बढ्दो सडक दुर्घटना «

बढ्दो सडक दुर्घटना

सडकको स्तरोन्नति हुनु भनेको देशको मुख्य पूर्वाधारको विकास हुनु हो । यो देशको समृद्धिको मुख्य आधार पनि हो । इतिहास हेर्दै आउने हो भने मानव जातिको आर्थिक तथा सामाजिक विकासमा सडक स्तरोन्नतिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
नेपालजस्तो देश, जहाँ भौगोलिक बनावट हेर्ने हो भने निकै नै कठिन क्षेत्रहरू छन्, तर पनि समयसँगै परिवर्तित विकासले त्यस्ता जोखिम क्षेत्रमा पनि सडकको पहुँच भने कुनै हदसम्म पुग्दै आइरहेको छ र धेरै ठाउँ अझै पनि अन्योलमै छन् । तर, देशमा अझै पनि त्यस्ता ठाउँहरू छन्, जसले गाडी पनि देखेका छैनन् ।
तर प्रश्न उठ्छ, के ती बनेका सडकहरू सुरक्षित र टिकाउ छन् त ? हामीले सधैं देख्दै र भोग्दै आएको कुरा हो, सडकको बेथिति । बर्सातमा सुरु गरिएको त्यो सडक सधैं बर्सातकै समयमा बन्छ र त्यही समयको आसपासमा नै सडक बिग्रिँदै गएको पनि हामीले देख्ने गरेका छौं । अनि अर्को वर्षको बजेटमा फेरि त्यो बनाएर बिग्रिएको सडकका लागि बजेट आउँछ र फेरि फोडेर बनाउन सुरु गरिन्छ । यो एउटा चक्रजस्तै भइसकेको छ ।
अब आयो सडक दुर्घटनाको कुरा, धेरै सडक दुर्घटनाका कुराहरू हामीले समाचारबाट, साथीभाइबाट त कहिलेकाहीँ त हामी आफैंले नै दुर्घटनालाई आफ्नै आँखाअगाडि देखेका छौँ । सडक दुर्घटनाको मुख्य कारणमा पहिलो त हाम्रो सडकको स्थिति, दोस्रो तेज गतिमा कुदाउने चालक, तेस्रो गाडीमा क्षमताभन्दा बढी मानिसको चाप, चौथो चौपाया व्यवस्थापनको समस्या आदि हुन् । यस्तै अरू धेरै कारणले सडक दुर्घटना हुन सक्छ, जसमा बटुवा पनि हुन्छन् । हामीले बटुवालाई बचाउन खोज्दाखेरि भएको दुर्घटना पनि धेरै देखे-सुनेका छौं । साथै अन्य कारणहरूमा पुराना सवारी साधनको प्रयोग, चालकको लापरवाही, सडकको दुरवस्था, कमजोर ट्राफिक नियम तथा फितलो अनुगमन, कमजोर प्रशासनिक निकाय, सवारी प्रयोगकर्ता, यात्रु र सवारी चालकमा ट्राफिक नियमको ज्ञानको अभाव, सडक सुरक्षामा जनचेतनाको कमी, कसुर र सजायमा अस्पष्टता, अव्यवस्थित पार्किङ प्रणाली, ट्राफिक संकेतको अभाव, सडकमा ट्राफिक फर्निसिङ नहुनु, सडक सुरक्षा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको अभावलगायत रहेका छन् ।
विश्व स्वास्थ्य संगठनले सन् २०१८ मा जारी गरेको प्रतिवेदनअनुसार नेपाल संसारकै धेरै दुर्घटना हुनेमा ७६ औं अंकमा छ । प्रतिवेदनले नेपालको सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ हजार १ सय १५ पुगेको जनाएको छ ।
ट्राफिक प्रहरीको वेबसाइटका अनुसार नेपालको २०७२-७३ देखि २०७६-७७ को पछिल्लो पाँच वर्षको दुर्घटनाको विवरणअनुसार १ लाख २६ हजार २१ जना दुर्घटनामा परेका छन्, जसमा गम्भीर दुर्घटनामा १ हजार २ सय ५२ र सामान्य दुर्घटनामा २ लाख ४७ हजार २२ जना रहेका छन् ।
२०७२-७३ मा ५ हजार ५ सय ६८ जनाको दुर्घटना भएकोमा गम्भीर दुर्घटनामा २ सय ७५ र सामान्यमा ३ हजार ९ सय १ जनाको दुर्घटना भएको उल्लेख छ । २०७३-७४ मा ५ हजार ५ सय ३० जनाको दुर्घटना भएकोमा गम्भीर दुर्घटनामा २ सय १ र सामान्यमा ३ हजार ९ सय १४ जनाको दुर्घटना भएको उल्लेख छ । २०७४-७५ मा हजार ३ सय ८१ जनाको दुर्घटना भएकोमा गम्भीर दुर्घटनामा १ सय ९४ र सामान्यमा ४ हजार ३ सय ३३ जनाको दुर्घटना भएको उल्लेख छ । २०७५-७६ मा ८ हजार ५ सय ११ जनाको दुर्घटना भएकोमा गम्भीर दुर्घटनामा २ सय ५४ र सामान्यमा ५ हजार ८ सय ९० भएको उल्लेख छ । २०७६-७७ मा १ लाख ३० जनाको दुर्घटना भएकोमा गम्भीर दुर्घटनामा १ सय ५३ र सामान्यमा ६ हजार ६ सय ८४ भएको उल्लेख छ ।
दुर्घटनाको विवरण हेर्ने हो भने बढ्दो दर धेरै छ । ट्राफिक व्यवस्थापन महाशाखा, २०७६ अनुसार २०७१-७२ मा २ हजार ४ जनाको मृत्यु भएको छ, २०७२-७३ मा २ हजार ६ जनाको मृत्यु भएको छ, २०७३-७४ २ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ, २०७४-७५ मा २ हजर ८७ को मृत्यु भएको छ भने २०७५-७६ मा २ हजार ७ सय ७९ जनाको मृत्यु भएको छ । त्यसैले सरकारले पनि विचारपूर्वक के–कस्ता कदमले दुर्घटना रोक्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्