आर्थिक विकासको प्रस्थान बिन्दुमा समृद्धि «

आर्थिक विकासको प्रस्थान बिन्दुमा समृद्धि

मुलुकको आर्थिक विकासको क्षेत्रमा कायम रहँदै आएको यथार्थपरक अभावको परिपूर्ति गर्दै समृद्धिको लक्ष्य प्राप्तिको मार्गमा रूपान्तरण गर्नुपर्ने अवस्था प्रारम्भ भइसकेको छ । तत् सन्दर्भमा भएका सभा, सम्मेलन, सेमिनार, विचार–मन्थन एवं गोष्ठीहरूमा हामीले आर्थिक विकास केन्द्रित अवधारणाका लागि प्रशस्त समय खर्चिए पनि व्यवहारतः यसको पूर्णता प्राप्तिमा सधैं नै उधारो अवस्थामा रहनुपरेको तीतो अनुभवलाई लामो समयदेखि भोग्दै आएका छौं, जसको परिणामजनक पूर्णताका लागि विवेकसम्मत ढङ्गले मनन गर्दै सम्पूर्ण विकासप्रेमी नेपाली दिदीबहिनी–दाजुभाइमा नै दायित्वसहितको अभिभारा वहन गर्न सक्ने प्रस्थान बिन्दु पहिल्याउनु समयको माग हो ।
जसका लागि राष्ट्रिय आवश्यकताको अर्जुनदृष्टिको महत्वलाई मनन गर्दै दु्रतगामी आर्थिक विकासको खाकासहितको रणनीतिक योजनाले मात्र छोटो समयमा नै यस क्षेत्रमा आमूल परिवर्तनको प्रत्याभूति गराउनेछ भन्ने विश्वास लिन सकिन्छ । किनकि नेपालजस्तो विकासको पथमा निरन्तर अगाडि बढिरहेको मुलुकको रुग्ण अवस्थामा रहेको अर्थतन्त्रमा समेत दुई भिन्न आर्थिक विकासको सम्भावना बोकेको क्षेत्रलाई एकआपसमा कार्ययोजनात्मक समायोजनको अवधारणामा आधारित रहँदै आर्थिक विकास र समृद्धिको लक्ष्यमा पुग्न सहयोग पुग्ने थियो भन्न सकिन्छ ।
सम्बद्ध क्षेत्रको आवश्यक पहिचान गरी सम्भाव्यता कायम रहन सक्छ भन्ने कुराको यकिन गर्दै कम्तीमा पनि २५ वर्षे वा सोभन्दा अधिक समय–सीमासहितको प्रस्थान बिन्दुको गुरुयोजनाको खाका तयार पार्नुपर्ने हुन्छ, जसलाई कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेपजन्य व्यवहारबाट पृथक् राख्दै सशक्त सफलताको कामनासहितको व्यवहारमा यसको सुन्दर भविष्य निर्धारण गर्न सकिनेछ । तदुपरान्त राज्यको शासकीय स्वरूपमा जस्तोसुकै परिवर्तन भए तापनि प्रस्थान बिन्दु गतिलाई कुनै पनि हालतमा न्यूनता कायम गर्दैनौं भन्ने प्रतिबद्धता हरेक क्षेत्रबाट अनिवार्य रूपमा जाहेर हुनुपर्नेछ । प्रस्तुत तथ्यगत व्यवहारको निरन्तरताले तोकिएको सीमाअगावै वा निश्चित समय–सीमाभित्रमा नै आर्थिक विकासको लक्ष्य प्राप्तिसहितको समृद्धिको ढोका खोल्न कुनै प्रकारको अड्चन रहनेछैन भन्दा त्यति फरक नपर्ला । कार्यगत निरन्तरता नै लक्ष्यउन्मुख मार्ग हो भन्ने मूल मन्त्रलाई हामी कसैले पनि यस अवसरमा भुल्न हुँदैन ।
प्रस्तुत कार्यको पूर्ण सफलताका लागि मूलतः दुई क्षेत्रमा आधारित आर्थिक विकासको लक्ष्यसहितको कार्ययोजनालाई अगाडि सार्दा उच्च प्रतिफल हासिल गर्न सक्ने अवस्था रहन्छ । पहिलो अवस्था भनेको निश्चित रूपमा कृषिक्षेत्रको व्यावसायिक यात्रामा आधारित एक्काइसौं शताब्दीअनुरूपको कार्ययोजनाको छनोट हो, जसमा हालसम्म लगभग ८० प्रतिशत वा सोभन्दा अधिक जनसमुदाय परम्परागत कृषि प्रविधिलाई आत्मसात् गर्दै जीविकोपार्जन गर्दै आएको तथ्याङ्कले औंल्याएको पाइन्छ ।
आजको परिवर्तित परिवेशमा यस क्षेत्रमा रहने अत्यधिक मेहनतपछिको न्यून पारिश्रमिकले कुनै पनि हालतमा सम्प्रभू नेपाली जनमतको आर्थिक उन्नतिको सदिच्छालाई सहजै पूरा गर्ला भन्ने विश्वास राख्न सकिँदैन । तसर्थ प्रस्थान बिन्दुको गन्तव्य परम्परागतभन्दा पनि आधुनिक कृषि प्रविधिले सुुसज्जित गराउनु व्यावसायिक यात्राको शुभारम्भको गति हो ।
