कहाँ हुन्छ ‘कन्टिन्जेन्सी’ रकम खर्च ? «

कहाँ हुन्छ ‘कन्टिन्जेन्सी’ रकम खर्च ?

  • वर्क चार्ज, स्टाफ र सानातिना अन्यमा खर्च हुन्छ । वर्क चार्ज र स्टाफ खर्च भन्नाले निर्माण कार्यको सुपरिवेक्षण र सोसँग प्रत्यक्ष रूपमा सम्बन्धित कर्मचारी खर्च, अपरेटर तथा सवारी चालक खर्च, सवारी साधन तथा मेसिनरी औजार, उपकरणको भाडा तथा मर्मत सम्भार कार्यका लागि गरिने खर्चहरु
  • निर्माण कार्यको कन्टिन्जेन्सी रकम सम्बन्धित बोलपत्र वा प्रस्ताव तयारी, परामर्श सेवा, सूचना प्रकाशन, निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षणका लागि प्रयोग हुने इन्धन, स्टेसनरी, फर्निचर, टेलिफोन, विद्युत् तथा पानी महसुल, फोटोकपी वा प्रिन्टर, कम्प्युटर खरिद, मर्मत निर्माण कार्यमा संलग्न कर्मचारीको पेसागत सुरक्षा तथा प्राथमिक उपचारका सामग्री विविध एवं कार्यालय व्यवस्थापनका लागि आवश्यक पर्ने सानातिना अन्य खर्चसमेत गर्न सकिने
  • परामर्श सेवासम्बन्धी कन्टिन्जेन्सी रकम कार्यालय व्यवस्थापनमा खर्च गर्न सकिने
  • पुँजीगत प्रकृतिको काम पनि कन्टिन्जेन्सी रकमबाट खर्च गर्न बाधा नपर्ने र सवारी साधनमा समेत खर्च गर्न सकिने

