२० दिनमा खर्चको दोब्बर राजस्व संकलन «

२० दिनमा खर्चको दोब्बर राजस्व संकलन

चालु आर्थिक वर्ष २०७८-०७९ को पहिलो २० दिनमा झण्डै २ अर्ब बराबरको बजेट खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबारसम्ममा जम्मा १ अर्ब ९१ करोड रुपैयाँ खर्च भएको हो ।
खर्च भएको अधिकांश रकम भने चालु खर्चअन्तर्गतको रहेको कार्यालयले जनाएको छ । त्यस्तै राजस्वतर्फ ३ अर्ब ८० करोड अर्थात् लक्ष्यको ३.३१ प्रतिशत रकम संकलन भएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी हो । गत वर्ष सरकारले पहिलो २० दिनमा २ अर्ब ४२ करोड रुपैयाँ संकलन गरेको थियो ।
कार्यालयका अनुसार सरकारले २० दिनमा झण्डै १ अर्ब ५८ करोड रुपैयाँ बराबरको चालु खर्च गरेको छ भने ३३ करोड रुपैयाँ बराबरको पुँजीगत खर्च गरेको छ ।
१६ अर्ब भन्दा बढीको बजेटमा २० दिनमा २ अर्ब खर्च हुनु ज्यादै न्युन रहेको पूर्व अर्थसचिव राजन खनाल बताउँछन् । “आर्थिक वर्षको सुरुवातमा कतिपय खर्चहरु गत वर्षकै दायित्व सरेर आएका हुन्छन्” उनी भन्छन् “त्यसमाथि दैनिक बजेटरी खर्च पनि हुन्छन् नै, २ अर्ब खासै ठूलो रकम होइन ।”
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गरिने भनिएसँगै बजेट कार्यान्वयनमा यसवर्ष पनि अलमल हुने देखिएको छ । तर, खनाल भने संसदमा आर्थिक अध्यादेश पेश भइसकेकाले २ महिनासम्म बजेटले वैधानिकता पाएको बताउँछन् । सरकार फेरिएपछि कार्यान्वयनमा केही प्रभाव पर्ने भएपनि स्पष्ट धारणा बनाएर अगाडि बढ्नुपर्ने उनको तर्क छ ।
सरकारले बजेटलाई संशोधन गर्ने भएमा यही बजेटमा नीति तथा कार्यक्रमको प्राथमिकतामा हेरफेर गरेर केही समायोजन गरेर कार्यान्वयनमा गए सहज हुने उनको भनाइ छ ।
पुँजीगत खर्च कम हुने तथा विकास निर्माणको काममा ढिला हुने समस्या विगतदेखि कै समस्या भएको भन्दै उनी यसलाई सुधार गर्नुपर्ने बताउँछन् । तर, यसमा कसैले ‘खर्च गर्दिन’ भनेर जानीजानी खर्च नगरेको नभइ प्रक्रियागत कठिनाइले समस्या निम्ताएको उनको तर्क छ ।
एउटा सानो काम गर्न पनि सरासर गर्न सकियो भने तीन महिनाभित्र गर्न सकिने र अरुसँग भर पर्नुपर्ने भएमा ८-९ महिना लाग्ने उनको तर्क छ । कामदारको अभाव, नयाँ सामग्री तथा औजार खरीदमा समस्या पनि बजेट खर्च नहुनुका कारण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्