बिर्सन खोजे पनि माघीले सम्झाउँछ पीडा «

बिर्सन खोजे पनि माघीले सम्झाउँछ पीडा

दाङ-गढवा गाउँपालिका–४ परस्पुर निवासी शारदा चौधरीले माघी आउँदा आफू कमलरी बस्दा पाएको पीडाको झल्को आउने गरेको बताइन् । सानो उमेरमै अरुको घरमा कमलहरी बस्दा कतिपय माघीमा घरसमेत जान नपाएको बताइन् ।
करिब ६/७ वर्षको उमेरमा कमलहरी बसेको उनको भनाइ छ । “अहिले पनि माघ आउँदा कमलहरी बस्दाको पीडाको झल्को आउने गर्दछ,” शारदाले भनिन् । अहिले पनि ती दिन सम्झँदा आँखाबाट आँसु झार्ने गर्छिन् । “कमलहरी बस्दाका ति दिन सम्झँदा अहिलजस्तै लाग्ने गर्दछ,” शारदाले भनिन् । थारु समुदायको प्रमुख चाडमा पनि उनी घरमा जान नपाएको दिन अहिले पनि ताजै छन् । “कति माघीमा घरसमेत जान पाएको थिइन,” शारदाले भनिन् । घर आए पनि १/२ दिनभन्दा बढी बस्न नपाउने गरेको उनले बताइन् । “कहिले माघी आउला र घर जान पाउँला भन्ने दिन गरेर बस्नु पर्ने अवस्था थियो,” शारदाले भनिन् । उनी वर्षको एक पटकमात्र घर जान पाउने गरेको बताइन् । मालिकको घरमा कमलहरी बस्दा आफूले गर्ने सक्नेभन्दा पनि बढी काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
आफूसँगैका मालिकका छोरा छोरी रमाउँदा आफू कहिले पनि रमाउन नपाएको उनले बताइन् । “काम नभएर सँगै खेल्न जाँदा काम निकालेर काममा लगाइ हाल्ने गर्दथे,” शारदाले भनिन् । कमलहरी बस्दा उनले पढनसमेत पाएकी थिइनन् । अहिले मुक्त भए पनि आफू स्वतन्त्र भएको बताइन् । सुख दुःखका साथ आप्mनै घरमै बसेर अहिले प्लस टुसमेत सकिएको उनले बताइन् । आप्mनो खर्चसमेत आफै उठाउने गरेको उनको भनाइ छ ।
घोराही उपमहानगरपालिका–१० नारायणपुरकी मनीषा चौधरीले पनि माघी आउँदा मालिकको घरमा बिताएको दिनको झल्को आउने गरेको बताइन् । “माघी आउँदा र घर जान नपाउँदाको पीडा सम्झदा मन रोएका ति दिन अहिले झैं लाग्ने गरेको छ,” मनीषाले भनिन् । उनी १० वर्षको उमेरमै कमलहरी बसेको बताइन् । कमलहरी बस्दा उनले पनि कति माघी मालिकको घरमै बिताउनु परेको थियो । “हाम्रो ठूलो चाडमा पनि घर जान नपाउँदा पीडा धेरै हुने गरेको थियो,” मनीषाले भनिन् । अहिले पनि माघी आउँदा ति दिनले सताउने गरेको बताइन् । लामो समय भए पनि भर्खरैस्तै लाग्ने गरेको उनले बताइन् । अहिले मुक्त भएपछि उल्लासको रूपमा माघी मनाउन पाइएको उनको भनाइ छ । “मालिकको घरमा बसेर माघी मनाउनु पर्दाको पीडा सम्झदा अहिले पनि आँखाबाट आँसु झर्ने गर्दछ,” मनीषाले भनिन् । मुक्त भएपछि उनले प्स टु सकिसकेकी छिन् भने सहकारीमा काम गर्दै आएको उनले बताइन् ।
तुल्सीपुर उपमहानगरपालिका–६ गाइडरकी रुपनी चौधरीले पनि माघीले आफूले पाएको पीडा सम्झाइ दिने गरेको बताइन् । आफूहरूको ठूलो पर्व माघीमा घर जान नपाएर मालिकको घरमा नै काम गर्नुपर्ने उनको भनाइ छ । जसले गर्दा आप्mनो परिवारमा सँगै रमाउन नपाउने बताइन् । “मालिकको घरमा दास भएर बस्नु पर्ने बाध्यता थियो अहिले पनि माघी आउँदा ति दिन सम्झी रहने गरेकी छु,” रुपनीले भनिन् । माघी आउँदा फेरि कुन मालिकको घरमा दास बन्न जानुपर्ने हो भन्ने सोचाइले सताउने गरेको उनको भनाइ छ । यसरी स्वतन्त्र भइएला भनेर आफूले नसोचेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्