पर्यटन पुनरुत्थान गर्न खोपको विकल्प छैन
कोरोना महामारीका कारण विश्वभर पर्यटन व्यवसाय ठप्प भयो । बन्दाबन्दीका कारण पर्यटन व्यवसायमात्र होइन, व्यक्तिगत तथा व्यावसायिक कामका लागि पनि भ्रमण हुन सकेनन् । मानवजातिको गतिशीलतामा नै नकारात्मक प्रभाव पारेको कोरोनाको उपचार भनेको हालसम्म विश्व बजारमा आएको खोप नै हो । हुन त खोपको प्रभावकारितामा पनि प्रशस्त प्रश्न उठेका छन् । तर पनि हालसम्मका लागि कोरोनासँग लड्ने हतियार खोप नै भएको तथ्य विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यसैले सामाजिक जीवनलाई सहजीकरण गर्न तथा व्यक्तिगत एवं व्यावसायिक भ्रमणमा हाल खोपको अनिवार्यता मानिएको छ ।
यसैगरी पर्यटनको पुनरुत्थानका लागि पनि खोपको कुनै विकल्प छैन । कोरोना कहरका कारण गत करिब दुई वर्षदेखि थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फिर्ता हुन अर्को कुनै विकल्प छैन । विश्वका सरकारहरूले जति छिटो आफ्ना शतप्रतिशत जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप लगाउन सक्छन्, त्यति नै छिटो पर्यटन पुनरुत्थान हुन्छ । त्यसैले नेपालले पनि आफ्ना शतप्रतिशत नागरिकलाई खोप लगाएर यसको प्रचार गर्न सके नेपालमा पर्यटक आगमन हुनसक्ने पर्यटन व्यवसायीहरूको भनाइ छ । पूर्ण मात्रामा खोप लगाएको सुनिश्चित गरेर नेपाल तथा नेपालका पर्यटकीय क्षेत्र सुरक्षित भएको सकारात्मक सन्देश विश्वमा प्रवाहित गर्न सकेको खण्डमा पर्यटक आगमन नेपालमा बढाउन सक्ने पर्यटन व्यवसायीहरूको आंकलन गलत भने होइन ।
कारण संसारभर नै दोस्रो खोप पूरा गरेकालाई क्वारेन्टाइन नबसी सीधै गन्तव्यमा जाने वातावरण बनेको छ । नेपालमा पनि चितवन र पोखराजस्ता प्रमुख पर्यटकीय गन्तव्यहरूमा खोप लगाउने गृहकार्य भइरहेको छ, जसका कारण आन्तरिक पर्यटकहरूको पहिलो भ्रमण रोजाइ ती गन्तव्य पर्ने कुरामा कुनै शंका छैन । त्यसैले पनि सरकारले पर्यटन क्षेत्रका गन्तव्यमा कोभिड–१९ विरुद्धको खोप पूरा गरी ती गन्तव्यलाई प्रचार गर्दा आगामी सिजनका लागि ४० प्रतिशतसम्म पर्यटक ल्याउन सकिने विश्वास छ ।
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को एक प्रतिवेदनका अनुसार कोभिडले नेपालको पर्यटनमा २ लाख ३० हजारको रोजगारी जोखिममा परेको, २० हजार टुर र ट्रेकिङ गाइडहरू बेरोजगार भएको र २ हजार ६ सय ट्रेकिङ एजेन्सीमा असर पर्दा करिब ५३ करोड अर्थात् ४ सय ६० मिलियन डलरबराबरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) गुमाएको उल्लेख गरेको छ । त्यसैले अर्थतन्त्रमा परेको नकारात्मक असरलाई कम गर्न पनि खोपको विकल्प छैन । पछिल्लो समय केही पर्यटकीय गन्तव्यका स्थानीय प्रशासन सक्रियतापूर्वक खोप लगाउने अभियानमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २० लाख २ सय ११ ले सोमबारसम्म पूर्ण खोप लागाएका छन् भने आंशिक खोप लगाउने नेपालीको संख्या ४१ लाख ६३ हजार २ सय ५१ छ, जुन संख्या युद्धस्तरमा बढाउनुपर्ने दबाब सरकारमाथि छ । यसै क्रममा हिमाली जिल्ला मनाङमा १८ वर्षमाथिका सबै नागरिकले खोप पाएका छन्, जुन सुखद समाचार हो ।
मनाङ जिल्लामा हाल कोरोना संक्रमण भएका बाहेक खोप लगाउन योग्य सबै व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनाङका लागि आवश्यक पर्याप्त खोप उपलब्ध गराएर जिल्लाका चारवटै स्थानीय तहमा विभिन्न चरणमा खोप अभियान सुरु गरी सबै नागरिकलाई खोप सेवा उपलब्ध गराएको हो । यसबाट अन्य जिल्ला तथा प्रदेशले पनि सिक्न आवश्यक छ । स्थानीय सरकार तथा प्रदेश सरकारको सहकार्यमा मात्र स्थानीय स्तरमा सक्रियतापूर्वक खोप अभियान सञ्चालन गर्न सकिन्छ । मनाङका ४ हजार १ सय ९८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएका कारण यस जिल्लामा भ्रमण गर्न खोप लगाएका आन्तरिक पर्यटकलाई निम्ता दिन सकिन्छ, जसका कारण आन्तरिक पर्यटनको सुरुवात हुन्छ र बिस्तारै यसले अर्थतन्त्र चलायमान बनाउन सघाउ पु¥याउँछ । मनाङकै सिको गरेर अन्य जिल्लाले पनि पूर्ण खोप अभियान सञ्चालन गरी अन्तरिक पर्यटन बढाउन ढिला भइसकेको छ । यसमा स्थानीय तथा प्रदेश सरकारको ध्यान जाओस् ।