सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि «

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २० गते (आज) देखि ६० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्दैछ ।
कम्पनीले १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।


सानिमा लाइफको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । यो आईपीओको निष्कासन बन्द छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गते बैंकिङ समयपछि हुनेछ । सानिमा लाइफको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


सानिमा लाइफको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत असार ३१ गते निष्कासनको अनुमति दिएको थियो । यो कम्पनीले आगामी आर्थिक वर्ष २०७९/०८० सम्म प्रतिसेयर आम्दानी १७.११ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मा भने ईपीएस ९.७८ रुपैयाँ रहने कम्पनीको अनुमान छ ।


यसैगरी प्रतिसेयर नेटवर्थ २०७९/०८० १३९.३३ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । जब कि चालु आवमा प्रतिसेयर नेटवर्थ १२१.७३ हुने अनुमान गरिएको छ । यसैगरी आगामी आर्थिक वर्षमा कम्पनीको नेटवर्थमा प्रतिफल १२.२८ प्रतिशत पुग्ने र चालु आवमा ८.०३ प्रतिशत हुने अनुमान गरिएको छ । कम्पनीको सञ्चित आय भने चालु आवमा ३४ करोड ४६ लाख रुपैयाँ रहने प्रक्षेपण गरिएको छ । यस्तो आय आगामी आवमा ६४ करोड ३३ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
यो कम्पनीका देशभर ११८ शाखा तथा उपशाखा कार्यालय छन् । केन्द्रीय कार्यालय भने काठमाण्डौको कमलादीमा रहेको छ । कम्पनीमा संस्थापक सेयरधनीबाट ४ जना, सर्वसाधारण सेयरधनीबाट २ जना र एकजना स्वतन्त्र सञ्चालक गरी ७ जना सञ्चालक रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्