बाढीको उच्च जोखिममा गरिब : विश्व बैंक «

बाढीको उच्च जोखिममा गरिब : विश्व बैंक

विश्व बैंकको एक अध्ययनले गरिबहरु बाढीको उच्च जोखिममा पर्ने देखाएको छ ।
बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपालको २० देखि ३० प्रतिशत जनसंख्या बाढीको उच्च जोखिममा परेका छन् । यसमध्ये अधिकांश गरिबीको रेखामुनी रहेका प्रतिवेदनमा उल्लेख छ । कोरोना महामारीका कारण गरिबीको रेखाबाट माथि उक्लन लागेको जनसंख्या पनि तल झरिरहेको बेला बाढीका कारण गरिबीको रेखामुनि रहेको जनसंख्या झन् बढ्ने विज्ञहरुको चिन्ता छ ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्मा गरिबीको रेखामुनि रहेको अधिकाशं जनसंख्या बाढी पहिरोको जोखिममा रहेको बताउँछन् । ‘सानो खेतीयोग्य जमिन छ भनेपनि बाढी पहिरो आउने ठाउँमा पनि बस्ती बसाएर खेतीपाती सुरु गर्छन्,’ उनी भन्छन्, ‘किनकि सानो आयका लागि मात्रै भए पनि उनीहरु ठूलो जोखिम मोल्न तयार हुन्छन् । यो उनीहरुको विवशता पनि हो ।’
खोला किनारमा पानीको सुविधा हुने, समथर भूभाग हुने र खेतियोग्य जमिन हुने भएकाले पनि कम आय भएका मानिस नदी किनारमा बस्न रुचाउने शर्माको तर्क छ । ‘नदीनाला नजिक भएका अधिकांश बस्तिहरु गरिबीको रेखामुनि रहेकै व्यक्तिहरुको हुने गरेका छन्,’ उनी भन्छन्, ‘बास बस्नका लागि तथा जीपनयापनका उनीहरु जोखिम मोल्न तयार हुन्छन् ।’
सहरी इलाकाहरु जस्तै– बुटवलको तिनाउ खोला किनार, काठमाडौंको बागमति, विष्णुमति तथा हनुमन्ते खोला या अन्य कुनै ठाउँमा हेर्दा पनि त्यहाँ सुकुम्बासी बस्तिहरु नै बस्ने गरेको उनी बताउँछन् । ‘सहरी इलाकामा जग्गा लिएर घर बनाउन त निकै गाह्रो हुन्छ,’ उनी भन्छन्, ‘अरुको घरमा बास बस्न जाँदा पनि भाडा तिर्न सक्दैनन् । त्यसैले नदी किनारको जग्गाहरु ओगटेर बसिरहेका हुन्छन् । जसले जोखिम बढाउँछ ।’
संसारभर १ अर्ब ४७ करोड जनसंख्या बाढीको जोखिममा पर्दै गर्दा झण्डै ५८ करोड ६८ लाख जनसंख्या गरिबीको रेखामुनी रहेको प्रतिवेदनले उल्लेख गरेको छ । जुन गरिबीको रेखामुनि रहेको जनसंख्याको ३७.८ प्रतिशत हो । विश्व बैंकका अनुसार अहिले २ अर्ब ९८ करोड जनता गरिबीको रेखामुनि रहेका छन् ।
विश्व बैंकले नेपालसहित १ सय ८९ वटा देशको अध्ययन गरेको थियो । जसमा संसारको १९ प्रतिशत जनसंख्या अर्थात् १ अर्ब ४७ करोड जनसंख्या बाढीको जोखिममा देखिएका छन् । जसमध्ये दक्षिण तथा पूर्व एसियामा मात्रै सबैभन्दा धेरै अर्थात् १ अर्ब ३६ करोड जनसंख्या बाढीको उच्च जोखिममा रहेको पाइएको छ । विश्व बैंकको प्रतिवेदनका अनुसार बाढीको जोखिममा रहेको जनसंख्याको ८९ प्रतिशत जनता न्यून तथा मध्य आय भएका देशमा बस्दै आएका छन् । त्यसमा पनि १३ करोड २० लाख जनसंख्या अति गरिब रहेका छन् ।
विश्व बैंकले अत्यन्त गरिब भनेर प्रतिदिन १.९० डलर आम्दानी (क्रय शक्ति क्षमता ‘पिपिपी’का आधारमा) गर्ने जनसंख्यालाई राखेको छ । भारतको ३ करोड ५० लाख जनसंख्या जो अति गरिब छ, त्यो जनसंख्या बाढीको उच्च जोखिममा रहेको प्रतिवेदनले देखाएको छ । दोस्रोमा नाइजेरिया छ ।
योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री पनि जग्गाको अभावमा गरिबहरु जोखिम मोलेर खोला किनारमा बस्न बाध्य भएका कारणले समस्या आएको बताउँछन् । ‘सुकुम्बासी तथा आफ्नो जिल्लाबाट विस्थापित भएका मानिस नै बढी खोलाको किनारमा बसेका हुन्छन्,’ उनी भन्छन्, ‘त्यस्तो ठाउँमा बस्ने भएपछि जोखिममा पर्नु त सामान्य कुरा नै हो ।’
त्यस्तै जग्गा अभावमा पहाडमा भिर पाखाहरुमा टहरा बनाएर बस्ने गरेका कारण पनि वर्ष हुने वित्तिकै जोखिम बढ्दै जाने उनको तर्क छ । अर्को सुरक्षाको पनि कारण रहेको उनी बताउँछन् । ‘धितोमुखी बैंकिङ प्रणाली भएकाले भौतिक संरचना निर्माण गर्नका लागि गरिबले ऋण पनि पाउँदैनन्,’ उनी भन्छन्, ‘जसका कारणले कच्चा घर बनाएर बस्दा सानो बाढी आउँदा नै जोखिम बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्