जैविकमार्ग कालोपत्रे गर्न २५ करोड बजेट विनियोजन «

जैविकमार्ग कालोपत्रे गर्न २५ करोड बजेट विनियोजन


कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उत्तरी क्षेत्रमा निर्माण भएको जैविकमार्ग कालोपत्रेका लागि २५ करोड विनियोजन भएको छ ।

संघीय सरकारको निर्वाचन क्षेत्र रणनैतिक सडक कार्यक्रमअन्तर्गत जैविकमार्ग कालोपत्रेका लागि २५ करोड बजेट विनियोजन भएको हो ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार जैविकमार्गको तिलकपुर क्षेत्रदेखि पश्चिम कामीकाटे खोलासम्मको सडकखण्डमा कालोपत्रेसहित सडक निर्माण गर्नका लागि बजेट विनियोजन भएको छ ।

कार्यालयका प्रमुख नरेन्द्र भट्टका अनुसार निर्वतमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत चैत महिनामा गरेको शिलान्यास सडक खण्डमध्ये भीमदत्त नगरपालिकाको जैविकमार्ग पनि परेको थियो । जसअनुसार जैविकमार्गको कालोपत्रेसहितका लागि बजेट विनियोजन भएको प्रमुख भट्टले बताए ।


“निर्वाचन क्षेत्र रणनीति सडकअन्तर्गत जैविक मार्गको नौ किलोमिटर क्षेत्रमा कालोपत्रेसहित सडक निर्माणका लागि आवश्यक तयारी अगाडि बढाइएको छ,” सडक डिभिजन महेन्द्रनगरका प्रमुख नरेन्द्र भट्टले भने, “जैविकमार्ग क्षेत्रको उक्त सडक खण्डका लागि इन्टरमिडियट लेनमा अफग्रेट गर्न लागत अनुमान स्वीकृतिका लागि अगाडि बढाइएको छ, सम्भवतः अबको दुई महिनाभित्रमा बोलपत्र आह्वान गर्ने तयारी पनि भएको छ ।” कालोपत्रे निमार्णको सबै प्रक्रिया सम्पन्न भएपछि निर्माण सुरु गरिएको दुई वर्षभित्र कालोपत्रेसहित निर्माणकार्य सम्पन्न गरिसक्ने योजना कार्यालयको रहेको उनले बताए ।

निर्माण गरिने उक्त सडकको साढे पाँच मिटर चौडा क्षेत्र गरेर कालोपत्रे गरिनेछ ।
महेन्द्रनगर सदरमुकाम क्षेत्रदेखि उत्तरमा पर्ने उक्त क्षेत्र निकै टाढा तथा दुर्गमको दृष्ट्रिकोणले पनि चिनिने गरिन्छ । तथापि पछिल्लो अवस्थामा उक्त क्षेत्रमा विकासका विभिन्न गतिविधि बढेपछि उक्त क्षेत्र सुगम बन्दै गएको छ । दुर्गम मानिने उक्त क्षेत्रमा कालोपत्रेसहितको सडकका लागि प्रक्रिया अगाडि बढेपछि भने स्थानीयको जीवनमा आमूल परिवर्तन हुने भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेवका वडाध्यक्ष राम नाथले बताए ।

उनले दुर्गम भनेर चिनिने उक्त क्षेत्रलाई जैविकमार्गले सुगम बनाएको भन्दै कालोपत्रेको कार्यक्रमपछि भने दुर्गम क्षेत्रका स्थानीयका लागि निकै राहत पुग्ने वडाध्यक्ष नाथको भनाइ छ ।
“सदरमुकाम क्षेत्रबाट चुरे क्षेत्रमा अवस्थित यहाँको बस्तीलाई निकै दुर्गम तथा तल्लो नजरले हेर्ने गरिन्छ, सम्भावनाको दृष्ट्रिकोणले पर्याप्त सम्भावना यस क्षेत्रमा छन्,” वडाध्यक्ष नाथले भने, “धेरै सम्भावना भएको क्षेत्र भए पनि पछाडि पारिएको अवस्था थियो, परिस्थिति अनुसार विस्तारै परिवर्तन हुँदै गएको छ, जैविकमार्गको सडक खण्ड कालोपत्रे भएपछि भने चुरेक्षेत्रको आर्थिक विकास तथा आन्तरिक पर्यटन क्षेत्र पनि प्रवद्र्धन हुने निश्चित छ ।” चुरे फेदीमा निर्माण गरिएको उक्त जैविकमार्गले नगरपालिकाको वडा नम्बर १, ३, ७, ८, ९ र १० छुने गर्दछ । यस्तै नगरका उत्तरी क्षेत्रका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पनि उक्त सडक खण्डले छोएको छ ।

प्रतिक्रिया दिनुहोस्