०७७-७८ को बजेटमार्फत ज्येष्ठ नागरिकको उल्लिखित अनुभवलाई स्थानीय सरकारसँगको सहकार्यमा ज्ञानकेन्द्र, ध्यानकेन्द्र र आरामकेन्द्र स्थापना गर्दै पुस्तान्तरण गर्दै जाने अवधारणा ल्याएको पाइन्छ ।
त्यस्तै अल्जाइमरलगायत उमेरगत रोगहरूको निःशुल्क उपचार तथा असहाय ज्येष्ठ नागरिकका लागि संरक्षणको व्यवस्थासमेत गर्ने उल्लेख छ । ज्येष्ठ नागरिकका लागि मासिक ४ हजार भत्ता, निःशुल्क स्वास्थ्य बिमा, यातायात तथा औषधोपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचय पत्र, सेवाप्रवाहमा विशेष प्राथमिकता दिइने नीति लिइएको पाइन्छ । सो छुट सुविधा लिन धेरै कष्टकर भएको ज्येष्ठ नागरिकको गुनासो छ । त्यस्तै ज्येष्ठ नागरिक कोष स्थापना भए पनि प्रभावकारिता ल्याउन थप पहल गर्नुपर्ने खाँचो खट्किएको छ ।
मातृदेवो भवः, पितृदेवो भवः जस्ता आदर्श बोकेको समाज ज्येष्ठ नागरिकप्रति यतिविघ्न निर्दयी हुनु निश्चय नै सामाजिक पतनको दृष्टान्त हो । केवल भौतिकवादी सोच र लालसाले गर्दा आजको समाज भावनारहित हुँदै गएको छ । समयमै बुद्धि नपु¥याउने हो भने मानव समाज झन्झन् कठोर, निष्ठुर हुँदै जाने सम्भावना छ । यही यथार्थलाई ध्यानमा राखेर हुन सक्छ, विकसित देशका अगुवा वर्गले ज्येष्ठ नागरिकको सम्मान र सुविधाका निम्ति मनग्य क्रियाशीलता बढाएका छन् । नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि संविधान तथा कानुनमा ज्येष्ठ नागरिकका हक, हितबारे प्रत्याभूति नरहेको होइन, तर सत्तासीन राजनीतिक दलहरू आफ्नै स्वार्थमा लागी सो कार्य गर्ने उनीहरूलाई फुर्सद नै छैन । केवल उनीहरू त कुर्सीकै लागि दौडिरहेका छन् । नागरिकको जीवनमाथि पनि कमिसनको अवसर खोज्ने सरकारसँग अब नागरिकले के अपेक्षा गर्ने ?
ज्येष्ठ नागरिकलाई सेवासुविधा र सामाजिक सुरक्षा पर्याप्त नहुनु साथै शक्तिमा भएका राजनीतिक दलले नेतालाई औषधि–उपचार गर्न करोडौँ खर्च गर्नु तर ज्येष्ठ नागरिकलाई उपेक्षा गर्नु, उनीहरूको ज्ञान, सीप र अनुभव राष्ट्रले उपयोग र नयाँ पिँढीमा हस्तान्तरण गर्न नसकिनु, शारीरिक र मानसिक रूपमा असक्त, असहाय, एकल, बेवारिसे तथा पीडामा परेका ज्येष्ठ नागरिकको उचित संरक्षण नहुनु, सन्तानले बाबु–आमाप्रति पूरा गर्नुपर्ने दायित्व वहन र हेरचाहमा क्रमशः ह्रास हुँदै जानु, बुढ्यौलीका कारणले लाग्ने विभिन्न रोगको निदान तथा उपचारको यथोचित व्यवस्था नहुनु र ज्येष्ठ नागरिकलाई आवश्यकताअनुसार पोषण तथा स्वास्थ्य सुविधा दिन नसक्नु, ज्येष्ठ नागरिकप्रतिको श्रद्धा र सम्मानमा दुव्र्यवहार भई ह्रास आउनु यस क्षेत्रका समस्या हुन् ।
ज्येष्ठ नागरिकका विषयलाई समान रूपमा सम्बोधन र व्यवस्थापन गर्नु, आधारभूत स्वास्थ्य सुविधा र पोषणको आवश्यक व्यवस्था गर्नु, ज्येष्ठ नागरिकको संख्यामा वृद्धि हुँदै जाँदा सोअनुसार सेवा सुविधा पर्याप्त व्यवस्था गर्नु, ज्येष्ठ नागरिकाको ज्ञान, सीप र अनुभवलाई समाज विकास र पूर्वाधार निर्माणमा उपयोग गर्नु, ज्येष्ठ नागरिकमाथि हुने हिंसा र दुव्र्यवहारको अन्त्य गर्नु, उनीहरूको आर्थिक तथा सामाजिक हक–अधिकारको संरक्षण गर्नु र उनीहरूका लागि उपयुक्त एवम् पर्याप्त दिवा सेवा केन्द्र, क्लब, औषधोपचारसहितको आरोग्य आश्रमको निर्माण तथा सञ्चालन उचित मात्रामा गर्न नसक्नु यस क्षेत्रको चुनौतीका रूपमा रहेका छन् । संविधानद्वारा ज्येष्ठ नागरिकको विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु, ज्येष्ठ नागरिकको व्यवस्थापनमा स्थानीय तहको अधिकार रहनु, ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्ने वातावरण सिर्जना हुँदै जानु र ज्येष्ठ नागरिकको हक र अधिकारको रक्षा र प्रवद्र्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सरकारको प्रतिबद्धता रहे पनि विभिन्न कारणले गर्दा नेपालमा यथार्थ रूपमा पालना गर्न सकिएको देखिँदैन ।
