बहुउद्देश्यीय सहकारीमार्फत २ खर्ब परिचालन «

बहुउद्देश्यीय सहकारीमार्फत २ खर्ब परिचालन

बहुउद्देश्यीय सहकारीले २ खर्ब रूपैयाँ निक्षेप परिचालन गरेका छन् । सञ्चालनमा रहेका ४ हजार बहुउद्देश्यीय सहकारीले गत आर्थिक वर्षसम्ममा २ खर्ब निक्षेप संकलन गरी सोही हाराहारीमा कर्जा लगानी गरेका हुन् ।
बहुउद्देश्यीय सहकारीहरूको छाता संगठन नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले २५ अर्ब भन्दा बढीको पुँजी रहेको बहुउद्देश्यीय सहकारीले बचत ऋणका साथै विभिन्न उत्पादन तथा सेवामूलक उद्योगमा लगानी गरेको बताए । संघको साधारणसभामा प्रतिवेदन पेश गर्दै उनले सहकारीमा संकलन भएको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने वातावरण बनाउन आग्रह गरे ।
संघको २०७५–२०७९ को (चार वर्षिय) रणनीतिक योजना सार्वजनिक गर्दै उनले सहकारी सदस्यता अभियान, पुँजी, बचत ऋण कारोबार तथा लगानीमा वृद्धि, सेवा प्रवाह–परामर्श, तालिम, सफ्टवेयर, कागजात सेवामा अभिवृद्घि, मानव स्रोत व्यवस्थापन तथा अभिवृद्धि, पूर्वाधार विकास, संस्थागत सुशासन, सूचना प्रविधि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।
साधारणसभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव वडालले मुलुकमा सहकारीले गरेको योगदानले देशमा आर्थिक समृद्धि भएको बताए । सभामा पूर्वमन्त्री एवं प्रदेश–३ सांसद राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय योजना आयोग तथा व्यवस्थापन विज्ञ जनक शाह, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली, ग्लोबल सदस्य एवं अन्तर्राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ल, सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले शुभकामना व्यक्त गरेका थिए ।
संघले साधारणसभामा आर्थिक वर्ष २०७५-७६ को योजना सार्वजनिक गरेको थियो । सदस्यता वृद्धि गर्ने, मुलुकभर सञ्चालित बहुृउद्देश्यीय सहकारी संघ-संस्थाको वास्तविक तथ्यांक संकलन गर्ने, प्रारम्भिक सहकारी संघ-संस्थाहरू, विषयगत जिल्ला संघ र प्रदेश संघहरूका लागि केन्द्रीय संघ मार्फत व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न तथा सहकारी शिक्षासम्बन्धी तालिम प्रदान गर्न सरकार लगायत सरोकारवाला निकायसँग प्रस्ताव पेश गरी अनुदान माग गर्ने रहेका छन् ।
प्रारम्भिक सहकारी संस्थालाई एक आपसमा समायोजन (मर्ज) गर्न प्रोत्साहन गर्ने, प्रत्येक जिल्लामा जिल्लास्तरीय संघ गठन गर्न विशेष पहल गर्ने, ७ वटै प्रदेशमा प्रदेश संघ गठन गर्ने, विशिष्टिकृत संघ गठन गरी मेघा परियोजना सञ्चालन गर्ने, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कार्यविधि तयार गर्न बहुउद्देश्यीय सहकारी संस्थालाई सहयोग गर्ने, अर्थ, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र सहकारी विभागले जारी गर्ने निर्देशनहरूको परिमार्जन गर्न पहल गर्ने, सम्पत्ति शुद्धिकरण निर्देशिका २०७५ संशोधन गर्न पहल गर्नेलगायतका योजना सार्वजनिक गरिएको थियो । तीन वर्षअघि स्थापित नेपाल बहुउद्देश्यीय सहकारी संघअन्तर्गत १२ संघ २ सय ४७ संस्था आबद्ध छन् । संघअन्तर्गत ३६ जिल्लामा जिल्ला कार्यालय रहेका छन् । संघले २०७५ भदौ १ गते काठमाडौंको न्यूरोडमा सदस्य सुविधा काउण्टर सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्