जौपानीका महिला सामूहिक आलु खेती «

जौपानीका महिला सामूहिक आलु खेती

दमौली-तनहुँको भिमाद नगरपालिका–९, जौपानीका महिलाले सामूहिक आलु खेती सुरु गरेका छन् । गत वर्षसम्म व्यक्तिगतरुपमा खेती गर्दै आएका यहाँका महिलाले पुसको दोस्रो सातादेखि सामूहिक आलु खेती सुरु गरेका हुन् । जौपानी आमा समूहमा आबद्ध २० महिलाले आठ रोपनी क्षेत्रफलमा सामूहिक आलु खेती सुरु गरेको स्थानीय लक्ष्मी क्षेत्रीले जानकारी दिइन् ।
आमा समूहमा आबद्ध महिलाको जग्गामा नै सामूहिक आलु खेती सुरु गरिएको उनले बताइन् । उनका अनुसार यस ठाउँमा ५ सय ५० केजी आलुको बीउ रोपिएको छ । “गत वर्षसम्म एक्लाएक्लै आलु खेती गर्दै आएका थियौं, सामूहिक रुपमा खेती गर्दा सजिलो हुने थाहा पाएपछि पहिलो पटक सामूहिक रुपमा आलु खेती शुरु गरेका हौं,” उनले भनिन् । भिमाद नगरपालिकाले सामूहिक आलु खेतीका लागि प्राविधिक सहयोगसमेत गरेको छ ।
सामूहिक आलु खेती गर्दा काममा समेत सहजता हुने क्षेत्रीले बताइन् । “कसैले मल बोक्ने, कसैले डल्ला फोर्ने गर्दा रमाइलोको साथै काम गर्नसमेत सहज हुने रहेछ,” उनले भनिन् । भिमाद नगरपालिका–९ का वडाअध्यक्ष इमान थापाले सामूहिक आलु खेतीका लागि नगरपालिकाले बीउ खरिदमा एक लाख रुपैयाँ सहयोग गरेको जानकारी दिए ।
यसैगरी तनहुँको म्याग्दे गाउँपालिकाका महिला समेत सामूहिक आलु खेतीतर्फ आकर्षित भएका छन् । म्याग्दे गाउँपालिकास्थित जामुने, धयरे, थर्पु, मनहरि, शेराफाँट र छाङपाटनमा महिलाले सामूहिक आलु खेती गरेका छन् । म्याग्दे गाउँपालिका–३ धयरेका शोभा अधिकारीले सामूहिक आलु खेती गर्दा सजिलो हुने गरेको बताइन् ।
गाउँपालिकाभित्रका ४ सय ५० जना महिलाले २ सय ६० रोपनी क्षेत्रफलमा सामूहिक रुपमा आलु खेती गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् । गाउँपालिकाले सामूहिक आलु खेतीका लागि प्राविधिक सहयोग र बीउमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको उनले बताइन् ।
“गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन यो कार्यक्रम अगाडि सारेका थियौं, एक वर्षको अवधिमा यो प्रभावकारी देखिएको छ,” उनले भनिन् । उनका अनुसार तीन वर्षभित्र गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्