यथार्थपत्र
असंगठित क्षेत्रलाई राहत, अर्थतन्त्रको पुनरुत्थानमा जोड

सरकारले अर्थतन्त्रको ‘श्वेतपत्र‘ अर्थात् यथार्थ चित्रण गर्न ल्याउन लागेको ‘यथार्थपत्र’ले कोभिडका कारणले थिलथिलो भएको अर्थतन्त्रमा असंगठित क्षेत्रलाई राहत, आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने गृहकार्य, खोप तथा पुनरुत्थान एवं रोजगारी सिर्जनामा जोड दिने भएको छ ।
विषेश गरेर केही क्षेत्रहरु नराम्रोसँग प्रभावित भएको हुनाले तिनलाई राहत दिने एवं हालसम्मको अवस्था चित्रण गर्दै आफ्नो कार्यकालमा कसरी अगाडि बढ्ने भन्ने विषयहरु पनि उल्लेख गरेको अर्थ मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ । सरकारले यथार्थपत्रमार्फत पहिलो प्राथमिकता कोभिड रोकथाम, खोप र प्रतिकार्यलाई दिने बताएको छ ।
यथार्थपत्रले विगतदेखिकै समस्या अर्थात् अपेक्षाअनुसार पुँजीगत खर्च हुन नसकेको अवस्थालाई पनि केन्द्रित गरेको छ । स्रोतको सुनिश्चितता विना कतिपय आयोजनाहरु राख्ने होड चलेकाले यसलाई केन्द्रित गरेर आउने यथार्थपत्रमा केही वर्षदेखि राजस्व परिचालन लक्ष्य नजिक पुगे पनि खर्चमा लाजमर्दो अवस्था रहेको देखाएको जनाइएको छ । सरकारले ल्याउन लागेको यथार्थपत्रमा अहिलेको अर्थतन्त्रको अवस्था, चुनौती र कसरी अगाडि बढ्ने विषयमा बुँदाहरु उल्लेख छ । स्रोतका अनुसार यथार्थपत्र कसैलाई आक्षेप लगाउने खालको नभई अहिलेको यथार्थ अवस्था र आफूले यतिसम्म गर्न सक्छु भन्ने हेतुले ल्याउन लागिएको हो । त्यस्तै, कोभिडले गरिबी ४ प्रतिशत भन्दा बदीले बढाएको अनुमान गरिएको उक्त यथार्थपत्रले व्यापार घाटाको तस्बिर ज्यादै डरलाग्दो देखिएकोे चित्रण गरेको छ ।
करिब अन्तिम अवस्थामा पुगेको यथार्थपत्र एक–दुई दिनमा नै सार्वजनिक हुने तयारी गरिएको छ । सत्तारुढ दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम टुङ्गो लागिसकेपछि त्यसका कतिपय कार्यक्रमहरुलाई यथार्थपत्रसँग समन्वय गरी सार्वजनिक गरिने अर्थ मन्त्रालयले जनाएको छ ।