भुकम्पमा भत्किएका विद्यालय बन्न थाले «

भुकम्पमा भत्किएका विद्यालय बन्न थाले

काभ्रे: भूकम्पले क्षति भएका विद्यालयको धमाधम पुननिर्माण हुन थालेका छन् । काभ्रेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, एसियाली विकास बैंक, उइ वल्र्ड, युनिसेफ लगायतका दातृ निकाय र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा विद्यालय पुनर्निर्माणले तिव्रता पाएको हो । 

विभिन्न निकायको सहयोगमा १ सय ४० भन्दा बढी विद्यालय पुनर्निर्माण भइसकेका छन् भने ८५ विद्यालय निर्माणाधिन रहेका छन् । पुनः २ सय ५० वटा विद्यालयमा ७ लाख २७ हजारका दरले ट्रस निर्माण गर्न रकम आएको शिक्षा मन्त्रालयको जिल्ला आयोजना कार्यान्वयन इकाइको कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा पुनर्निर्माण प्राधिकरणको सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई मार्फत १७ विद्यालयको निर्माण सम्पन्न भएको छ ।

प्राधिकरणको सहयोगमा जिल्लामा २ कोठे १८ वटा, ३ कोठे २२ वटा, ४ कोठे १७ वटा, ६ कोठे ५ ओटा र ८ कोठे ६ वटा विद्यालय निर्माण भइरहेका छन् । आर्थिक बर्ष २०७४÷७५ का लागि सोही प्रकृतिका ७१ विद्यालयको लागि कार्यक्रम आएको शिक्षा मन्त्रालयको जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख शरदकुमार भण्डारीले जानकारी दिए ।  

एशियाली विकास बैंकको सहयोगमा १४ वटा प्राथमिक, १२ वटा मावि र २ वटा नमुना विद्यालय पुननिर्माणको काम अघि बढिरहेको छ । आयोजनाका सबइञ्जिनियर गणेश मैनालीका अनुसार, ४ वटा माध्यमिक विद्यालय निर्माणको अन्तिम चरणमा छन् । अन्य विद्यालयको पनि ६० प्रतिशत काम सकिएकोले चाडै नै पुनर्निर्माण सकिने उनले जानकारी दिए । एसियाली विकास बैंकमार्फत थप २२ वटा विद्यालयको सर्भे भइ डिजाइनको चरणमा रहेको मैनालीले जानकारी दिए । 

गैरसरकारी संस्थामार्फत २७ विद्यालयमा ९९ कक्षाकोठा निर्माण भएका छन् । युनिसेफको सहयोगमा आइसिडी नेपालले ७५ विद्यालयमा १ सय ५० कक्षाकोठा निर्माण गरेको छ । गैरसरकारी संस्थामार्फत थप १४ वटा विद्यालयमा ६९ कक्षाकोठा निर्माण भइरहेको आयोजनाका तथा शिक्षा कार्यालयका सवइञ्जिनियर श्रेया झाले जानकारी दिइन् । यसअघि ३६ वटा  विद्यालयमा अर्धपक्की खालका कक्षाकोठा समेत जिल्ला आयोजना कार्यान्वयन इकाइमार्फत निर्माण भइरहेको छ । आयोजनाबाटै जिल्लाका २ सय ५० विद्यालयमा ७ लाख २७ हजारका दरले ट्रस्ट मर्मतको शीर्षकमा बजेट आएको छ । ६० शौचालय निर्माण हुनेछन् ।

शिक्षा कार्यलयले पनि क्षतिग्रस्त संरचना हटाउन, अस्थायी व्यवस्थापन गर्न, खानेपानी, शौचालय लगायतको व्यवस्था गर्न जिल्लाका ५ सय २७ विद्यालयलाई ७ करोड ३४ लाख ५५ हजार रुपै“या बिनियोजन गरेको थियो । त्यस्तै उइवल्र्डको सहयोगमा नाङशाल एसोसिएशन नेपालले ९ वटा विद्यालय निर्माण गरिरहेको छ ।

नाङशलले ५ वटा विद्यालयमा ४ कोठे पक्की भवन निर्माण गरिसकेको छ भने डाँडापारी क्षेत्रमा परेको ४ वटा विद्यालय पुननिर्माणको चरणमा रहेको नाङशालका कार्यकारी निर्देशक गुणराज मोक्तानले जानकारी दिए । 
जिल्लाका ५ सय ९० सामुदायिक विद्यालय मध्ये ३ सय ५३ पूर्ण रुपमा र एक  सय ७४ विद्यालयमा अधिक क्षति पुगेको थियो । जिल्ला शिक्षा कार्यलयको तथ्याकं अनुसार, ५२ सय १० कक्षाकोठा मध्ये ९ सय ५४ पूर्ण रुपमा, ९ सय १४ अधिक र १४ सय ८३ कक्षाकोठामा सामान्य क्षति भएको थियो ।

प्राधिकरणका प्रमुखबाट हस्तान्तरण
पाँचखाल नगरपालिका १२ मा रहेको भुवनेश्वरी आधारभूत विद्यालयमा निर्मित पक्की भवन एक कार्यक्रमका विच पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक प्रा. डा गोविन्दराज पोखरेलले विद्यलाय परिवारलाई हस्तान्तरण गरे । उइवल्र्डको सहयोगमा नाङशाल एसोसिएशन नेपालले निर्माण गरेको ४ कोठे पक्कि भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

४८ लाख ९१ हजारमा निर्माण गरिएको भवन सबै ठेकेदार मार्फत बनाईएको हो । यो जस्तै अन्य ९ वटा विद्यालयमा पक्कि भवन बनाईदिने नाङशालका कार्यकारी निर्देशक गुणराज मोक्तानले जानकारी दिए । निर्माण भइरहेकामध्ये ४ वटा विद्यालय काभ्रेको दुर्गम क्षेत्रमा पर्ने भएकोले प्रति विद्यालय ६६ लाख पर्ने नाङ्साल एसोसिएसनले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्