पर्यटन उद्योगमा कोभिडको असर «

पर्यटन उद्योगमा कोभिडको असर

नेपालमा सन् १९४९ देखि विदेशी नागरिकलाई खुला गरेपछि पर्यटन व्यवसायको विकास तथा विस्तार हुन थालेको हो । यो क्रम वि.सं. २००७ को ऐतिहासिक परिवर्तनपछि क्रमशः बढ्दै आएको छ । पर्यटन क्षेत्रको विकासका लागि आवश्यक प्राकृतिक स्रोतका हिसाबले नेपाल धनी छ । यही अद्वितीय प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू नै पर्यटन विकासको प्रमुख आधार बनेको छ । यहाँको जलस्रोत, प्राकृतिक स्रोतसाधन, भौगोलिक बनावटजस्ता अतुलनीय सम्पदा तथा संस्कृतिले पर्यटकहरूलाई आकर्षण गर्दै आएको छ । नेपालको भू–बनोट ६० मिटरदेखि ८ हजार ८ सय ४८ मिटरसम्मको उचाइमा फैलिएको हुनाले प्रत्येक १० कि.मि.को अन्तरालमा फरक–फरक हावापानी पाइन्छ । भगवान् गौतम बुद्धको जन्मभूमि र विश्वको अग्लो शिखर सगरमाथालगायत १ हजार ३ सय चुचुराहरूले पर्यटकलाई आकर्षण गरेको छ । यहाँ २८ वटा हिमशृंखलाहरू पूर्वदेखि पश्चिमसम्म फैलिएर रहेका छन् । यहाँ ५ हजार १ सय ६० प्रकारका फूल तथा १ सय ८५ जातका माछा पाइन्छ । ८ सय ४८ प्रकारका चराहरू पाइन्छ भने १ सय १८ वटा पारिस्थितिक प्रणालीहरू छन् । २३ वटा पारिस्थितिक प्रणालीमा तराईमा, ५२ वटा मध्यपहाडमा र ३८ प्रकारका प्रणालीहरू हिमाली भेगमा छरिएर रहेका छन् । सांस्कृतिक धरोहरका रूपमा रहेको यो देशमा १ सय २५ जातजाति र १ सय २३ भाषाभाषीको बसोबास रहेको छ । यो प्रचुर सम्भावनाहरूको संगमस्थलका रूपमा रहेको नेपाललाई विश्वसामु चिनाउन सकिएको छैन । यसले गर्दा यो उद्योगबाट नेपालले आशातीत रूपमा लाभ प्राप्त गर्न सकेको छैन ।
साथै छिमेकी देशहरूको जनसंख्याको लाभसमेत लिन सकेको छैन । सन् २०१८ मा १३ करोड ५० लाख चिनियाँ नागरिक देशबाहिर भ्रमणमा निस्कँदा जम्मा १ लाख मात्र नेपाल आएको देखिन्छ । त्यसैगरी २ करोड ३० लाख भारतीय नागरिक विदेश भ्रमणमा निस्कँदा नेपालमा १ लाख १८ हजार मात्र आएको देखिन्छ । यो संख्या नेपाल आउने पर्यटकको कुल संख्याको ३० प्रतिशत मात्र हो । तर, नेपालको पर्यटन बजार भनेको छिमेकी देश भारतीय र चिनियाँ नागरिक नै हुन् । यो बजारको उपयोग अपेक्षित रूपमा गर्न नसकेको कुरा उक्त तथ्यले बताउँछ ।
नेपालमा पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्डका रूपमा रहिआएको छ । यो उद्योगको माध्यमद्वारा विकासको गतिलाई तीव्रता दिन सकिने प्रबल सम्भावना छ । पर्यटन उद्योग नेपालका लागि लाभको क्षेत्र हो तर यस क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन सकेको छैन । यो क्षेत्र भनेको रु. १ खर्च गरेर रु. ६०– सम्म आम्दानी गर्न सकिने सम्भावनायुक्त क्षेत्र हो । यो उद्योगले तीन जना पर्यटक नेपालमा भित्र्याउँदा एक जनाले रोजगारी पाउने गरेको छ भने कुल आर्थिक रूपले सक्रिय जनशक्तिको २० प्रतिशतलाई रोजगारी उपलब्ध गराउँदै आएको अध्ययनले देखाएको छ । कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशतभन्दा बढीको योगदान यो क्षेत्रको रहेको छ । यो अवस्थाले पनि यसको अर्थतन्त्रमा महत्व पूर्ण योगदान छ भन्ने देखिन्छ ।
