नेपाली श्रमिकलाई खाडी प्रवेशमा नयाँ मापदण्ड «
Logo

खोप लगाए पनि क्वारेन्टाइन बस्नुपर्ने

नेपाली श्रमिकलाई खाडी प्रवेशमा नयाँ मापदण्ड

कतार, साउदी अरब, यूएई र कुवेतले रोजगारीमा जाने श्रमिकका लागि नयाँ स्वास्थ्य मापदण्ड लागू गरेका छन् । कतार, साउदी अरब र यूएईले कारोना संक्रमणका कारण खोप तथा क्वारेन्टाइनका सम्बन्धमा अगष्टको पहिलो हप्ताबाट लागू हुने गरी नयाँ नियम लगाएका हुन् ।
यसमध्ये यूएईले बिहीबार प्रवेश खुला गरेको छ । यसैगरी कुवेतले २६ साउनपछि शर्तसहित प्रवेश खुला गर्ने देखिएको छ । यसैगरी कतार सरकारले बाहिर जुनसुकै खोप लगाएको भए पनि यात्रुहरूले अनिवार्य १० दिन होटल क्वारेन्टाइन बस्नुपर्ने गरी नियम परिवर्तन गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावास द्वितीय सचिव प्रविन भट्टराईका अनुसार कतारले आफ्नो क्वारेन्टाइन नियम परिवर्तन गरेर १८ साउनदेखि लागू हुने गरी नेपालबाट फर्कने यात्रुहरूले होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
कतारमा दुवै मात्रा खोप लगाएका वा कतारमै कोभिड–१९ संक्रमण भई निको भएको १२ महिना ननाघेको अवस्थामा यात्रुले दुई दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ । दोस्रो दिनमा पीसीआर परीक्षण नतिजा नेगेटिभ आएमा भने आफ्नो गन्तव्यमा जान पाउने छन् । तर कतार बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका यात्रुहरूले १० दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ । यसैगरी यूएईले १८ साउनदेखि दुबईका सरकारी कार्यालयमा जान खोपको दुवै मात्रा पूरा गरेको वा ४८ घण्टाभन्दा कमको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ । यूएईले नेपालीको हकमा बिहीबार २१ साउनबाट लागू हुने गरी यूएई प्रवेश खुला गरेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।
यूएईको आवासीय भिसा भएका र यूएईमा कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाई सोको प्रमाणपत्र लिएका, यूएईको आवासीय भिसा भएका तर खोप नलगाएका, सरकारी निकायमा कार्यरत व्यक्ति, यूएईमा कार्यरत स्वास्थ्यकर्मी, यूएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, यूएईमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति –ह्युमेनिटेरियन क्षेत्र) का मानिसका लागि भने विशेष व्यवस्था गरिएको छ । यस्तो अवस्थाका नेपालीले यूएई प्रवेशका लागि त्यहाँकोे फेडेरल अथोरिटी फर आइडेन्टिटी एन्ड सिटिजनसिपबाट यूएई प्रवेशका लागि अनुमति लिनुपर्ने, ४८ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने, नेपालको विमानस्थलमा ¥यापिड टेस्ट हुने, यूएईका विमानस्थलमा अवतरण भएपछि पीसीआर परीक्षण गर्नु पर्नेछ ।
साउन १७ बाट कुवेतमा अनुमोदित खोप लगाएका आप्रवासीलाई प्रवेश अनुमति दिने निर्णय भएअनुसार पहिलो दिन आठ वटा उडानबाट ७३९ यात्रु कुवेत भित्रिएका थिए । नेपालबाट जोन्सन एन्ड जोन्सनको खोप लगाए पनि खोप कार्ड क्यूआर कोडमा उपलब्ध हुन नसक्दा अझै नेपालीलाई कुवेत आउने अनुमति मिलेको छैन । यद्यपि कुवेतले नेपाललगायत कोरोना उच्चजोखिम देखिएका पाँच देशबाट हुने सिधा उडान १० अगस्टसम्मका लागि स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्