भैरव माविमा अपांगमैत्री भवन «

भैरव माविमा अपांगमैत्री भवन

जुम्ला-सिंजा गाँउपालिका–३ स्थित भैरव मावि नराकोटमा अपांगमैत्री भवन निर्माणपछि दृष्टिविहीन विद्यार्थीलाई सहज हुने भएको छ । दृष्टिविहीन विद्यार्थीका लागि छात्रावास तथा जुम्ला जिल्लाकै नमुना अपांगमैत्री र भूकम्प प्रतिरोधि भवन नराकोटमा निर्माण भइरहेको हो । झण्डै एक करोड लागतमा मैत्रीपूर्ण भवन निर्माण गर्न लागिएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोग तथा किर्डाक नेपालको सहजिकरणमा भवन निर्माण कार्य ९५ प्रतिशत सकिएको छ । जुम्लामै नमुना आवासीय भवन निर्माण भएपछि सरोकारवालाले प्रसंशा गरेका छन् । मंगलबार सरोकारवाला निकायले भवनको संयुक्त अनुगमन गरेपछि यसलाई जुम्लाकै नमुना भवन भनिएको छ । जुम्लाका जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्कीले भवन अत्यन्तै प्रतिरोधि र अपांगमैत्री भएकोले दृष्टिविहीन विद्यार्थीलाई बहुउपयोगि हुने बताए ।
यसअघि भैरव माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई विद्यालयमै अपांगमैत्री भवन नहुँदा सकस भएको थियो । उनीहरुका लागि विद्यालयदेखि झण्डै एक किलोमिटर टाढा छात्रावासको व्यवस्था गरीएको थियो । वर्षाको खोला तथा दैनिक भिरपाखामै हिँडेर दृष्टिविहीन विद्यार्थी विद्यालय आउजाउ गर्थे ।
सधैं टाढाबाट सहयोगिको भरमा विद्यालय पुग्नुपर्ने र विद्यालयमा अपांगमैत्री शौचालय तथा वातावरण नहुँदाको निकै सकस उनीहरुले भोग्दै आएका थिए । अपांगमैत्री भवन निर्माण भएपछि विद्यार्थीहरु निकै खुसी एका छन् ।
भवन निर्माणमा खटिएका सिभिल इन्जिनियर शेरबहादुर शाहीले दृष्टिविहीन विद्यार्थीले भोग्नुपरेका यसअघिका दुःख अब अन्त्य हुने बताए । उनले भने, “भवनभित्र विद्यार्थीका लागि पर्याप्त कोठा तथा सहज एट्याच बाथरुमको व्यवस्था छ । यसले गर्दा उनीहरुलाई सहज हुनुका साथै पढ्ने मनोबल बढ्नेछ ।”
छात्रावासका लागि ११ कोठा र शौचालयहरु बनाइएका छन् भने तातोका लागि जिप्सन बोर्ड राख्ने तयारी भैरहेको छ । भूकम्प प्रतिरोधि उक्त भवनका पिलर जमिनमुनि ६ फिट गाडिएका छन् । किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशम शाहीले भवन निर्माणका क्रममा प्राविधिकहरुलाई प्रत्यक्ष फिल्डमै बसालेर कुनैपनि कमजोरी रहन नदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्