डा. केसीको समर्थनमा वृद्धवृद्धाको -याली «

डा. केसीको समर्थनमा वृद्धवृद्धाको -याली

इलाम-१६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको मागप्रति समर्थन गर्दै इलाममा जेष्ठ नागरिकहरुले -याली निकालेका छन् । डा. केसीले नेपाली जनताका पक्षमा राखेका मागको चाँडोभन्दा चाँडो सम्बोधन गर्न सरकार तयार रहनुपर्ने भन्दै उनीहरुले -याली निकालेका हुन् । -यालीको नेतृत्व ८५ वर्षिय तोयानाथ भट्टराईले गरेका थिए ।
डा. केसीको अभियानमा समर्थन जनाउँदै सत्याग्रहस्थल फूलगाछीबाट चोकबजार हुँदै मालापथ भएर -याली पुनः चोक बजार पुगेर कोणसभामा परिणत भएको थियो । चोकबजारमा आयोजित कोणसभामा सम्बोधन गर्दै नेकपाका नेता भूमि ढुंगानालगायतले डा. केसीले उठाएका माग पूरा गराउन नागरिक खबरदारी र दबाब आवश्यक रहेको बताए ।
इलाममा डा. केसीको समर्थनमा दैनिक रुपमा -याली र कोण सभा भइरहेका छन् । उनको पक्षमा महिला, युवा तथा वृद्धवृद्धाहरुले समर्थन गर्दै आएका छन् । आइतबार केसी पक्षका वार्ता टोली संयोजक डा. अभिशेक सिंहसमेत इलाम आएका छन् । साथै केसीको पक्षमा ओम साई अस्पताल झापाबाट भरत तिम्सिनासहितको एक टोली इलाम आएर स्वास्थ्य जाँचसहित समर्थन गरेको छ ।
पाँचौं दिनसम्म आउँदा डा. केसीको छातीमा समस्या आएको जिल्ला अस्पतालका चिकित्सक टोलीले बताएको छ । उनको स्वास्थ्यमा दिनानुदिन समस्या थपिएको स्वाथ्य जाँचमा खटिएका चिकित्सक रामकृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार डा. केसीको दाहिनेतिरको फोक्सोमा पानीको मात्रा कम भएका कारण संक्रमण बढेको छ । उनको पिसाबसमेत कम आएको र छातिमा संक्रमण भएको डा. आचार्यले बताए ।
उनको स्वास्थ्यमा अझ समस्या भए अस्पतालमा सार्ने तयारी भएको पनि उनले जानकारी दिए । भूइँमा बसेका डा. केसीलाई पछिल्लो समय बेडमा राखिएको छ । केसीको रक्तचाप र ग्लुकोजको मात्रा दिनैपिच्छे घटिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्