हार्डवेयर र सफ्टवेयरका कार्यक्रम-योजनाका सरकारी खर्चमा ‘कन्टिन्जेन्सी’ रकमलाई पनि लागत अनुमानभित्रै संलग्न गराउने गरिएको छ ।
मन्त्रालयहरूमा सार्वजनिक खरिदमा कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि निर्माण गरी लागू गर्ने क्रममा लागत अनुमानमै संलग्न गर्ने गरिएको हो तर यसमा विविधिता देखिएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को चौथो संशोधन हुनुअघि र मन्त्रालयगत कार्यविधि बन्नुभन्दा अघि कन्टिन्जेन्सी रकम खर्च कहाँ र कसरी हुन्थ्यो भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को अनुसूची १ मा नियम १० को उपनियम ७ सँग सम्बन्धित निर्माण कार्यको लागत अनुमान ढाँचा बनाउनुपर्ने र नियम १२ (४) मा परामर्श सेवा र अन्य सेवाको लागत अनुमान नियमावलीको अनुसूची १ (क) को ढाँचामा तयार गर्नुपर्ने उल्लेख छ । यसैगरी आर्थिक कार्यविधि नियमावली, २०६४ नियम ११४ मा आर्थिक कार्यविधिसम्बन्धी आन्तरिक निर्देशिका बनाउन सकिने प्रावधानमा मन्त्रालयअन्तर्गत सञ्चालित आयोजना वा कार्यसँग सम्बन्धित आर्थिक कारोबारलाई सुव्यवस्थित ढंगबाट सञ्चालन गर्नको निमित्त मन्त्रालयले यस नियमको अधीनमा रही अर्थ मन्त्रालयको सहमति लिई आर्थिक कार्यविधिसम्बन्धी आन्तरिक निर्देशिका बनाई लागू गर्न सक्ने उल्लेख छ । जसअनुसार विभिन्न मन्त्रालयले कन्टिन्जेन्सी रकम खर्च गर्न कार्यविधि बनाउँदै आएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७४ सालमा बनाएको सार्वजनिक खरिदमा कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने निर्देशिका बनाएको छ । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने २०७८ सालमा मात्र सार्वजनिक खरिदमा कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि लागू गरेको छ । सार्वजनिक खरिद नियमावलीले कन्टिन्जेन्सी रकम खर्चलाई पनि लागत अनुमानभित्रै समावेश गर्ने व्यवस्था ४ पुस २०७३ मा भएको चौंथो संशोधनले मात्रै गरेको थियो । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १०(७) र १२ को (४) अनुसार सार्वजनिक निर्माणकार्य वा परामर्श सेवासम्बन्धी कार्य सम्पादन गर्दा भैपरी आउने किसिमका खर्चलाई लागत अनुमान तयार गर्दा कन्टिन्जेन्सी रकम र कार्यालय व्यवस्थापन खर्चको रूपमा समावेश गर्न सकिने व्यवस्था छ । जसअनुसार भौतिक पूर्वाधार मन्त्रालयले वर्क चार्ज स्टाफ खर्च र सानानिता अन्य खर्चमा वर्गीकरण गरी व्यवस्था भएको कन्टिन्जेन्सी रकम एवं कार्यालयको व्यवस्थापन खर्च रकमलाई सम्बन्धित निर्माणकार्य वा परामर्श सेवासँग सम्बन्धित काममा मात्र मितव्ययी, प्रभावकारी एवं पारदर्शी रूपमा खर्च गर्न सकिने व्यवस्था गरेको छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ नियम १० को उपनियम ७ अनुसूची १ को बुँदामा कन्टिन्जेन्सी खर्चको लागत अनुमान तयगर्ने विधि व्याख्या गरिएको छ । लागत अनुमान तयार गरिसकेपछि आयोजना-कार्यक्रमको बजेट व्यवस्थापनका लागि आवश्यकता अनुसार लागत अनुमानमा मूल्य समायोजन कन्टिन्जेन्सी वापत १० प्रतिशतले र फिजिकल कन्टिन्जेन्सीवापत १० प्रतिशतले आयोजना-कार्यक्रमको जम्मा लागतमा थप गर्नुपर्ने उल्लेख छ । यस्तै वर्क जार्च, स्टाफ खर्च, सानातिना अन्य खर्च र फिजिकल कन्टिन्जेन्सी खर्च गर्ने सन्दर्भमा सम्बन्धित मन्त्रालय वा केन्द्रीय निकायबाट कार्यविधि स्वीकृत गराई गर्नुपर्ने व्यवस्थाबमोजिम संघीय मामिलाले लागू गरेको कन्टिजेन्सी खर्च अनुमान तथा कार्यविधिमा पनि उल्लेख छ ।
कार्यविधिअनुसार कन्टिन्जेन्सी रकमको वार्षिक अनुमान तयार गर्नुपर्ने उल्लेख छ । कन्टिन्जेन्सी रकम खर्च गर्नुअघि विभाग तथा कार्यालयले कन्टिन्जेन्सीवापत खर्च गर्न सकिने रकमको वार्षिक अनुमान तयार गर्नुपर्छ । यस रकमको अनुमान गर्दा सार्वजनिक निर्माणकार्य र परामर्श सेवा रकमबाट खर्च गर्न सकिने कन्टिन्जेन्सी रकमसमेतको अनुमान गर्नुपर्नेछ ।
वार्षिक अनुमान तयार गर्दा निर्माण कार्यको हकमा लागत अनुमानको वर्क चार्ज स्टाफ खर्चतर्फ दुई प्रतिशत र सानातिना अन्य खर्चतर्फ दुई प्रतिशत गरी जम्मा चार प्रतिशत र परामर्श सेवाको हकमा कार्यालय व्यवस्थापन खर्चको रूपमा लागत अुनमानको चार प्रतिशतका दरले अनुमानमा उल्लेख भएको रकमलाई आधार मान्नुपर्नेछ । कन्टिन्जेन्सी रकम वर्क चार्ज र स्टाफ खर्चका लागि उपयोग गर्न सकिनेछ । निर्माण कार्यको वर्क चार्ज, स्टाफ खर्च भन्नाले निर्माणकार्यको सुपरभिजन र सोसँग प्रत्यक्ष रूपमा सम्बन्धित कर्मचारी खर्च, अपरेटर तथा सवारी चालक खर्च, सवारी साधन तथा मेसिनरी औजार, उपकरणको भाडा तथा मर्मत सम्भार कार्यका लागि गरिने खर्चसमेतलाई जनाउँछ ।
यसको साथै निर्माण कार्यको कन्टिन्जेन्सी रकम सम्बन्धित बोलपत्र वा प्रस्ताव तयारी, परामर्श सेवा, सूचना प्रकाशन, निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षणका लागि प्रयोग हुने इन्धन, स्टेसनरी, फर्निचर, टेलिफोन, विद्युत् तथा पानी महसुल, फोटोकपी वा प्रिन्टर, कम्प्युटरर खरिद, मर्मत निर्माणकार्यमा संलग्न कर्मचारीको पेशागत सुरक्षा तथा प्राथमिक उपचारका सामग्री विविध एव कार्यालय व्यवस्थापनका लागि आवश्यक पर्ने सानातिना अन्य खर्चसमेत गर्न सकिनेछ ।
परामर्श सेवासम्बन्धी कन्टिन्जेन्सी रकम चाहिँ कार्यालय व्यवस्थापनमा सम्बन्धी कार्यका लागि खर्च गर्न सकिने उल्लेख छ । परामर्शको तयारी, सूचना प्रकाशन, परामर्श सेवासम्बन्धी कार्यको अनुगमन तथा सुपरिवेक्षणका लागि प्रयोग हुने इन्धन, स्टेसनरी, फर्निचर, टेलिफोन, विद्युत् तथा पानी महसुल, फोटोकपी वा प्रिन्टर, कम्प्युटर खरिद, मर्मत, विविध एवं कार्यालय व्यवस्थापनका लागि आवश्यक पर्ने अन्य खर्चसमेत गर्न सकिनेछ । पुँजीगत प्रकृतिको काम पनि कन्टिन्जेन्सी रकमबाट खर्च गर्न बाधा नपर्ने उल्लेख छ । यो खर्च सवारी साधनमा समेत गर्न सकिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्