पर्यटनका प्राकृतिक गन्तव्य बिग्रिँदै «

पर्यटनका प्राकृतिक गन्तव्य बिग्रिँदै

हामीलाई गर्व लाग्छ नेपाल प्राकृतिक रूपमा धनी भएकोमा । यहाँका सेता कञ्चन हिमाल हाम्रो अमूल्य गहना हुन्, जसले हाम्रो पहिचान दिलाएका छन् । त्यही हिमालको हिउँ पग्लेर सलल बग्ने नदीहरूको प्राकृतिक सौन्दर्य पनि कम छैन । यही प्रकृतिले हामीलाई दिएको सुन्दरतामा रमाउन विश्वका कुनाकाप्चाबाट पर्यटक आउँछन् । हाम्रा कञ्चन नदीमा चल्ने -याफ्टिङका लागि वर्षेनी हजारौं पर्यटकको आगमन भइरहेको छ । रोजगारी नपाएर हाम्रा हजारौं युवा जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा पर्यटन व्यवसायले केही हदसम्म स्वदेशमा नै रोजगारी दिने अवसर दिलाएको छ ।
नेपालका पर्यटकीय गन्तव्यमध्ये पछिल्लो समय पर्यटकको गन्तव्य बनेको छ– सुनकोसी र भोटेकोसी नदी । राजधानीबाट नजिक रहेका यी नदीहरू -याफ्टिङका लागि निकै उपयुक्त मानिन्छन् । वर्षेनी सुनकोसी र भोटेकोसीमा जल यात्रा गर्नेहरूको भीड बाक्लिँदै गरेको बताउँछन् पर्यटक व्यवसायीहरू । चीन र नेपालबीचको तातोपानी नाका खुल्ने तयारी पनि भइरहेको छ । जसले गर्दा सिन्धुपाल्चोकबासीहरूमा खुसी पालाएको छ । उनीहरूमा आशा बढेको छ कि पर्यटकीय क्षेत्र अझै सुदृढ हुनेछ र रोजगारीका सम्भावनाहरू आफ्नै जिल्लामा हुने छन् । पर्यटन व्यवसायीहरू पनि तातोपानी नाका खुलेपछि पर्यटक आगमनको संख्या ह्वात्तै बढ्ने बताउँछन् ।
पर्यटकको आकर्षक गन्तव्यमध्ये सुनकोसी र भोटेकासी पनि पर्छन् । यिनै आकर्षक गन्तव्यहरूले अझै थुप्रै सम्भावनाहरू बोक्न सक्छन् पर्यटकीय विकासका । तर प्रकृतिले बरदानस्वरुप दिएको यिनै आकर्षक पर्यटकीय गन्तव्यहरू बिग्रिँदै छन् । नदी दोहन बढिरहेको छ । यी सुन्दर नदीहरू मानिसले नै कुरुप बनाइरहेका छन् । अनियन्त्रित गिट्टप् बालुवा उत्खनन् बढिरहेको छ । एक्साभेटरले नदीजन्य पदार्थ निकालिरहेका छन्  ।

भोटेकोसीः पर्यटकीय महत्व बोकेको नदी
भोटेकोसी नदी चीनको स्वशासित क्षेत्र तिब्बतको भोट भन्ने ठाउँबाट बग्दै आएको हुनाले यसको नाम भोटेकोशी रहन गएको भन्ने विश्वास छ । यो सुनकोशी नदीको सुरु नदी पनि हो । यस नदीलाई दोलालघाटमा इन्द्रावती नदी नमिसिउन्जेल भोटेकोसी नामले चिनिन्छ भने इन्द्रावती नदी मिसिएपछि सुनकोसी नदीले चिनिन्छ । भोटेकोसी नदी नेपालको पर्यटकीय हिसाबले उच्च महत्व बोकेको नदी हो । यस नदीको छेउमा सबैभन्दा माथि तातोपानी कुण्ड रहेको छ । जहाँ बाह्रै महिना काल तातोपानीको धारा बग्ने गर्दछ । तातोपानीमा विशेषगरी हिँउद याममा नुहाउन जाने पर्यटकहरूको लर्को लाग्ने गर्दछ । तातोपानीको धारामा तातोपानीले नुहाएमा विभिन्न चर्म रोग निको हुने विश्वास गरिन्छ ।
भोटेकोसी नदीको अर्को विशेषता भनेको बन्जी जम्प हो । निकै साहसिक खेल मानिने बन्जी जम्पमा खुट्टा र कम्मरमा डोरी बाँधेर झोलुङे पुलबाट तल भोटेकोसी नदीमा हामफाल्ने व्यवस्था गरिएको छ । बन्जी जम्पको लागि नेपाली तथा विदेशी पर्यटक निकै उत्साहका साथ भोटेकोसीमा पुग्ने गर्दछन् । -याफ्टिङ भोटेकोसी नदीको सबैभन्दा महत्वपूर्ण विशेषता अन्तर्गत पर्दछ ।

