बाख्रा पालन व्यवसाय फस्टायो «

बाख्रा पालन व्यवसाय फस्टायो

जाजरकोट-पछिल्लो समय जाजरकोटमा बाख्रापालन व्यवसायमा फस्टाउँदै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि यहाँका किसान यो व्यवसायमा अग्रसर भएका छन् ।
बारेकोट गाउँपालिका–८, लैखमका रणबहादुर खत्रीको घरमा १ सय भेडाबाख्रा छन । खत्रीको वार्षिक २ लाख आम्दानी हुन्छ । घरमा ५० भेडा, ५० बाख्रा छन । वर्षमा २५ देखि ३० वटा खसीबोका र माउँभेडाबाख्रा, सानापाठापाठी पनि बिक्री हुने गरेको खत्रीले बताए । रोजगारीको लागि धेरै पटक भारतको कालापाड गइयो तर त्यसबाट घर व्यवहार चलाउन सहज देखिएन । घरमै भेडाबाख्रा पाल्लु पर्यो भनेर लागेको छु खत्रीले भने ।
लगानी धेरै लगाउनु नपर्ने, थोरै लगानीबाट व्यवसाय गर्न सकिने भएको हुँदा यो व्यवसाय थालेको खत्रीको भनाइ छ । परिश्रम गरे आफ्नै बारीमा सुन फलाउन सकिन्छ खत्रीले भने । खत्रीको घरमा १५ जनाको परिवार छ । त्यस्तै गरी नलगाड नगरपालिका–५, भण्डारीगाउँका शान्तबहादुर खत्री गाउँकै अब्बल बाख्रा पालक कृषक हुन् । खत्रीको घरमा ९० बढी बाख्रा छन् । वर्षमा १ लाख ६० हजार आम्दानी हुन्छ ।
यसबाट घर व्यवहार चलाउन र छोरालाई पढाउन लेखाउन सहज भएको खत्रीले बताए । खत्रीले १ वर्षअघि उच्चमूल्य वस्तु विकास आयोजना सुर्खेतको आर्थिक सहयोग तथा नागरिक कृषि तथा पशुपालन सहकारी संस्था लहँको समन्वयमा खोर निर्माणसँगै एक वटा उन्नत जातको बोयर जातको बोका पाए । यो सहयोग मिले पनि बाख्रा पालन व्यवसाय गर्न थप ऊर्जा मिलेको खत्रीले बताए । खत्रीको घरमा बाख्रा हेर्न आउनेको भीड लाग्ने गरेको छ ।
यी दुई त जिल्लाको एक प्रतिनिधि पात्रमात्र हुन् । जाजरकोटको ७ वटै स्थानीय तहमा भेडाबाख्रा पालन व्यवसाय फस्टाउँदै गएको छ । बाख्राका लागि चरण क्षेत्रको राम्रो सम्भावना रहेका कारण यो व्यवसाय छिटो फस्टाउँदै गएको हो । अन्य व्यवसायभन्दा यसबाट राम्रो फाइदा पुग्ने भएपछि किसानहरू यस व्यवसायतर्फ आकर्षित भएको बारेकोट गाउँपालिकाका पशु प्राविधिक गोविन्द सिंहले बताए ।
गर्मी समयमा भेडाबाख्रा चरिचरणका लागि उच्चलेक तथा बुकी पाटनमा लिने गरिन्छ, भने जाडो समयमा औल तथा बेसीतर्फ झारिन्ने गरिने सिंहको भनाइ छ । बारेकोट गाउँपालिका भित्र करिब १० हजार भेडाबाख्रा रहेको सिंहले बताए । जाजरकोमा एक लाख बढी भेडाबाखा रहेको सिंहले बताए । यहाँका खसीबोका पोखरा, काठमाडौं, बाँके, बर्दिया, सुर्खेत, जुम्ला, डोल्पालगाएतका जिल्लामा लैजाने गरेका छन् । जिल्लाभित्र र जिल्ला बाहिर मासुको लागि खसी, बोकाको माग अत्यधिक खपत हुने भएपछि जिल्लाका किसानले बाख्रापालन व्यवसाय बढाउँदै लगेका छन् ।
यहाँका प्रतिकिसानले बाख्रापालन व्यवसायबाट वर्षमा एक देखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । यो व्यवसायमा लगानी गरेपछि चाँडै आम्दानी दिने भएपछि किसानहरू यो व्यवसायमा आकर्षित भएका हुन् । भेडाबाख्राको उनबाट राडिपाखी, काम्लो, फेरे लगायतका मूल्यवान वस्तु तयार हुँदा यसबाट पनि आम्दानी हुन्छ । कतिपय किसानले व्यावसायिक रूपमा भेडाबाख्रापालन फर्म नै खोलेका छन् ।
स्थानीय तहबाट पनि बाख्रापालक किसानलाई लगानी गर्ने गरेका छन् । जिल्लामा ४० हजार भेडाबाख्रा पालक किसान छन् । जिल्लामा मासुको लागि वार्षिक ६ हजार खसीबोकाबाट ७ करोड, जिल्ला बाहिर १४ हजार खसीबोकाबाट १४ करोड, पूजाआजामा ६ सय खसीबोकाबाट ३० लाख, ३ सय बोका व्यपारका लागि बिक्रीबाट ७ लाख र १६ सय माउ बाख्रा बिक्रीबाट १२ करोड वितरण भई वार्षिक ३३ करोड ३७ लाख रुपैयाँ आम्दानी हुने गरेको पशु प्राविधिकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्