अमेरिकामा एक सातामा दुई नेपाली युवाको मृत्यु

अमेरिकामा एक सातामा दुई नेपाली युवाको मृत्यु भएको छ । न्युयोर्क २८ वर्षीय नेपाली युवा विपिन लम्सालको जुलाई २७ तारिख मङ्गलवार मृत्यु भयो । अमेरिकाकै अर्को राज्य विसकनसिनमा २२ वर्षीय नेपाली युवा सृजन कुँवरको जुलाई २८ तारिख बुधबार मृत्यु भएको छ । दुवै युवा अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो । विपिन कामबाट घर फर्किएर रेष्टरुम प्रयोग गर्न गएको बेला र सृजन स्टोरमा काम गरिरहेको समयमा बेहोस भएका थिए । दुवै जनालाई अस्पतालले बचाउन सकेन ।
एनआरएनए अमेरिकाद्वारा जारी विज्ञप्तिअनुसार नेपालमा पर्वत घर भएका विपिन लम्साल २०१६ देखि अमेरिकामा बस्दैआएका थिए । काठमाडौँ दक्षिणकाली नेपाल घर भएका डी भी लोटरी विजेता सिर्जन कुँवर भने २०१९ मा अमेरिका बस्दै आएका छन् ।
दुवै युवाको शवलाई नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको प्रवक्ता तोया दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विपिन लम्सालको शव नेपाल फर्काउन एनआरएनए न्यु योर्क च्याप्टरले गोफण्डबाट १६ हजार डलर सङ्कलन गरिसकेको छ । एनआरएनए विसकनसिन च्याप्टरले सृजन कुँवरको शव नेपाल पठाउन आवश्यक पर्ने रकम सङ्कलन गर्न मंगलबार गो फण्ड सन्चालनमा ल्याएको छ ।
दुवै युवाको परिवारको अनुरोध अनुसार अध्यक्ष बुद्धि सागर सुवेदी अमेरिका स्थित नेपाली एम्बेसी, मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी, न्युयोर्क र विसकनसिन च्याप्टरसँग समन्वय गर्दै शवलाई नेपाल पठाउन सक्रिय भएर लागि रहनुभएको छ ।
स्वर्गीय विपिन लम्साल र सृजन कुँवरको मृत्यु र सहयोगका सन्दर्भमा एनआरएनए अमेरिकाले जारी गरेको वक्तव्य यसै साथ संलग्न गरिएको छ ।