जसका लागि प्रविधि–प्रविधिका बीचमा रहने तीव्र प्रतिस्पर्धाबाट निस्कने नतिजाले आर्थिक विकासको आधारभूत आवश्यकताका रूपमा रहेको प्रविधि हस्तान्तरणले समेत आवश्यक गति लिने हुँदा त्यसबाट प्राप्त हुन आउने प्रतिफलले न्यून लागत खर्चबाट अत्यधिक लाभ हासिल गर्दै राष्ट्रको आर्थिक विकासको प्रस्थान बिन्दुले यथार्थ रूप धारण गर्न सक्ने देखिन्छ । तर, यसका लागि ऊर्जा विकासको भूमिकालाई अन्यथा लिन मिल्दैन । यो त्यही कडी हो जसलाई प्रस्थान बिन्दुको दोस्रो कारक तत्व विशेषका रूपमा लिँदा फरक नपर्ला । बदलिँदो विश्व परिवेशमा देखिएको ऊर्जा संकटलाई न्यून गर्न हाम्रा उच्च हिमाली क्षेत्रबाट अविरल बहने हिमनदीबाट निस्कने विद्युत् आयोजनाहरू पक्कै पनि आर्थिक विकासको मेरुदण्ड हुन् भन्ने कुरामा कुनै प्रकारको आशंका रहनेछैन ।
उत्पादित जलविद्युत्को भरपुर उपयोग घरेलु गार्हस्थ्य उत्पादन सेवाका अतिरिक्त कृषिक्षेत्रमा समाहित गर्ने अवस्था पैदा भए कृषिका साथै जलविद्युत्को क्षेत्रमा उपलब्धिमूलक आर्थिक विकासको प्रस्थान बिन्दु जीवन्त रहनेछ ।
मुलुकलाई आवश्यक पर्ने पेट्रोलियम पदार्थलाई महँगो वैदेशिक मुद्रा खर्चिए आयात गर्नुभन्दा स्वदेशी जलविद्युत्बाट उत्पादित ऊर्जा विकासले कृषिक्षेत्रमा चाहिने आधुनिक विद्युतीय प्रविधि जडित कृषिजन्य सामग्रीहरू ट्याक्टरलगायतका धान-गहुँ रोप्ने, काट्ने तथा थ्रेसिङ गर्ने, सुविधा सम्पन्न गाडीको प्रयोगले एकातिर पेट्रोलियम ऊर्जाका सन्दर्भमा परिवत्र्य वैदेशिक मुद्रा बचतका अतिरिक्त निर्धारित समय–सीमाभित्रमा नै सहजै कृषिकार्य सम्पन्न गर्न सकिने हुँदा व्यावसायिक कृषियात्राको गन्तव्य आधुनिकतातर्फ उन्मुख रहने प्रबल सम्भावना रहन्छ ।
मुलुकको भौगोलिक विविधताका कारण कतिपय अवस्थामा कृषिक्षेत्रको समग्र विकासको सम्भावनाको न्यूनतालाई परिपूर्ति गर्ने उपयुक्त माध्यम भनेको विद्युतीकरणको अवधारणा नै हो, भन्ने कुरामा हामी कसैको पनि विमति रहन सक्दैन । प्रस्तुत कार्ययोजना लागू गर्नुपूर्व व्यवहारतः मुलुकको अर्थतन्त्रमा पर्न सक्ने घनात्मक वा ऋणात्मक असरका बारेका अध्ययन गर्र्दै निर्योल निकाल्नुपर्ने हुन्छ । किनकि ऋणात्मकता उन्मुख आर्थिक विकासको प्रस्थान बिन्दुले नागरिकका समृद्धिमूलक आर्थिक अभिलाषालाई पूरा गर्न नसक्ने हुँदा त्यस प्रकारका विकासविरोधी क्रियाकलालाई त्याग्नु बुद्धिमानी हुनेछ ।
जुन निश्चित रूपमा प्रविधि हस्तान्तर एवं आर्थिक पक्षसँग अनुबन्धित रहनेछन् । कुनै पनि कार्ययोजनालाई सफलीभूत पार्नका लागि आर्थिक पक्षलगायत प्राविधिक दृष्टिकोणले उपयुक्त रहनुपर्ने तथ्यलाई बिर्सन मिल्दैन । यसका अतिरिक्त वितरित लगानीको अनुपातमा मुनाफा कायम रहने हो भने आर्थिक विकासका लागि अवलम्बन गर्ने भनिएको प्रस्थान बिन्दुले निर्धारित समय–सीमाभित्रमा नै लक्ष्य प्राप्ति गर्नेछ, जसको विकासले विद्युतीकरणको अलावा तत्सँग सम्बन्धित अन्य औद्योगिक समूहको विकासलाई पनि प्राण भर्ने कार्य गर्छ । तत्पश्चात् प्रदेशगत आधारमा क्षेत्रीय व्यावसायिक अवधारणालाई विविधीकरण गर्ने कार्यमा प्रमुख भूमिका निर्वाह गर्दै आएको सडक सञ्जालको विकासलाई कुनै पनि हालतमा अछुतो राख्न मिल्दैन ।
अबको अवस्था भनेको ऊर्जामय विकासले कृषि क्षेत्रलगायत सम्पूर्ण क्षेत्रलाई समाहित गर्दै आगामी केही वर्षभित्रमा नै आर्थिक विकासको प्रस्थान बिन्दुसहितको लक्ष्य प्राप्ति गर्न सक्षम विश्वका अन्य समृद्धशाली मुलुकसरह विश्व मानचित्रमा आफ्नो छुट्टै अस्तित्व र छवि बनाउन हामी नेपालीहरू आतुर रहेका छौं । तसर्थ लक्ष्यसहितको आर्थिक प्रस्थान बिन्दुलाई गतिरोधबिनाको निरन्तरता आजको आर्थिक विकासको आवश्यकता हो, जसले मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउँदै नागरिकको जीवनस्तरमा समेत उल्लेख्य सुधार गर्नेछ भन्ने अपेक्षा राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्