नेपाल पर्यटन व्यवसायका लागि उपयुक्त वातावरण बन्दै आएको भन्ने कुरा विश्व बैंकले सन् २०२० का लागि प्रकाशन गरेको डुइङ बिजनेसको प्रतिवेदनले औंल्याएको छ । यस प्रतिवेदनअनुसार नेपाल व्यवसाय सञ्चालनको सहजता सूचकमा ६३.२ अंकसहित विश्वका १ सय ९० अर्थतन्त्रमध्ये ९४ औं स्थानमा रहन सफल भएको छ । यो सन् २०१९ मा रहेको १ सय १० औं स्थान (५९.६३) को तुलनामा १६ स्थान अगाडि मात्र होइन र हालसम्मकै राम्रो अवस्था हो । यो सबै सूचकले नेपालमा पर्यटन उद्योगको विकास र विस्तारका लागि उपयुक्त वातावरण बनेको छ भन्ने कुरालाई दर्साउँछ । तर, यसको भरपुर रूपमा उपयोग गर्न सकिएको छैन । यो अवस्थामा सन् २०१९ को अन्त्यतिर देखा परेको कोभिडले झन् बढावा दिएको छ । यो महामारीबाट पर्यटन उद्योग सबैभन्दा बढी प्रभावित भएको छ ।
हाल विश्व जगत् नै कोभिडबाट प्रभावित हुँदै आएको छ । त्यसमा पनि पर्यटन उद्योग अन्य उद्योगको तुलनामा सबैभन्दा बढी प्रभावित उद्योगमा पर्छ । विश्व पर्यटन उद्योगले कोभिडका कारण आन्तरिक पर्यटनबाट २.८६ ट्रिलियन अमेरिकन डलर घाटा बेहोरेको छ भने ५० प्रतिशत राजस्वमा गिरावट आएको छ । विश्वको पर्यटक भित्र्याउने सूचीमा अग्रस्थानमा रहेको थाइल्यान्डलाई हेर्दा पनि यसको प्रभाव सजिलैसँग अनुमान गर्न सकिन्छ । थाइल्यान्डको पर्यटन बजार कोभिडबाट नराम्रोसँग प्रभावित भई सन् २०१९ मा ४० मिलियन पर्यटक भिœयाएकोमा सन् २०२० मा आउँदा यो संख्या घटेर ५ मिलियनमा सीमित छ ।
यसले विश्व पर्यटन बजारलाई तहसनहस बनाएको भन्ने पुष्टि गर्छ । नेपालको पर्यटन क्षेत्र ठूलो र विकसित नभए तापनि यो क्षेत्रमा आ.व २०७७-७८ सम्ममा दर्ता भएका पर्यटन उद्योगको संख्या १ हजार ८ सय ४९ छ भने १६ हजार ७ सय ६.७ करोडको लगानी छ र यसले ७३ हजार २ सय ९६ जनालाई रोजगारी दिँदै आएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) को अध्ययन प्रतिवेदनअनुसार नेपालको पर्यटन क्षेत्रले दैनिक १० अर्ब नेपाली रुपैयाँबराबरको क्षति बेहोरिरहेको उल्लेख छ भने कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभावका बारेमा दीपक जोशीले सन् २०२१ को मे महिनामा १ सय ६ पर्यटनसँग सम्बन्धित उद्योगमा गरेको अध्ययनलाई हेर्ने हो भने यो उद्योगको अवस्था दयनीय देखिन्छ ।
कोभिडका कारण आन्तरिक तथा बाह्य उडान प्रायः बन्द गरिएको छ भने आन्तरिक आगमनलाई लकडाउनको माध्यमद्वारा निस्तेज बनाइएको छ, जसका कारणले गर्दा नेपाल भित्रिने पर्यटकको संख्यामा सन् २०२० मा सन् २०१९ को तुलनामा ८०.७८ प्रतिशतले कमी आएको छ । पर्यटक नआएसँगै पर्यटन उद्योगसँग सम्बन्धित उद्योगहरूमध्ये ९४ प्रतिशत बन्दप्रायः छ ।
१७ प्रतिशत पूर्ण रूपमा बन्द गरिएको छ र ८७ प्रतिशत लोनमा डुबेको छ । ६५ प्रतिशत कामदारको रोजगारी खोसिएको अवस्था छ । यो क्षेत्रमा उपलब्ध हुँदै आएको रोजगारी कटौती भएर ३५ प्रतिशतमा सीमित हुन पुगेको छ । त्यसमा पनि यो पेन्डामिकभन्दा अघिको पारिश्रमिकको बराबर तलब पाउने कामदारको संख्या १३ प्रतिशत मात्र छ अर्थात् २२ प्रतिशतले खाइपाइ आएको तलबभन्दा कममा काम गर्न बाध्य छ । ९२ प्रतिशत कामदार लोनमा रहेको र ९५ प्रतिशत कामदारमा मनोवैज्ञानिक रूपमा असर परेको भन्ने उक्त अध्ययनले देखाएको छ । यो उद्योगबाट राज्यले प्राप्त