दार्चुला घटनाबारे छानबिन गर्न सांसदको माग

प्रतिनिधिसभाका सांसदहरुले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाटमा भएको घटनाबारे छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले दार्चुला घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने र पीडितका आफन्तलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
सांसद विमला नेपालीले भनिन्, ‘दार्चुला जिल्लाको महाकाली नदी तर्ने क्रममा तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराउन चाहान्छु, घटनाबारे सत्यतथ्य छनबिन गर्न समेत माग गर्दछु ।’ यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको बताइएको छ ।
सांसद भूमिप्रसाद त्रिपाठीले दार्चुला घटना अमानवीय घटना भएको जनाउँदै कारवाहीको माग गरे । सांसद महेश्वर गहतराजले दार्चुलामा भारतीय सेनाद्वारा गरिएको अमानवीय व्यवहारको विरोध गरे । सांसद मोहन बानियाँले जयसिंह धामीलाई महाकाली नदीमा खसालिएको घटनाको भत्र्सना गर्दै घटनाबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने पनि माग गरे ।
सांसद राजबहादुर बुढाक्षेत्रीले दार्चुला घटना पहिलो पटक नभएको भन्दै छानबिन गर्न आग्रह गरे । सांसद राजेन्द्रप्रसाद गौतमले दार्चुलामा तुइन काटेर नदीका खसाल्नु अन्तर्राष्टिय फौजदारी अपराध भएको बताए ।
सांसदहरुले देशैभरिका तुइन विस्थापन गरी पुल निर्माण गर्न माग गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक तुइन विस्थापन भएको भने पनि अहिले पनि दुर्गम जिल्लामा तुइन यथावत् रहेको जनाउँदै जतिसक्दो चाँडो तुइन विस्थापन गरी पुल निर्माण गर्न जोड दिएका हुन् ।
नेपाली कांग्रेसका दिलेन्द्र बडूले भने, ’पूर्वप्रधानमन्त्री ओलीले तुइन विस्थापन भयो भन्नुभएको होइन ? तुइन त जहाँको तहीँ छ, अब यो सरकारले तुइन विस्थापन गरी पुल निर्माण गर्नुपर्छ । दार्चुला घटनाबारे राजनीतिक ढाकछोपभन्दा पनि निष्पक्षरुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।’
नेकपा (एमाले) का डा सूर्यप्रसाद पाठकले दार्चुला घटनाबारे नेपाल सरकारले भारत सरकारसँग वार्ता गर्न नसकेको भन्दै दुःख व्यक्त गर्दै घटनाबारे निष्पक्ष छानबिनको माग गरे । एमालेकी विन्दा पाण्डेले दार्चुला जिल्ला घटनाबारे सत्यतथ्य छानबिन गरी यथाशीघ्र संसद्मा जानकारी गराउन माग गरिन् ।
नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले दार्चुला घटनाबारे छानबिनको माग गरे ।