तेस्रो मुलुकमा घट्यो, छिमेकमा बढ्यो «

तेस्रो मुलुकमा घट्यो, छिमेकमा बढ्यो

केही वर्ष अघिसम्म अन्तर्राष्ट्रिय बजारमा निकै रुचाइएको नेपाली पस्मिनाको युरोपेली मुलुकमा निर्यात खुम्चँदै गए पनि पछिल्लो समय छिमेकी मुलुक चीन र भारतीय बजारमा भने रुचाइन थालेको छ । निर्यातको ‘भल्युम’का आधारमा तेस्रो मुलुकभन्दा छिमेकी मुलुकमा कम भए पनि झिनो सुधारको संकेत देखिएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकले छिमेकी मुलुकमा पस्मिनाको निर्यात बढेको र तेस्रो मुलुकमा केही खस्किएको देखाएको छ ।
नेपाली पस्मिनाको टे«डमार्क दर्ता भएर बजारीकरण हुन थालेपछि सुुधार देखिनेमा व्यवसायीहरु आशावादी थिए । तर, यसले पनि सुधार ल्याउन सकेको देखिँदैन । छिमेकी मुलुक चीनमा सन् २०१७-१८ मा ७७ करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्ष २५ करोड रुपैयाँको पस्मिना निर्यात भएकोमा गत वर्ष २०४.४ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी सन् २०१६-१७ मा ५० करोड रुपैयाँको निर्यात भएको थियो । अर्काे छिमेकी मुलुक भारतमा सन् २०१७-१८ मा ८० करोड रुपैयाँको पस्मिना निर्यात भएको छ । अघिल्लो वर्ष ७२ करोडको निर्यात भएकोमा ११.२ प्रतिशतले वृद्धि भएको हो । सन् २०१६-१७ मा पनि ७२ करोड रुपैयाँकै पस्मिना निर्यात भएको थियो । विश्वका ४७ मुलुकमा नेपाली पस्मिना निर्यात हुने गरेको छ ।
तेस्रो मुलुकतर्फको व्यापारमा भने निर्यातको अवस्था खस्किएको छ । सन् २०१७-१८ मा तेस्रो मुलुकमा २ अर्ब १२ करोडको पस्मिना निर्यात भएको छ । अघिल्लो वर्ष २ अर्ब ३५ करोड निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष पस्मिना निर्यातमा ९.७ प्रतिशत गिरावट आएको हो । सन् २०१६ मा २ अर्ब ६३ करोड रुपैयाँ बराबरको पस्मिना तेस्रो मुलुक निर्यात भएको थियो ।
छिमेकी मुलुकमा अझ निर्यात बढाउने र तेस्रो मुलुकमा पुरानो साख फर्काउने लक्ष्य व्यवसायीहरुको छ । सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पस्मिना उद्योगबाट मुलुकले आर्थिक लाभ लिन सक्ने नेपाल पस्मिना उद्योग संघले जनाएको छ । संभावना भएको क्षेत्रलाई सरकारले पनि प्राथमिकता दिनुपर्ने पश्चिना उद्योग संघले जनाएको छ ।
पस्मिना उत्पादनका लागि उद्यमीले कच्चा पदार्थकारुपमा पस्मिना यार्न, सिल्क यार्न, डायस् तथा रसायन चीन, भारत र युरोपबाट आयात गर्ने गरेका छन् । नेपालको पस्मिना अमेरिका, जापान तथा युरोपमा निकै लोकप्रिय छ । नेपाली पस्मिनाबाट सल, महिला तथा पुरुषका लागि स्वीटर, कम्बल, टी–सर्ट, स्कार्फ, पञ्जा लगायतका सजावटका सामाग्रि बनाउने गरिएको छ । च्याङ्ग्राको रौँ पस्मिनाका लागि प्रमुख कच्चा पदार्थ मानिन्छ । यसलाई प्रशोधन गरी पस्मिना उत्पादन गरिन्छ ।
डेढ दशकअघि १० अर्ब रुपैयाँभन्दा बढीको पस्मिना विदेश निर्यात भएको थियो । पस्मिना व्यापार ‘बुम’ भइरहेको अवस्थामा संसारभर नेपाली पस्मिनाको चर्चा पनि थियो । भारत र चीनले नेपाली पस्मिनाको नक्कल गर्न थालेपछि निर्यात व्यापारमा असर परेको हो । बुम भइरहेको बजारमा ५८ सालपछि नराम्रोसँग खस्किएको हो । तर, पछिल्लो समय पस्मिनाको व्यापारमा सुधार आइरहेको छ । नेपाली पस्मिनाको कलेक्टिभ ट्रेडमार्क दर्तापछि यसले नयाँ आशा जगाएको छ । सरकारले पनि पस्मिनालाई निकासीयोग्य वस्तको सूचीमा राखेर बजारीकरण गरिरहेको छ ।
ट्रेडमार्क दर्ता भएपछि नेपाली पस्मिनाको नाममा विश्व बजारमा नक्कली उत्पादन जाने र त्यसले गर्दा ग्राहकमा कुनै दीर्घकालीन छाप छोड्न असफल हुने भएकोले व्यापारमा उतारचढाव आएपनि अब त्यस्तो नहुनेमा व्यवसायीहरु आशावादी रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्