बाराका दुवै उपमहानगरको बजेट भेटिँदैन
बाराका कलैया तथा जितपुर सिमरा उपमहानगरपालिका गत चार वर्षदेखि आर्थिक पारदर्शितामा चुकेका छन् । प्रत्येक वर्ष नगर सभाबाट पारित बजेट फोटोकपीमै सीमित छ ।
सभाबाट पारित बजेटसमेत वेबसाइटमा सार्वजनिक छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको प्रादेशक तथा स्थानीय सहयोग कार्यक्रम(पीएलजीपएसपी) ले उपमहानगरको वेबसाइटमा कुनै पनि आर्थिक वर्षको बजेट उपलब्ध छैन ।
जितपुर सिमराका सूचना प्रविधि अधिृकत संर्घष बिडारीले योजना र लेखा शाखाले हरहिसाब नपठाएपछि वेबसाइटमा सार्वजनिक नगरिएको बताउँछन् । यस्तै कलैयाका सूचना प्रविधि अधिकृत सुरेशकुमार यादव बजेट वेबसाइटमा राख्ने प्रणाली नभएको बताउँदै बजेट खोज्न प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय जान आग्रह गर्छन् । “वेबसाइटमा नगरको काम गरेको प्रगतिको समाचार र फोटो राखिएको छ” उनले भने ।
दुवै उपमहानगरको आर्थिक अपारदर्शिता र योजनाको हरहिसाब चुस्त नबनेपछि अनियमितताको आशंकामा कयौं मुद्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको पनि छ ।
नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास जनप्रतिनिधिहरूमा स्वायत्त सरकारको शासक भएको घमण्ड रहेकाले स्थानीय तह भ्रष्टको अखडा बनेको बताउँछन् ।
जितपुर सिमराका प्रमुख डा. कृष्ण पौडेलले बजेट वेबसाइटमा नराखिएको भन्दै चाँडै राख्ने बताउँछन् । आम्दानी र खर्चको विवरणसहितको पुस्तक उपमहानगरले सीमित प्रकाशन गर्ने र केही दिनमै हराउने हुँदा हरहिसाब भद्रगोल रहेको हुन सक्ने बताउँछन् । कलैयाका प्रमुख राजेशराय यादवको आधिकारिक वेबसाइटको विषयमा ज्ञान नै नभएको पाइएको छ ।