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका क्रममा रेखदेख, स्याहार र स्वास्थ्य सेवा अत्यन्त संवेदनशील विषयहरू हुन् । स्याहार र स्वास्थ्यजस्ता विषय विकासशील मुलुकमा चुनौतीका रूपमा रहेको छ । हाम्रो जस्तो देश जहाँ पारिवारिक, आर्थिक एवं शैक्षिक स्थिति, कमजोर स्वास्थ्य सेवाप्रति सजगताको कमी, उपलब्ध साधन एवं विज्ञताको कमी भएको सन्दर्भमा धेरै कठिनाइको सामना गर्नुपर्ने अवस्था छ । सामान्यतया शारीरिक दुर्बलताबाहेक वृद्धावस्थामा हुने बहिरोपन, आँखासम्बन्धी समस्या, दम, छातीसम्बन्धी समस्या मुख्य देखिएका छन् । यीबाहेक मधुमेह, अल्जाइमर, रक्तचाप, मुटुसम्बन्धी समस्या, क्षयरोग, डिप्रेसन, अपाङ्गपनजस्ता समस्याले सामान्यतया वृद्धवृद्धाहरू सताइएका हुन्छन् । यसका लागि ज्येष्ठ नागरिकका सबै सन्तानलाई सोबारे क्रियाशील बनाउनु अति आवश्यक छ । साथै, स्थानीय सरकार पनि उत्तिकै क्रियाशील रहनुपर्छ ।
ज्येष्ठ नागरिकहरूका लागि परिवार, समुदाय र राज्यले दुव्र्यवहार रोकी निम्न कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ । ती हुन् :घरपरिवारका सदस्यले यथोचित मायाममता, प्रेम र समय दिनुपर्ने, साथै आफ्ना अग्रजहरूलाई सदैव मातृ देवो भवः पितृ देवो भवः जस्ता आदर्श वाक्यको पालना गर्नुपर्ने, सरकारले समयमै वृद्ध भत्ता निकासा गरी उचित र सहज तरिकाबाट वितरण गर्नुपर्ने, स्वास्थ्य सेवामा विशेष सहुलियत दिनुपर्ने, वृद्धभत्तामा वृद्धि गरिनुपर्ने, बेसहारा र असक्त ज्येष्ठ नागरिकलाई विशेष भत्ता वा लालनपालनको व्यवस्था सरकारबाट हुनुपर्ने, यातायात, स्वास्थ्य सेवाजस्ता सुविधा निःशुल्क उपलब्ध गराउने व्यवस्था हुनुपर्ने, घरपरिवारका सदस्यले खान, लाउन, स्वास्थ्योपचारमा ध्यान दिनुपर्ने, सरकारले उपलब्ध गराउने सुविधा बिनाभेदभाव सहज र सरल तरिकाबाट प्राप्त गर्न सक्ने व्यवस्था हुनुपर्ने, सकेसम्म घरमै वृद्धभत्ता उपलब्ध गराउने व्यवस्था हुनुपर्ने, परिवारलाई वृद्ध, ज्येष्ठजनहरूको उचित रेखदेख, स्याहार, सामान्य स्वास्थ्य उपचारजन्य विषयमा अनुशिक्षण वा प्रशिक्षणको व्यवस्था, लोकप्रिय सञ्चारमाध्यमबाट रेखदेख, स्याहार, उपचारबारे जनचेतना कार्यक्रम, घरेलु एवं परम्परागत स्याहार र उपचार पद्धतिको उपयोग, अस्पताल, स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्याहार र उपचारबारे अनुशिक्षण, सुरक्षात्मक प्रबन्धका लागि घरपरिवारवरपरको भौतिक वातावरण, व्यवहार वृद्धमैत्री तुल्याउने, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, वृद्धाश्रम, हेरचाह केन्द्र आदि संस्थामा कार्यरत जनशक्तिलाई परम्परागत एवं आधुनिक रेखदेख, स्याहार र चिकित्सा पद्धतिबारे प्रशिक्षित गर्ने, स्थानीय स्तरमा कार्यरत गैरसरकारी संस्थाहरूलाई ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, स्याहार, स्वास्थ्य सेवाका विषय समावेश गर्न प्रोत्साहित गर्ने, मानसिक स्वास्थ्य सबलताका लागि ध्यान, सत्संग आदिजस्ता आध्यात्मिक क्रियाकलापमा संलग्न गराउने, स्वास्थ्य स्थिति सबलताका लागि रुचि र क्षमताअनुसार सामान्य योग, अभ्यासका विधिहरू अपनाउने, निरन्तर शारीरिक सुसंगठनका लागि सक्रिय रहन रुचि र क्षमताअनुसारका कार्यहरूमा क्रियाशील रहने बानीको विकास गराउने, महिला ज्येष्ठ नागरिक एवं एकल महिलाहरूका लागि विशेष स्वास्थ्य सेवा एवं परामर्श सेवा सञ्चालन गर्ने, ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्नका लागि नीति निर्माणमा सहभागिता र स्रोतमा पहुँच सुनिश्चित गर्ने जस्ता कुरामा विशेष ध्यान दिनु आजको आवश्यकता हो । तब मात्र हरेक वर्ष जुन १५ मा मनाइने ज्येष्ठ नागरिकप्रति दुव्र्यवहारविरुद्ध विश्व चेतना दिवस, मे ११ मा मनाइने आमाको मुख हेर्ने दिन तथा मातातीर्थ औँसी र सेप्टेम्बर ७ मा मनाइने बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औँसीले तब सार्थकता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्