माघी सक्रान्तिका लागि २ करोडको तरुल «

माघी सक्रान्तिका लागि २ करोडको तरुल

पोखरा-माघे संक्रान्तिको अवसरमा पोखरामा २ करोडको तरुलसहित कन्दमूलको व्यापार हुने भएको छ । यस वर्ष माघे सक्रान्तिको अवसरमा पोखरामा करिब २ करोड मूल्य बराबरको तरुलसहित कन्दमूलको कारोबार हुने कृषिउपज बजार व्यवस्थापन समिति शान्तिवन बाटिका, पोखराका निमिक्त प्रमुख रूपा दाहालले बताइन् ।
उनका अनुसार भारतदेखि नेपालका विभिन्न जिल्ला हँुदै पोखरामा भित्रिएको विभिन्न जातको तरुल एक सय ५० मेट्रिकटन, त्यसैगरी सखरखण्ड ५० मेट्रिकटन पोखरामा भित्रिएको छ । सामान्यतयाः ४० रुपैयाँदेखि अधिकतम २ सय रुपैयाँमा तरुलसहितको कन्दमूल पोखरामा बिक्री वितरण भएको छ । एक सय ५० मेट्रिकटन नेपालमा उत्पादन भएको तरुलसहितको सखरखण्ड पोखरा भित्रिएको बताएकी दाहालले ५० मेट्रिकटन जसो तरुलसहित सखरखण्ड भारतबाट आएको बताइन् । एक करोड ५० लाख मूल्य बराबरको तरुलको मात्र कारोबार हुन र बाँकी ५० लाख सखरखण्ड, पिडालुसहितका कन्दमूलको बिक्री हुने उनले दाबी गरिन् ।
बजारमा तरुल प्रतिकेजी ४० देखि एक सय रुपैयाँसम्म, वन तरुल प्रतिकेजी १ सय ५० देखि २ सयसम्म, सखरखण्ड प्रतिकेजी ५० देखि ९० रुपैयाँसम्ममा बिक्री भएको छ । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब २५ प्रतिशतले कम तरुलसहितको कन्दमूल पोखरामा भित्रिएको छ । मानिसको खानपिन र स्वास्थ्यको कारण आफ्नो कला संस्कृतिभन्दा मनोरन्जनमा बढी केन्द्रित भएकोले गर्दा पनि तरुलसहितको कन्दमूलको पछिल्ला वर्षमा कम बिक्री हुँदै आएको नि. प्रमुख दाहालले बताइन् ।
पाल्पा, स्याङजा, मकवानपुर, गोरखा, सर्लाही, नवलपरासी लगायतको क्षेत्रबाट तरुलसहितको कन्दमूल पोखरामा भित्रिएको व्यवसायी बताउँछन् । पाल्पा र मकवानपुरबाट प्रायः वन तरुल भित्रिएको छ भने गोर्खाबाट बढीमा मात्रमा सखरखण्ड भित्रिएको छ भने अन्य जिल्लाबाट सिम्ले, पन्जे, जाते, सेतो, घर लगायतको तरुल भित्रिएको व्यवसायी विनोद गुप्ताले बताए । गत वर्ष करिब ४ लाखको कन्दमुलको व्यापार गरेका उनले यस वर्ष माघे सक्रान्तिको अघिल्लो २ दिनसम्म २ लाखको तरुलसहितको कन्दमुलबाट कारोबार गर्न मुस्किल परेको बताए । कास्कीको बहुमारा, हेमजालगायतका क्षेत्रबाट स्थानीय जातको तरुल केही मात्रमा बजारमा आएको उनले जनाए ।
स्याङ्जा ठूलाडिहीका सागर थापाले यस वर्ष आफ्नै बारीसहित अन्य स्थानीयबाट ५ सय किलोग्राम तरुल बिक्रीका लागि पोखरामा ल्याए पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष कम र सहुलियतमा बिक्री गर्नुपरेको बताए । गत वर्ष उनले ५० देखि ६० मा प्रतिकेजी तरुल बिक्री गरेकोमा हाल उनले ३५ देखि ४० रुपैयाँमा प्रतिकेजी तरुल बिक्री गर्दैछन् । अर्का व्यापारी सोनु गुप्ताले ८ टन तरुल बिक्रीका लागि पोखरामा अडर गरे पनि हाल २० प्रतिशत पनि बिक्री नभएको गुनासो गरे । अघिल्लो वर्षको तुलनामा हरेक वर्ष तरुलसहितको कन्दमूल खानेको संख्या घट्दै जाँदा पोखरामा कम खपत हुँदै आएको व्यवसायी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्