बिग्रँदै नदीको स्वरुप
पर्यटकीय महत्व बोकेको भोटेकोसी तथा सुनकोसी नदीको स्वरुप बिगँ्रदै गइरहेको छ मानवीय कारणले नै । अनियन्त्रित तरिकाले उत्खनन् भइरहेको छ नदीको बालुवा तथा गिट्टी । नदी वरपर बालुवा नै बालुवाको थुप्रो देखिन्छ त कतै गिट्टीको थुप्रो । जथाभावी क्रसर उद्योगहरू संचालनमा छन् । आजसम्म त कञ्चन बगिरहेको नदी अब निकट भविष्यमा नै धमिलो बग्ने भन्दै चिन्ता व्यक्त गर्दै आइरहेका छन् संरक्षणविद्हरू । समयमा नै नदी उत्खनन् रोक्न सकिएन भने भावी दिनहरूमा यो नदीको अस्तित्व नै संकटमा पर्ने खतरा छ ।

वातावरण विनासले पर्यटन व्यवसायी चिन्तित
पछिल्लो समय बढ्दै गइरहेको नदी उत्खनन्जस्ता क्रियाकलापले पर्यटन व्यवसायीहरू आफ्नो व्यवसाय नै धरापमा पर्ने हो कि भनेर चिन्ता व्यक्त गर्दै आइरहेका छन् । राजधानीबाट ७० किलोमिटको दूरीमा रहेको भोटेकोसी नदीमा वार्षिक ६५ हजार स्वदेशी र २० हजार विदेशी पर्यटक आउने गरेको सिन्धु पर्यटन व्यवसायी संघले बताएको छ । पर्यटकबाट जलयात्रा तथा रिसोर्टहरूमा करिब ११ सय जनाले रोजगारी पाइरहेको संघको भनाइ छ । संघका अध्यक्ष नारायण श्रेष्णका अनुसार पहिला भोटेकोसी नदीमा ४० किलोमिटर दूरीमा -याफ्टिङ गराइन्थ्यो । “नदी क्षेत्रको तिव्र दोहन बढ्यो, खाडीचौरदेखि दोलालघाटसम्म १५ किलोमिटर -याफ्टिङको दूरी खुम्चिएको छ,” उनी भन्छन्, “यो अवस्था बढ्दै जाने हो भने हाम्रो व्यवसाय धरासायी बन्दै जानेछ, हाम्रो नदीको अस्तित्व संकटमा हुनेछ ।”
सन् २०१८ मा नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमनमा उल्लेखनीय वृद्घि भएको छ । नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा पर्यटक आगमनमा हासिल गरिएको वृद्घिले सबैलाई उत्साहित बनाएको छ । नेपाल पर्यटन बोर्डका निर्देशक लिला बानियाँ सन् २०२० सम्ममा पर्यटक आगमन २० लाख पु-याउन प्राकृतिक स्रोत दोहन रोक्न आवश्यक रहेकोमा जोड दिन्छन् ।

अनुगमन र समन्वयको कमी
मापदण्डविपरीत उत्खनन् भइरहेको छ बालुवा–गिट्टी । तर सरकारको ध्यान जान सकेको छैन । अनुगमन गरेर कडाइ रुपमा कार्यान्वयन नगराएसम्म नदी उत्खनन् नरोकिने भन्दै सरोकारवालाहरूले समयमा नै सरकारको ध्यान जान आवश्यक रहेको बताएका छन् । अन्तरसरकारी निकायबीच समन्वयको अभावका कारण उत्खनन् रोकिन सकेको छैन । वन तथा वातावरण मन्त्रालयले प्राकृतिक स्रोतको दोहन रोक्न पहल गर्न खोज्छ । तर, सम्बन्धित जिल्ला प्रशासन कार्यलय, स्थानीय निकायले सहयोग नगर्दा प्राकृतिक दोहन रोकिन नसकेको वन मन्त्रालयले बताउँदै आएको छ । पर्यटन बोर्डले पनि प्राकृतिक सम्पदा उत्खनन्को अनुमति दिँदा पर्यटन बोर्डसँग पनि सहकार्य गर्न आवश्यक रहेको बताएको छ ।

