चिनीमा ८ रुपैयाँसम्म मूल्यवृद्धि प्रस्ताव «

चिनीमा ८ रुपैयाँसम्म मूल्यवृद्धि प्रस्ताव

लागत बढेकाले मूल्य बढाउने प्रस्ताव गरेका हौंः उद्योगी
सरकार र उद्योगीको मिलेमतोमा मूल्यवृद्धिः उपभोक्ता अधिकारकर्मी

बजारमा चिनीको मूल्य एकैपटक वृद्धि भएको छ । उत्पादन लागत बढेको भन्दै उद्योगीले प्रतिकेजी चिनीमा पाँचदेखि आठ रुपैयाँसम्म मूल्यवृद्धि गरेका हुन् ।
नेपाल चिनी उद्योग संघले चिनीको कारखाना मूल्य ७८ रुपैयाँ १० पैसा हुनेगरी त्यसको हिसाब सरकारी निकायमा बुझाएको छ । यो मूल्य कायम गर्न सरकारले स्वीकृति दिए चिनीको प्रतिकिलो बजार मूल्य १ सय रुपैयाँसम्म पुग्ने देखिन्छ ।
उखुको समर्थन मूल्य र लागत खर्च बढेको देखाउँदै उद्योगीले चिनीमा अस्वाभाविक मूल्यवृद्धि प्रस्ताव गरेका हुन् । चालू वर्षमा पनि चिनी आयातमा प्रतिबन्ध लगाउँदा अस्वाभाविक रूपमा मूल्य बढेको थियो । चाडबाडका बेलामा यस्तो निर्णय गरेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।
सरकारले उखुको समर्थन मूल्यमा प्रतिक्विन्टलमा ५ रुपैयाँ वृद्धि गरेर ५३६ रुपैयाँ कायम गरेको भन्दै उद्योगीले पुरानो मौज्दात चिनीमा मूल्य बढाएर कालोबजारी गरेका छन् । दसैंको बेला ७० रुपैयाँभन्दा बिक्री गर्न नपाउने निर्णय गरेको सरकारले अहिले आएर उद्योगीले मूल्य बढाउन प्रस्ताव गर्दा भने मौन देखिन्छ । व्यापारीले गत वर्ष सस्तो मूल्यमा चिनी आयात गरेकाले स्वदेशी चिनी बिक्री हुन सकेको थिएन ।
सरकार र उद्योगीको मिलेमतोमा चिनीमा मूल्यवृद्धि गरिएको भन्दै उपभोक्ता अधिकारकर्मीले विरोध जनाएका छन् । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन मौज्दात चिनीमा मूल्य बढाएर उद्योगीले सिधै कालोबजारी गरेको आरोप लगाए । उनले बजार नियन्त्रण गर्नका लागि सरकारले आफैं चिनी बिक्री गर्नुपर्ने धारणा राखे ।
चालू वर्ष सरकारले उखुको समर्थन मूल्य प्रतिक्टिलमा पाँच रुपैयाँ बढाएर ५ सय ३६ रुपैयाँ रुपैयाँ छ । गत वर्ष उखुको समर्थनमूल्य प्रतिक्विन्टल ५ सय ३१ रुपैयाँ थियो । सस्तो मूल्यमा चिनी आयात भइ स्वदेशी उत्पादनले मूल्य नपाएको भन्दै सरकारले गत असोजदेखि चिनीको आयातमा परिमाणात्मक बन्देज लगाएको थियो ।
राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना पनि सरकार र उद्योगीको मिलेमतोमा चिनीको मूल्यवृद्धि गर्दा उपभोक्ता मारमा पर्ने गरेको बताउँछन् । “अहिले नै प्रतिकेजी पाँचदेखि आठ रुपैयाँ मूल्य बढिसकेकोे छ,” उनले भने, “बजारमा चिनीको होलसेल मूल्य नै ७८ रुपैयाँ पुगेको छ ।” चिनीमा मूल्य गरिएको मूल्य वृद्धिमा सरकार निर्णय भएको उनको भनाइ छ । बजारमा खुद्रा मूल्य ९० रुपैयाँभन्दा बढी पुग्ने हुँदा त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने उनको भनाइ छ ।
नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवाल भने चिनीको लागत मूल्य बढेकाले प्रतिकेजी पाँच रुपैयाँ मूल्यवृद्धिको प्रस्ताव गरिएको बताउँछन् । “चालू वर्षमा पनि हामीले घाटा खाएर चिनी बिक्री गरेका थियौं, अग्रवालले भने, “उखुको मूल्यवृद्धि हुँदा बाध्य भएर चिनीको मूल्यवृद्धि प्रस्ताव गरेका हौं ।” वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन नयाँ र पुरानो चिनी छुट्याउन नसक्दा बजार अनुगमन गर्न कठिन हुने बताउँछन् । संसद्को सार्वजनिक लेखा समितिले गत असोजमा प्रतिकेजीमा ६३ रुपैयाँ भन्दा बढी मूल्य वृद्धि नगर्न सुझाव दिएको थियो । यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि प्रतिकेजी ७० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री नगर्न निर्देशन दिएको छ ।
मुलुकमा वार्षिक २ लाख ५० हजार देखि ८० हजार मेट्रिक टन चिनी खपत हुने गर्छ । जसमध्ये १ लाख २० हजार मेट्रिक उत्पादन हुने गर्छ । स्थानीय उत्पादनले ४० प्रतिशत माग धान्ने र बाँकी ६० प्रतिशत चिनी बाहिरबाट आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्