दुर्घटनाग्रस्त लायन एयरको दोस्रो ब्लाकबक्स भेटियो «

दुर्घटनाग्रस्त लायन एयरको दोस्रो ब्लाकबक्स भेटियो

जकार्ता-इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको बिमानको दोस्रो ब्लाकबक्स भेटिएको अधिकारीहरुले बताएका छन् । उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको उक्त नयाँ विमानसम्बन्धी तथ्य बुझ्न ब्लाकबक्सले सहयोग पुग्ने बताइएको छ ।
बोइङ ७३७ म्याक्स श्रेणीको नयाँ विमान राजधानी जकार्ताबाट उडेको १३ मिनेटमै राडारको सम्पर्कबाट बेपत्ता भएको थियो । उक्त विमान जाभाको तटीय समुद्रमा खसेको थियो । दुर्घटनामा विमानमा यात्रारत सबै १८९ जनाको मृत्यु भएको थियो । विमानउडेको केही समयपछि पाइलटले विमानपुनः जकार्ता फर्काउन लागेको बताएका थिए ।
इन्डोनेसियाको राष्ट्रिय यातायात सुरक्षा समितिका उपप्रमुख हारयो सातमिकोले सोमबार बिहान दोस्रो ब्लाकबक्स भेटिएको जानकारी दिएका थिए ।
खोज तथा उद्धार टोलीले उक्त जहाजको फ्लाइट डाटा रेकर्डर (ब्लाकबक्स) फेला पारिसकेका थिए । उक्त रेकर्डरको मद्दतले जहाजको गति, उचाई र दिशाका बारेमा थाहा पाउन सकिन्छ । दोस्रो ब्लाकबक्समा भने पाइलटको आवाज संग्र्रहित हुन्छ ।
अनुसन्धाताहरुले लायन एयरको जहाजमा पहिल्यैदेखि समस्या आएको पाइएकाले उडाउन नहुने बताएका छन् । अनुसन्धानबाट जहाजमा प्राविधिक समस्या आएको देखिए पनि दुर्घटनाको वास्तविक कारण पत्ता लाग्न सकेको थिएन ।
उड्डन विज्ञहरुका अनुसार ब्लाकबक्समा कुनै पनि विमान दुर्घटनाका बारेमा झण्डै ९० प्रतिशत सत्य कुरा थाहा हुने गर्छ ।
विमानका यात्रुको अनुरोधमा लायन एयरले ब्लाकबक्स खोजीका लागि २६ लाख अमेरिकी डलर भुक्तानी गरी एउटा डच कम्पनीलाई जिम्मा लगाएको थियो ।
विमाननिर्माता कम्पनी बोइङ विरुद्ध मृतकका झण्डै ३० जना आफन्तले कानुनी कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेका छन् । उनीहरुले बोइङ ७३७ म्याक्स मोडेलमा प्राविधिक समस्या रहेको बताउँदै आएका छन् ।
बोइङको म्याक्स श्रेणीका विमानलाई विश्वकै नयाँ र सर्वाधिक समुन्नत व्यावसायिक उडान गर्ने विमानका रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्