Logo

जिल्लाबाट जडिबुटी निर्यात बढ्दै


पछिल्लो समय जिल्लामा जडिबुटी उत्पादन तथा संकलन बढन थालेको छ । पछिल्ला वर्षमा जिल्लामा जुडिबुटीको उत्पादन बढेपछि जिल्लाबाहिर निर्यात पनि बढेको छ ।


डिभिजन वन कार्यालय दाङका अनुसार गत वर्ष दाङबाट निजी तथा राष्ट्रिय वनबाट विभिन्न प्रजातिका जडिबुटी संकलन गरी निर्यात गर्दा ७ लाख १७ हजार राजस्व संकलन भएको छ । जिल्लामा टिमुरमात्रै निजी वनबाट एक लाख ३७ हजार किलो र राष्ट्रिय वनबाट ४० हजार पाँच सय किलो गरी एक लाख ७७ हजार किलो बढी टिमुर जिल्ला बाहिर निर्यात गरिएको सहायक वन अधिकृत भक्त चौधरीले बताए ।

अन्य तुलनामा दाङमा टिमुर धेरै उत्पादन हुने र निर्यात हुने गरेको छ । गत वर्ष २३ प्रजातिका जडिबुटी जिल्लाबाट निर्यात गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । सहायक वन अधिकृत चौधरीका अनुसार गत वर्ष अमला ११ हजार दुई सय केजी, काउलो बोक्रो ५२ हजार १५० केजी, तेजपात ६७ हजार तीन सय केजी, माला गिरी ६० हजार केजी, रिठा ३५ हजार पाँच सय केजी, लहरे गुजो एक हजार तीन सय केजी, कालीकाटी १ हजार के जी र टिगडी पाँच हजार चार सय ५० के जि जिल्ला बाहिर निर्यात गरिएको थियो ।


त्यसैगरी पाखन बेद नौ हजार केजी, सुगन्धवा पाँच सय केजी, गुत्रो सात हजार १५ केजी, अल्लो बोक्रा दुई सय केजी, हरो चार हजार केजी, बर्राे पाँच हजार केजी र धाइरो फूल एक हजार पाँच सय केजी, भृङगराज एक हजार पाँच सय केजी, दुधे लहरो एक हजार पाच सय केजी, ब्राहमी घोत्रा एक हजार पाँच सय केजी, पुदिना एक हजार पाँच सय केजी, बेलचना तीन हजार केजी र चुत्रे बोक्राल पाँच हजार केजी निर्यात गरिएको छ ।

दाङमा कुल ८९ हजार ४१७ हेक्टर जमिन वन क्षेत्रमध्ये १६० हेक्टर वनमा क्षेत्रमा थप जडिबुटी लगाइएको सहायक वन अधिकृत चौधरी बताउँछन् । जिल्लामा उत्पादन भएका जडिबुटी भारत निर्यात हुने गरेको छ ।
विगतका वर्षको तुलनामा जडिबुटी उत्पादन र निर्यात बढेको उनी बताउँछन् । आर्थिक वर्ष ०७६/०७७ मा मात्र टिमुरमात्रै ९६ हजार ७४५ केजी निर्यात गरिएको थियो भने गत आर्थिक वर्ष ०७७/०७८ मा एक लाख ७७ हजार केजी बढी टिमुर निर्यात भएको छ ।

टिमुर खेतीमा जोड
जिल्लामा अन्य जडिबुटीभन्दा टिमुर उत्पादन धेरै हुने गरेको छ । जिल्लामा राम्रो उत्पादन हुने भएपछि टिमुर खेतीमा जोड दिएको कार्यालयले जनाएको छ ।

बंगाचुली गाउँपालिकाको वडा नं. ३, ४ र ५, घोराही उपमहनगरपालिका वडा नं. १८ र १९, तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १९ लाई टिमुरको पकेट क्षेत्र तोकिएको छ । जहाँ जिल्लामा सबैभन्दा धेरै टिमुर उत्पादन हुँदै आएको छ । टिमुर खेती बढाउने भन्दै वन डिभिजन कार्यालयले दुई वर्षमा एक लाख २० हजार टिमुरको विरुवा वितरण गरेको छ ।

आर्थिक वर्ष ०७६/०७७ मात्र ५० हजार र ०७७/०७८ मा ७० हजार विरुवा किसानहरूलाई उत्पादनका लागि दिएको हो । किसानहरूलाई टिमुर उत्पादनमा प्रोत्साहन गर्न भन्दै वितरण गरिएको टिमुरको बिरुवा हुर्काएपछि प्रतिबिरुवा तीन रुपैयाँ दिने गरेको सहायक वन डिभिजन अधिकृत चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्