गर्दै आएको राजस्व उल्लेख्य रहने गरेकोमा यो घटेर ६४ प्रतिशत उद्योगबाट पूर्ण रूपमा राजस्व उठ्न छोडेको अवस्था छ । त्यसैगरी यो उद्योगमा लगानी गर्ने लगानीकर्ताहरू कतिपय पाइपलाइनमा रहेकोमा ३२ प्रतिशतले लगानीको समय सारेका छन् कि त बन्द नै गरेको अवस्था छ । लगानीकर्ताहरूमध्ये ८० प्रतिशतले लगानीबाट सञ्चालन खर्च नै धान्न सकेको छैन । यो अवस्थाले पर्यटन उद्योगमा कोभिडको प्रभाव ठूलो मात्रामा परेको छ भन्ने पुष्टि गर्छ ।
उपर्युक्त अवस्थालाई हेर्दा कोभिडले गर्दा यो उद्योगमा प्रशस्त रूपमा चुनौतीहरूको सिर्जना भएका छन् । यो अवस्थाको अन्त्य कहिले र कति समयपश्चात् हुन्छ भन्ने अझै अनिश्चित छ । यस्तो अवस्थामा यो उद्योगमा आश्रित लगानीकर्ता कामदारहरूको भविष्य पनि अनिश्चित बनेको छ । यसको समाधान भइहालेको खण्डमा पनि यसले पारेको प्रभावबाट माथि उठ्न करिब तीनदेखि पाँच वर्षसम्म लाग्न सक्ने अनुमान छ, जसले गर्दा पर्यटकहरूको इच्छाशक्ति बढाउने कार्य चुनौतीपूर्ण बनेको छ । यो क्षेत्रबाट कामदार निकालिसकिएकाले पुनः भर्ना गरी पहिलेको नै अवस्थामा ल्याउन समय र लागत लाग्न जान्छ । आवश्यक सामग्रीको आपूर्ति प्रणाली भत्किएको अवस्थामा त्यसलाई फेरि रिकनेक्सन गर्न पनि समय लाग्न जान्छ । थप लगानीकर्तालाई आकर्षण गर्नेभन्दा पनि हतोत्साहित भएका लगानीकर्तालाई यो क्षेत्रमा टिकाइराख्न पनि चुनौती सिर्जना भएको छ ।
पर्यटन उद्योगलाई पुनःस्थापना गराउनका लागि नेपाल सरकारले ठूलै योगदान गर्नपर्ने देखिन्छ । यो क्षेत्रसँग हतोत्साहित भएका लगानीकर्तालाई यस क्षेत्रमा आकर्षण गर्नका लागि पर्यटन सुरक्षा कोषको स्थापना गर्नुपर्छ । साथै, वित्तीय सहयोग, रोजगार कोषको स्थापनमा सहयोग गर्ने, क्षमता बढाउने कार्यक्रम, वित्तीय अनुदानका प्याकेज तत्काल ल्याउनुपर्ने देखिन्छ । यसो गर्न सकिएको खण्डमा डुबिसकेको उद्योगहरूले केही राहतको महसुस गर्न सक्नेछन् ।
पर्यटकहरूलाई नेपालमा आमन्त्रण गर्नका लागि सुरक्षित गन्तव्यका रूपमा विकास र सूचनाको सञ्चार गर्नुपर्नेछ । त्यसैगरी हवाई भाडादेखि लिएर अन्य पर्यटन सेवामा प्रोत्साहनका प्याकेजहरू ल्याउन जरुरी छ, । स्वास्थ्य र सुरक्षाका लागि राज्यको ध्यान जान आवश्यक छ । करिब पाँच वर्षसम्मका लागि व्यवसायीहरूलाई कर छुटका प्रावधान ल्याइनुपर्छ । यस क्षेत्रलाई टिकाउनका लागि पनि सहयोगका कार्यक्रम सञ्चालन गर्न शून्य ब्याजदरमा लोनको व्यवस्था गरिनुपर्छ । यस क्षेत्रमा काम गर्ने कामदारहरूका लागि पहिलो प्राथमिकतामा कोभिड भ्याक्सिनको व्यवस्था गरिनुपर्छ । साथै भएका पर्यटन उद्योगका सबै क्षेत्रको विकास तथा विस्तार गर्दै साहसिक खेल बन्जी जम्पिङ, हाइकिङजस्ता खेलको प्रयोग गरी पर्यटकलाई आकर्षण गर्ने स्किम ल्याउनु जरुरी छ । सरोकारवालाहरूको क्षमता निर्माण गर्ने र सार्वजनिक निजी साझेदारीमार्फत प्रोत्साहित गर्र्दै पर्यटन क्षेत्रमा विकास र व्यवस्थापन गर्नुपर्छ । त्यसो गर्न सकिएको खण्डमा पर्यटन उद्योगको माध्यमद्वारा देशको अर्थतन्त्रमा सुधार आई समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यसम्म पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्