वाइडबडी प्रकरणका दोषीले उन्मुक्ति पाउँदैनन् : अधिकारी «

वाइडबडी प्रकरणका दोषीले उन्मुक्ति पाउँदैनन् : अधिकारी

सत्तारुढ दल नेकपाका नेता एवम् सांसद खगराज अधिकारीले वाइडबडी खरिद प्रकरणमा कोही पनि दोषी उम्किन नपाउने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबमा सोमबार आयोजित साक्षात्कारमा भने, “सरकारले भ्रष्टाचारबारे शून्य सहनशिलता अपनाएको छ । यो प्रकरणमा पनि स्वतन्त्र न्यायिक छानबिन समितिले पनि काम गरिरहेको छ । दोषीले उन्मुक्ति पाउँदैनन् ।”
वर्तमान सरकारले भ्रष्टाचार जरैदेखि उखेल्ने अठोट लिएको सुनाउँदै उनले न्यायिक आयोगले अहिले छानबिन गरिरहेको बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू यो प्रकरणमा संलग्न नभएको बरु ओली र प्रचण्ड नै संलग्न छन् भनेर आरोप लगाउनुभएको छ नि भनेर सोधिएको प्रश्नमा उनले भने, “यो देउवाको छटपटीको आक्रोश हो । आकाशतिर थुक्दा आफ्नै अनुहारमा थुक पर्छ ।”
आफ्नो पार्टी यो प्रकरणमा मौन नभएको पनि उनले स्पष्ट पारे । उनले भने, “हाम्रो पार्टी बरु न्यायिक छानबिन समितिलाई प्रतिकूल असर नपरोस् भनेर सचेत छ ।” सरकारले मात्रै नभएर सरकार, संसद तथा न्यायिक छानबिन समितिले पनि कार्यसम्पादन गर्दा जनतालाई गुमराहामा राखेर कसैको छाला बचाउने काम गर्न नहुने उनले धारणा राखे ।
फरक प्रसंगमा उनले अनशनरत गोविन्द केसीले उठाएका सबै माग पूरा भएको पनि जिकिर गरे । उनले भने, “केसीले उठाएका शतप्रतिशत मागहरु पूरा भएका छन् । हामीले उहाँको सबै माग सम्बोधन गरेका छौं । उहाँले भनेकै मर्म र भावनाअनुसार विधेयक आएको छ ।” पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता अधिकारीले केसी अहिले अनशन बस्नुपर्ने कुनै कारण नभएको पनि जिकिर गरे । उनले तत्काल अनशन स्थगित गरेर वार्तामा आउन पनि केसीलाई आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्