आम्दानीको राम्रो स्रोत बन्दै नेपालको बहुमूल्य यार्चा «

आम्दानीको राम्रो स्रोत बन्दै नेपालको बहुमूल्य यार्चा

यार्चा जाडोमा कीरा र गर्मीमा घाँस बन्ने एक अनौठो प्रजातिको वनस्पति–जीव हो । यसको स्वरूप आधा वनस्पति र आधा कीराजस्तो हुन्छ । छोटकरीमा यसलाई यार्चा भनिए पनि यसको वास्तविक नाम भने यार्चागुम्बा हो । यो एक शक्तिवद्र्धक र दुर्लभ जडीबुटी हो । यो नेपालको हिमाली र पहाडी जिल्लाहरूको चिसो ठाउँ लेकाली भेगमा पाइने गर्छ । सर्वप्रथम चीनको तियान भन्ने वैज्ञानिकले करिब २ सय वर्षअघि यार्चागुम्बालाई शक्तिवद्र्धक जडीबुटी भनी प्रमाणित गरेपछि यसको सेवन गर्न सुरु गरिएको थियो । त्यसपछि यसलाई विश्वको महँगो जडीबुटीका रूपमा मानिन थालियो । यसको खास बजार हङकङ र ताइवान बन्यो । हाल यार्चाको बजार, व्यापार र मूल्यमा वृद्धि तथा विस्तार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा यार्चाको माग दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
विगतका वर्षहरूमा भन्दा यस वर्ष नेपालमा यार्चा सङ्कलन गर्न जानेको संख्यामा वृद्धि भएको पाइन्छ । त्यसैले यस वर्ष यार्चाको उत्पादन र व्यापार राम्रो हुने आकलन गरिएको छ । यस वर्ष नेपालका हिमाली र पहाडी जिल्लाका अधिकांश मानिसहरू यार्चा सङ्कलनका लागि लेकतिर लागेका छन् । यार्चालाई यौन तथा शक्तिवद्र्धक जडीबुटीका रूपमा प्रयोग गरिन्छ । यार्चा भुटान र चीनका केही प्रान्तमा समेत पाउन सकिन्छ ।
यार्चा सङ्कलन वैशाखदेखि साउन महिनासम्म गरिन्छ । तर, यार्चा सङ्कलनको काम भने एकदमै कठिन र जोखिमपूर्ण हुने गर्छ । यार्चा टिप्न धेरै समय र श्रमको आवश्यकता पर्छ । एक किलो यार्चा सङ्कलन गर्न सात–आठ जना मानिसलाई झन्डै एक महिना लाग्छ । यार्चा सङ्कलन गर्न जाने कतिपय मानिसहरू चिसो र धपेडीका कारण बिरामी नै पर्छन् भने कतिपय मानिसहरू त अत्यधिक चिसोका कारण लेक लागेर ज्यानैसमेत गुमाउँछन् । यार्चा सङ्कलन गर्न हिँडेका कतिपय मानिसहरू बिरामी परेर उपचार गराउँदा धेरै खर्च हुन्छ । नेपालको लेकाली भेगको नागी डाँडा र अन्य क्षेत्रहरूमा यार्चाको सङ्कलन हुने गर्छ ।
यार्चा नेपालको दार्चुला, बझाङ, जुम्ला, मुगु, डोल्पा, म्याग्दी, मुस्ताङ, रसुवा, गोर्खा, रुकुम र लमजुङ जिल्लाका लेकाली भेगहरूमा पाइने गर्छ । त्यस क्षेत्रमा प्रत्येक वर्ष हजारौंको संख्यामा यार्चा सङ्कलन गरिन्छ । यार्चा स्थानीय बासिन्दाहरूका लागि मात्र नभई यसको व्यापार गर्नेहरूका लागिसमेत आम्दानीको राम्रो स्रोत बनेको छ ।
नेपालको यार्चा ताइवान, हङकङ, सिंगापुर र तिब्बतमा निकासी हुने गर्छ । सिंगापुर र हङकङमा भन्दा तिब्बतमा नेपालको यार्चाले राम्रो मूल्य पाउने गर्छ । उचित गुणस्तर भएको यार्चा प्रतिकिलो ३ लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । तर, हाल मौसम परिवर्तनको असर यार्चा उत्पादनमा देखिन थालेको छ । प्रत्येक पछिल्ला वर्षहरूमा यार्चाको उत्पादन घट्दै गइरहेको छ । मौसम परिवर्तनका कारणले हिमाली जिल्लाहरूमा पहिलेको जस्तो गुणस्तरीय यार्चा पाइन छोडेको छ ।

प्रतिक्रिया दिनुहोस्