अदिभारामा कागज उद्योग सञ्चालन «

अदिभारामा कागज उद्योग सञ्चालन

म्याग्दीको मालिका गाउँपालिका–३ अदिभारामा नेपाली कागज उद्योग सुरु भएको छ । वनजंगलमा खेर गइरहेको अर्गेलीको लोत्ता संकलन गरी नेपाली कागज उत्पादन, आयआर्जनको अवसर र रोजगारी सिर्जना गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूह र स्थानीय अगुवाहरूको पहलमा उद्योग सञ्चालन भएको हो । १२ लाख रुपैयाँ लगानीमा उद्योग स्थापना गरिएको छ ।
तनहुँको शुक्ला गण्डकी हाते कागज उद्योगले यहाँको उत्पादन खरिद गर्ने सम्झौता भएको छ । शुक्ला गण्डकी र नेपाल कोरीया प्रविधि (नाइटेक)को सहयोगमा उद्योग परिसरमा पूर्वाधार निर्माण गरिएको छ ।
टहरा निर्माण र लोत्ता पकाउने विद्युतीय उपकरण खरिद गरिएको सञ्चालक मोतीराम गौतमले बताए । यसअघि आगोमा पकाएर लोत्ता प्रशोधन गरिदै आएको थियो । विद्युतीय उपकरण भएपछि छिटो, सजिलो र लागत कम पर्ने जनाइएको छ ।
ओखरबोट र रुमका ५ वटा सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरेर उद्योग सञ्चालन गरिएको हो । उद्योगमा दैनिक दुई हजार ताउ (बीस कोरी) कागज उत्पादन गर्ने क्षमत्ता छ । पाँच जनाले आंशिक रोजगारी पाएका छन् ।
वन समूहका सदस्यहरूले जंगलमा संकलन गरेको लोत्ता प्रतिकिलो १०० रुपैयाँका दरले खरिद गर्ने व्यवस्था मिलाइएको छ । क्षमत्ता विस्तार गरेर उत्पादन वृद्धि गर्ने सञ्चालकहरूको योजना छ । म्याग्दीको देविस्थान र नांगीमा पनि नेपाली कागज उद्योग सञ्चालनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्