अमेरिका–चीन व्यापारयुद्ध दुवैलाई गलपासो «

अमेरिका–चीन व्यापारयुद्ध दुवैलाई गलपासो

द्विपक्षीय सम्बन्धको स्थापकका रूपमा चिनिएको अमेरिका–चीन आर्थिक र व्यापारिक सम्बन्ध बिग्रियो भने यी दुई मुलुकबीचको भू–राजनीति द्वन्द्व पनि चर्कने देखिन्छ ।

यो वर्षको आगामी समयलाई हेर्ने हो भने चिनियाँ जनताले अमेरिका र चीनबीचको व्यापार तनाव खुकुलो होला वा नहोला भन्ने विषयमा ध्यान दिइरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक व्यापार नीतिको कदमका बाबजुद व्यापार लडाइँ अमेरिकी स्वार्थको पक्षमा देखिँदैन । अमेरिकी आर्थिक परिवृत्तहरूलाई नियाल्दा वित्तीय बजारको अस्थिरता र अमेरिकी व्यावसायिक समुदायको प्रतिक्रियाका आधारमा ट्रम्पले चीनसँगको सम्झौतामा पुग्नैपर्ने आवश्यकता देखिन्छ । व्यापारयुद्धमा हुन सक्ने कुनै पनि विस्तारको नकारात्मक प्रभावको अन्त्यका लागि पनि यसको आवश्यकता देखिन्छ ।
अमेरिकी अर्थतन्त्रको आधारभूत अवस्थाको मामिलामा अमेरिकी अर्थतन्त्र पहिले नै उचाइमा पुगिसकेको छ । गत वर्षको तेस्रो त्रैमासिक अवधिमा अमेरिकाको वार्षिक आर्थिक वृद्धिको दर ३.५ प्रतिशत पुगेको थियो, तर कर सुधारको कम भएको असर र व्यापारयुद्धको बढ्दो नकारात्मक प्रभावका कारण अमेरिकी आर्थिक नीतिका लागि थोरै मात्र ठाउँ रहेको छ । यसले गर्दा अमेरिकी अर्थतन्त्र दबाबमा परेको देखिन्छ ।
योभन्दा पनि बढ्दो मुद्रास्फीतिको दरले अमेरिकी केन्द्रीय बैंक फेडलाई ब्याजदर बढाएर मौद्रिक नीतिलाई कडाइ गर्नुपर्ने देखिन्छ ।
अमेरिकी कम्पनीहरूको दृष्टिकोणमा व्यापार विवादले असर देखाउन थालेका छन् । उदाहरणका लागि विश्वकै ठूलो हेभी मेसिनरी निर्माता क्याटरपिलरले हालै मात्र स्टिलमा बढाइएको भन्सार र ढुवानी लागतका कारण २०१८ को तेस्रो त्रैमासिक अवधिमा अतिरिक्त ४ करोड डलरको नोक्सानी भएको जनाएको छ ।
दुई मुलुकबीचको व्यापारयुद्धबाट नोक्सानी बेहोर्नेमा अमेरिका एक्लो भने पक्कै पनि होइन । यसले चीनलाई पनि त्यत्तिकै असर पारेको छ । छोटो अवधिमा युआनमा भएको अवमूल्यन र बढ्दो निर्यात करले दबाब कम गर्न पक्कै पनि सहयोग गर्ला ।
तर, दीर्घकालीन अवधिमा यो मुलुकले अमेरिकाको सट्टा अर्को निर्यात गन्तव्य खोज्नुपर्ने देखिन्छ । अमेरिकाले पनि व्यापारयुद्धका कारण आफ्नो कृषि उत्पादनलाई विशाल चिनियाँ बजारको सट्टा अन्य मुलुक अर्थात् युरोपतर्फ निर्यात गर्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएको छ । व्यापार विवादले लगानी, व्यवसायीको मनोबल र औद्योगिक आपूर्तिमा समेत बृहत् असर पार्ने देखिन्छ ।
जति लामो समयसम्म व्यापारयुद्ध लम्बिन्छ, यसको व्यापक असर पनि हुने देखिन्छ ।
योभन्दा पनि महत्वपूर्ण कुरा के छ भने हामीले अमेरिका–चीनबीचको व्यापारयुद्धको असर आपूर्ति सञ्जालमा पर्ने विषयलाई कम आँक्नु हुन्न । यसको यकिन लेखाजोखा गर्नका लागि अत्यन्त कठिन हुने देखिन्छ ।
उदाहरणका लागि अमेरिका–चीन व्यापारयुद्धले सेरोफेरोमा देखिएका अनिश्चितताका कारण बहुराष्ट्रिय कम्पनीहरू चीनमा लगानी गर्नका लागि हच्किरहेका छन् । उनीहरूले विश्वव्यापी उत्पादन योजनालाई क्रमिक रूपमा समायोजन गर्ने प्रयास गरिरहेका छन् । अर्कातिर चीनको पूर्ण आकारको औद्योगिक चेन र विशाल बजारका कारण अमेरिकी कम्पनीहरुलाई पनि यो बजार छोड्दा ठूलै घाटा हुने देखिन्छ ।
द्विपक्षीय सम्बन्धको स्थापकका रूपमा चिनिएको अमेरिका–चीन आर्थिक र व्यापारिक सम्बन्ध बिग्रियो भने यी दुई मुलुकबीचको भू–राजनीति द्वन्द्व पनि चर्कने देखिन्छ । त्यसैले २०१९ मा अमेरिका–चीन आर्थिक र व्यापारिक सम्बन्ध गत वर्षको तुलनामा राम्रो हुने अपेक्षा गरौं ।

प्रतिक्रिया दिनुहोस्