प्राकृतिक स्रोतको दहन रोकिन्छ
शक्ति बहादुर बस्नेत
मन्त्री, वन तथा वातावरण मन्त्रालय
पहिल्लो समय नदी दोहन बढिरहेको छ । अनियन्त्रित तरिकाले गिट्टी बालुवा निकालिएको छ । यसले गर्दा हाम्रा प्राकृतिक सौन्दर्यमा नास भइरहेको अवस्था छ । विकाससँगै वातावरण संरक्षण हुनु आवश्यक छ । विकास र वातावरणलाई सुन्तुलित रुपमा कसरी अगाडि बढाउन सकिन्छ भनेर छलफल हुनु जरुरी छ । ऐनहरु बाझिएका छन् । जसले गर्दा अलिकति असहज भइरहेको छ । छिट्टै नै कार्यदल बनाएर समस्याको समाधान गर्नेछौं ।

वातावरणमैत्री पर्यटन व्यवसाय आवश्यक
लिला बानियाँ
निर्देशक, नेपाल पर्यटन बोर्ड
वातावरणमैत्री पर्यटन व्यवसाय आजको आवश्यकता हो । विकास पनि चाहिन्छ तर वातावरण संरक्षण गर्न सकिएन वा विनास गर्न थालियो भने पर्यटक आगमनमा कमी हुनेछ । किनकी हाम्रा प्राकृतिक मनोरम दृष्यमा रमाउन पर्यटकहरू आउने गर्छन् । यसकारण भोटेकोसी तथा सुनकोसी नदीमा देखिएको नदी दोहन रोक्नुपर्छ । नदीको स्वरुप बिगार्दै जाने हो भने पुरानै स्वरूपमा नदीलाई फर्काउन सकिँदैन । पर्यटन विकासका लागि प्राकृतिक दोहन रोकिनुपर्छ । अन्तरसरकारी निकायहरूबीचको समन्वय बढाउन आवश्यक छ ।

नदी प्रदूषणले पर्यटक घट्न थाले
नारायण श्रेष्ठ
अध्यक्ष, सिन्धु पर्यटन व्यवसायी संघ
साहसिक जलयात्राको दृष्टिले भोटेकोसी विश्वको नै सातौं स्थानमा रहेको भोटेकोशी नदी स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षणको केन्द्र हो । सन् २०२० लाई नेपाल पर्यटकीय भ्रमणको रुपमा मनाउने सरकारको लक्ष्य पूरा गर्न सहयोग पु-याउने छ । भोटेकोसी तथा सुनकोसी नदीमा जलयात्रा गर्नेहरूको भिड हुन्थ्यो । तर पछिल्लो समय बढेको नदी प्रदूषणका कारण दिनानुदिन पर्यटकहरूको संख्या घटेको छ । नदीमा जथाभावी उत्खनन् बढिरहेको छ । मापदण्ड विपरीत बालुवा प्रशोधन गर्नाले नदी धमिलो हुने गरेको छ । जथाभावी रुपमा प्रयोग भएको डोजर तथा स्काभेटरका कारण भू–क्षय बढिरहेको छ । यस्तै अवस्था रहने हो भने हाम्रो पर्यटन व्यवसाय पनि धरासयी बन्दै जाने छ ।

नदीको हालत बिग्रँदै छ
मेघ आले
नदी संरक्षण अभियानकर्ता
पर्यटक भित्र्याउने लक्ष्य राखे पनि बेवास्ता गरेर तीव्र दोहन अधिकार दिइएको छ । नदीको अवस्था बिग्रिएको छ । प्रदूषण बढिरहेको छ तर सम्बन्धित निकायको ध्यान जान सकेको छैन । नेपालमा पर्यटन विकासबाट आर्थिक सम्भावनाहरू प्रशस्त छन् । यदि प्राकृतिक स्रोतको दोहन बढ्दै जाने हो भने पर्यटकहरू घट्न सक्छन् । समयमा नै सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्