‘गाडी किन्न सस्तो, गरिबलाई महँंगो ब्याज किन ?’ «

‘गाडी किन्न सस्तो, गरिबलाई महँंगो ब्याज किन ?’


अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूले गाडी किन्न दिने कर्जा सस्तो र गरिबलाई कृषिका लागि दिने कर्जा महँंगो भएको भन्दै आपत्ति जनाएका छन् ।
राष्ट्रिय सहकारी बैंकको स्थापना दिवसको अवसरमा आयोजित सहकारीमा लघुवित्त सम्मेलनमा बोल्दै उनले ब्याजदरको असमानतालाई हटाउनुपर्ने आवश्यक्ता औंल्याए । “धनीले घरगाडी किन्नका लागि लिने कर्जाको ब्याजदर सस्तो तर गरिबले खेती गर्न लिने ब्याजदर महँंगो किन ?” मन्त्री शर्माले भने, “बैंकहरूको ब्याजदरमा देखिएको यो असमानता अब सच्याउनुपर्छ ।”
हाल बैंक तथा वित्तीय संस्थाहरूले लागत र जोखिम कम हुने भएकाले ग्रामीण क्षेत्रमा दिने कृषि कर्जाको तुलनामा घरतथा गाडी खरिद गर्न दिने कर्जाको ब्याजदर सस्तो गर्दै आएका छन् ।
मन्त्री शर्माले सहकारी र लघुवित्त संस्थाहरूले सुलभ र सस्तो ब्याजदरमा ऋण लगानी गर्नुपर्ने बताउँदै यसका लागि सरकारले सहकार्य गर्ने समेत उल्लेख गरे । हाल सरकारले कृषिका साथै महिला उद्यमी, वैदेशिक रोजगारबाट फर्केका युवालाई ब्याज अनुदान दिएर सहुलियत ब्याजदरमा कर्जा दिने व्यवस्था गरेको छ । तर, बाणिज्य बैंकहरूले मात्र यो कर्जा लगानी गर्न पाउने व्यवस्थाका कारण वास्तविक ऋणीको पहुँचमा पुग्न नसकेको गुनासो सर्वसाधारणको छ ।
नेपाल राष्ट्र बैंकले भने सहुलियत कर्जाको पहुँच बढाउनका लागि प्रतिशाखा १० वटा सहुलियत कर्जा लगानी गनैपर्ने बाध्यकारी व्यवस्था गरेको छ । जसका कारण कतिपय यो कर्जा दुरुपयोगसमेत हुने गरेको आशंका छ ।
कार्यक्रममा मन्त्री शर्माले ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएकाहरू लगायतले पाउने सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्ने व्यवस्था गरिए पनि सहज रुपमा पाउन नसकेको भन्दै यसलाईै सहज रूपमा वितरण गर्ने प्रणालीबारे छलफल भइरहेको जानकारी दिए । त्यसका लागि सहकारी तथा लघुवित्त क्षेत्रलाई समेत परिचालन गर्न सकिने उनले बताए । उनले सहकारी संघसंस्थालाई नाफामा प्रतिस्पर्धा नगरी रोजगारी वृद्धि, गरिबी न्यूनीकरण र उत्पादनमुखी अर्थव्यवस्था बढाउने काममा प्रतिस्पर्धा गर्न सुझाव दिए ।
कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार लिलानाथ शर्माले मुलुकको गरिबी निवारणमा सहकारी क्षेत्रको राम्रो सम्भावना रहेको बताए । एसिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरूको विकासका लागि संजाल (नेडाक) का अध्यक्ष सन्दिप नायकले नेपालको सहकारी अभियानलाई वित्तीय तथा प्रविधिका क्षेत्रमा सक्षम बनाउनका लागि राष्ट्रिय सहकारी बैंकसँंग समन्वय गरेर काम गरिरहेको जानकारी दिए ।
लघुवित्त विज्ञ शंकरमान श्रेष्ठले सहकारीमार्फत लघुवित्त मोडल प्रभावकारी हुने बताए । सहकारीमा स्वामित्व सदस्यहरूकै हुने र यिनीहरू समुदायमा आधारित हुने भएकाले यसमार्फत लक्षित वर्गमा सेवा पु-याउन सकिने उनको भनाइ थियो ।

बडाललाई सहकारी अभियन्ता सम्मान
यसैबीच सहकारी बैंकले सहकारी अभियन्ता सम्मानबाट राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडाललाई सम्मान गरेको छ । यसैगरी बैंक स्थापना दिवसकै अवसरमा सहकारी बैंक पूर्वसञ्चालक सम्मान डिल्लीराम तिवारी, सहकारी बैंक विद्वता पुरस्कार डा. नवराज सिंखडा र सहकारी बैंक पत्रकारिता पुरस्कार नेपाल सहकारी पत्रकार समाजकी कोषाध्यक्ष तथा नेपाल समय अनलाइनकी पत्रकार शर्मिला ठकुरीलाई प्रदान गरिएको छ ।
वार्र्षिकोत्सवका अवसरमा बैंकको आयोजनामा सहकारीमा लघुवित्त सम्मेलनसमेत आयोजना गरिएको छ । सम्मेलनमा सहकारी संस्थामार्फत भइरहेको लघुवित्त सेवाको मोडलबारे र यसका चुनौतीबारे छलफल हुनेछ । सम्मेलनले सहकारीमा लघुवित्तका लागि छुट्टै मोडल तय गर्नका लागि आधार तय हुने बैंकका सञ्चालक महेन्द्र गिरिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्