इँटा उद्योगमा मजदुर ल्याउने वातावरण बनाउन माग «

इँटा उद्योगमा मजदुर ल्याउने वातावरण बनाउन माग

नेपाल उद्योग परिसंघ प्रदेश–१ ले बन्द रहेका इँटा उद्योगमा मजदुर ल्याउने अनुमतिको माग गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रदेश–१ अन्तर्गत विभिन्न जिल्लामा सञ्चालनमा रहेका इँटा उद्योगहरूमध्ये अहिले १० प्रतिशत मात्र सीमित समयका लागि सञ्चालन भइरहेको परिसंघले जनाएको छ ।
परिसंघका अध्यक्ष भीम घिमिरेको नेतृत्वको टोलीले दिएको ज्ञापनपत्रमा भनिएको छ, “परिस्थितिमा खासै सुधार नभएको र इँटा उद्योगहरूमा इँटाको मौज्दात नरहेको र विकास निर्माणदेखि सर्वसाधारण नागरिक समेतलाई आवश्यक पर्ने इँटा आपूर्ति गर्न दक्ष मजदुरहरूको अभावमा उत्पादन कार्य प्रभावित हुने देखिएको छ ।”
इँटा उद्योगहरूमा दक्ष कामदार भारतीय मजदुर नै रहने व्यवहारिक बाध्यता र साथै परम्परासमेतको कारणले समयमै दक्ष मजदुरहरू ल्याउनका लागि उद्योगहरूले भारतीय मजदुरहरूलाई लगानी गरिराखेको करोडौ रकम डुब्ने अवस्था आएको ज्ञापनपत्रमा उल्लेख छ ।
उद्योग परिसंघले समयमै दक्ष मजदुर ल्याएर इँटा उत्पादन सुरु नगरिए देशमा इँटाको अभाव हुने र नागरिकहरूको घर निर्माण, तथा देशको विकास निर्माणमा समेत समस्या आउने देखिएको दाबी गरेको छ ।
प्रदेश–१ का विभिन्न जिल्लामा करिब १ सयको हाराहारीमा इँटा उद्योग रहेका छन् भने सुनसरी र मोरङमा मात्रै ७५ वटा इँटा उद्योग सञ्चालन गरेको परिसंघले जनाएको छ । परिसंघको नेतृत्वमा सोमबार इँटा व्यवसायी संघ कोशी, मोरङ सुनसरीका पदाधिकारीको टोलीले मुख्यमन्त्री राईका साथै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीलाई पनि भेट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्