अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण हुने निश्चित «

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण हुने निश्चित

विराटनगर- विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक तथा व्यापारिक प्रदर्शनीस्थल निर्माण हुने निश्चित भएको छ ।
प्रदर्शनीस्थलको अभावमा विराटनगरमा औद्योगिक व्यापारिक मेला नियमित हुन सकेको थिएन । स्थान अभावका कारण उद्योगीहरूले निजी जग्गा भाडामा लिएर औद्योगिक मेला आयोजना गर्दै आएका थिए । यही पुस ६ देखि १४ गतेसम्म मोरङ व्यापार संघले स्थानीयवासीको जग्गा भाडामा लिएर विराट ट्रेड एक्स्पो (अन्तर्राष्ट्रिय व्यापार मेला) आयोजना गरेको थियो । यो क्षेत्रका उद्योगीले लामो समयदेखि औद्योगिक प्रदर्शनीस्थल निर्माणको माग राख्दै आएका थिए । उद्योगीको दबाबपछि विराटनगर महानगरपालिका र प्रदेश सरकार प्रदर्शनीस्थल निर्माण गर्न तयार भएका हुन् ।
प्रदर्शनीस्थलका लागि जग्गा उपलब्ध भएको छ । उद्योग संगठन मोरङको सक्रियतामा जग्गा उपलब्ध भएको हो । संगठनले विराटनगर–३ स्थित सत्यनारायण मन्दिरको स्वामित्वमा रहेको जग्गामा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणका लागि सम्झौता गरेको छ । सम्झौतापत्रमा सत्यनाराण मन्दिर सञ्चालन समिति र उद्योग संगठन मोरङबीच सम्झौता भएको हो ।
विराटनगर महागनरपालिकाको सहकार्यमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नम्बर १ का आर्थिक मामलिा तथा योजनामन्त्री इन्द्र आङ्बो र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको रोहवरमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पण्डितले विराटनगरलगायत प्रदेश नम्बर १ कै लागि महत्व राख्ने प्रदर्शनीस्थलको निर्माणले यस क्षेत्रको आर्थिक एवं औद्योगिक विकासले गतिलिने विश्वास व्यक्त गरे ।
प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रदर्शनीस्थलको अभावमा उद्योगी व्यवसायी आफ्नो वस्तु तथा उत्पादनको बजार प्रवद्र्धन गर्नबाट वञ्चित भइरहेको अवस्थामा उद्योग संगठनले निर्माण गर्न लागेको प्रदर्शनीस्थलले लामो समयदेखि उद्योगी तथा व्यवसायीले भोग्दै आएको प्रदर्शनीस्थलको अभावलाई पूर्ति गर्ने बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिका समेतको सहकार्यमा विराटनगरको गौरवका रूपमा निर्माण हुने प्रदर्शनी स्थल आर्थिक गतिविधिलाई चलायमान वनाउन मद्दत पु¥याउने बताए । उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थलको अभावमा वार्षिक रूपमा आयोजना गर्ने लक्ष्य लिइएको विराट एक्स्पो जस्ता प्रदर्शनीलाई निरन्तरता दिन नसकिरहेको अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे । बहुवर्षीय योजनाअन्तर्गत बनाउन लागिएको प्रदर्शनी स्थलको शिलान्यास यसै आर्थिक वर्षमा गरिनेसमेत बताए । “संघीय सरकार, प्रदेश सरकार, महानगरपालिका र संगठनबीच सम्पन्न सहमतिका आधारमा बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुनु सकारात्मक हो,” घिमिरेले भने, “जग्गा प्राप्त भएसँगै प्रदर्शनीस्थल निर्माण हुने पक्का भएको छ अब ।” उनले विराटनगर मात्र नभएर समग्र प्रदेशकै आर्थिक गतिविधिलाई सक्रिय बनाउन प्रदर्शनीस्थलले सहयोग पुग्ने बताए ।
सम्झौतापत्रमा संगठनका तर्फबाट निवर्तमान अध्यक्ष मुकेश उपाध्याय, पूर्वअध्यक्ष सुशील धनावत, शिवशंकर अग्रवाल, वरिष्ठ उपाध्यक्ष सुयष प्याकुरेल, उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा, राकेश सुराना, तथा सत्यनाराण मन्दिर सञ्चालन समितिका तर्फबाट इन्जिनियर किशोर थापा, रामप्रसाद खतिवडा, मावधप्रसाद कोइराला, वल्लभप्रसाद अधिकारी, जगदीश राजवंशी, लक्ष्मीकान्त विश्वासले हस्ताक्षर गरेका छन् । प्रदर्शनीस्थल निर्माणका लागि बजेटको अभाव हुन नदिने महानगरका प्रमुख पराजुली र प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले बताए ।

प्रतिक्रिया दिनुहोस्