जयसिंह धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरूकै संलग्नता : श्रेष्ठ «

जयसिंह धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरूकै संलग्नता : श्रेष्ठ

राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले जयसिंह धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरूकै संलग्नता भएको भन्दै भारतले नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताए ।
बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले अहिलेसम्मको प्रमाणको आधारमा दार्चुलाका जयसिहं धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरूको संलग्नता रहेको उल्लेख गर्दै यस घटनाको निम्ति भारत सरकारले नेपाली जनतासँग सार्वजनिक रूपमा क्षमा याचना गर्नुपर्ने बताए । उनले भने, ‘म यस प्रकारको अमानवीय, उत्पीडनकारी र क्रुर कार्यको घोर निन्दा एवं भत्र्सना गर्छु । यसका निम्ति भारतले अविलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न माग गर्छु । दोषी व्यक्तिहरूमाथि तत्काल कडा कारबाही गर्न माग गर्दछु र अबका दिनहरूमा यस प्रकारका हेपाहा, उत्पीडनकारी व्यवहार अन्त्य गर्न, नदोहो-याउन पनि म जोडदार माग गर्न चाहन्छु ।’
सांसद श्रेष्ठले यस प्रकरणले नेपाली जनतामा पीडा पैदा भएको भन्दै पीडाले र देशभक्तिको भावनाले नेपाली जनता आफै प्रतिकारको स्थितिमा आउन सक्ने चेतावनी दिदैँ सरकारले तत्काल सत्यतथ्य छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘नेपाली जनतामा यस प्रकारको अमानवीय, क्रुर, घटनाबाट जुन पीडा पैदा भएको छ । त्यो पीडाले देशभक्तिको बाँध, मानवताविरोधी कार्यकाविरुद्ध उर्लिएको भावनाले त्यो बाँध भत्काएर आफैं प्रतिवाद र प्रतिकारमा आउने स्थिति उत्पन्न गर्ने कार्य कुनैपनि हालतमा उपयुक्त हुँदैन । यस सम्बन्धमा नेपाल सरकारले तत्काल कदम चालोस् भन्ने म विशेष अनुरोध गर्न चाहन्छु ।’
श्रेष्ठले प्रतिनिधिसभा विघटनको प्रमुख नायक पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भएपनि यसको निम्ति विगतदेखिको प्रवृति जिम्मेवार रहेको बताउनुभयो । मुलुकको दुरावस्थाको निम्ति ओली मात्रै जिम्मेवार नभई सबै राजनीतिक पार्टीहरू र नेताहरू तथा यस अघि सरकार चलाउनेहरू पनि भएको उनले जिकिर गरे । यस विषयमा आत्मसमिक्षा गरेर आफुलाई सुधार्दै जानुपर्ने उनले बताए । उनले भने, ‘प्रतिनिधिसभालाई विघटन गरेर प्रतिगामी कदम चाल्ने प्रमुख पात्र र नायकत्व पूर्व प्रधानमन्त्री तत्कालीन सरकारका प्रमुख माननीय केपी शर्मा ओलीले नै गर्नुभएको थियो । त्यो कुरा सत्य हो । तर यो कुरा पनि हामीले आत्मसात् गर्नु जरुरी छ । यो मुलुकको दुरावस्थाका निम्ति , यो मुलुकको बेहालका निम्ति त्यो प्रवृतिका बाहक उहाँमात्रै जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरू, नेताहरू, यो भन्दा अगाडी विभिन्न ढंगले सरकार चलाउने सरकारहरू पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए । आज हामीले त्यो कुरा पनि गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । निर्मम आत्मसमिक्षा गर्नुपर्छ र आफूलाई सच्याउन हामी तयार हुनुपर्छ ।’
सांसद श्रेष्ठले सरकारलाई बाढीपीडितहरूका लागि तत्काल राहत प्याकेज ल्याउन माग पनि गरे ।

प्रतिक्रिया दिनुहोस्