न पुग्छन् किसान, न पाइन्छ सामान «

न पुग्छन् किसान, न पाइन्छ सामान


इलाम सन्दकपुर गाउँपालिकाका ३ का कोषराज खतिवडा एक दशक अघि यस सिजनमा मटरको हरियो कोषा बोकेर जौबारी गएको स्मरण गर्दै भन्छन्, “जस्ता दिन पनि भोगियो, सानो चहल पहल हुन्थ्यो त जौबारीमा ?” हरियो मटर बेचेर खाद्यान्न ल्याउने उनी मात्र हैन । त्यस क्षेत्रका धेरै स्थानीयको गुजारा त्यसैगरी बित्थ्यो । उत्पादित वस्तु जौबारी पु¥याउने र दैनिक उपभोग्य वस्तु नेपाल भित्रियाउने । जौबारी नेपाल भारतको सीमावर्ती बजार हो ।
सीमावर्ती बजार भएपनि त्यहाँ अधिकांश व्यापारी भारतीय नै हुन्थ्ये । त्यस बजारमा नेपालमा उत्पादित वस्तुको मूल्य बढी पर्ने गरेको सन्दकपुर गाउँपालिकाका किसान खतिवडाको भनाइ छ । खास गरेर अलैँची, कुचो, अदुवा लगायतका वस्तु सो बजारमा महंगो मूल्यमा बिक्ने गरेको थियो । त्यस्तै नेपालीहरुका घरमा उपभोग गर्ने चिनी, तेल, नुन र चामल पनि सस्तो मूल्यमा पाइने गरेको थियो । सस्तो मूल्यमा उपभोग्य वस्तु पाइने भएकाले हालको सन्दकपुर गाउँपालिका मात्र नभइ माइजोगमाई गाउँपालिकाका अधिकांश किसानको मुख्य बजार सोही रहेको थियो । इलाम नगरपालिकाको पनि पायक पर्ने स्थानका उपभोक्ता सोही बजारको भर पर्ने गरेका थिए ।
जौबारी बजार जिल्लाकै फस्टाएको बजारमा रुपमा परिचित थियो । भारतीय सीमासँग जोडिएको कारण किसानले उब्जाएको सबै बेच्न सकिने र किसानको दैनिक उपभोगका सामान पाइने एक मात्र व्यापारी केन्द्र बनेको थियो जौबारी त्यतिबेला । भारतीय व्यापारीहरुको बाक्लो बसोबास भएकोले नेपाली गाउँ घरमा उत्पादित कृषि बालीहरु सजिलै भारतीय बजारसम्म जाने गर्दथ्र्यो । इलामको सन्दकपुर गाउँपालिकामा पर्ने जौबारी भारतीय सिमा जोडिएकोले विभिन्न प्राकृतिक सुन्दरतासँगै आफैंमा पनि पर्यटनको धेरै सम्भावना बोकेकोे ठाउँ हो । हिउँदमा प्राय हिउँ परिरहने र चौरी क्षेत्र समेत भएको हुँदा भारतलगायत अन्य देशका विदेशी पर्यटकहरु दार्जिलिङ हँुदै जौबारी नघुमी फर्कंदैन थिए ।
इलाम सदरमुकामको बिब्ल्याँटे बजार र माईजोगमाई गाउँपालिकाको नयाँबजारमा भन्दा बढी चहलपहल र ठूलो बजारको रुपमा रहेको थियो जौबारी । त्यसैले पनि सबै जौबारी जानै पर्ने बाध्यता जस्तै भएको सन्दकपुर गाउँपालिका ३ का सन्तोष खतिवडाको भनाइ छ ।
त्यसो त हिउँदको समयमा गाउँघर गाडी पुग्ने ठाउँसम्म आफैं किसानले मागेको उपभोग्य सामानहरु लिएर व्यापारी आउने र किसानले उत्पादन गरेको सरसमानहरु लिएर जाने गर्ने गरेको नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष बिप्लव भट्टराई बताउँछन् । हाल इलाम सदरमुकाममा बसेर पत्रकारिता गर्ने भट्टराई सोही क्षेत्रका स्थानीय पनि हुन् । उनले जान्दा जौबारी बाहेक अन्य स्थानमा बजार भनेर जानु पर्दैनथ्यो । पछिल्लो समय सडकको सुगमतासँगै धेरै ठाउँमा बजार बिस्तार हुन थालेपछि जौबारी बजार व्यापारका हिसावमा इतिहासमा सीमित बन्ने पक्का जस्तै छ ।
निकै ठूलो कारोबार हुने बजार खुम्चिँदै गएको छ । जिल्लाको सन्दकपुर गाउँपालिका र माईजोगमाइको प्रमुख बजारका रुपमा परिचित जौवारी हाल प्राय सुनसान जस्तै बनेको छ । व्यापार फस्टाएकोले नेपालको छोटी भन्सार पनि त्यो समयमा राखिएको थियो । यसरी जौबारी व्यापारी केन्द्रको रुपमा राम्ररी फस्टाउँदै गएको समयमा नेपालको १० वर्षे सशस्त्र द्वन्द्वले जौवारीलाई पनि अछुतो राख्न सकेन । भएको प्रहरी चौकी पनि सुरक्षाको कारण देखाउँदै सदरमुकाम तानिएपछि भारतीय व्यापारीहरुले दिनगन्ती गन्दै जौबारी छोड्न थाले ।
स्थानीय लामाले भारतिय व्यापारी बिस्थापित भएपछि बजार सुकेको बताए । सो बजारमा नेपाल तर्फबाट व्यापारीले समेत चासो नराखेपछि बजार सुनसान बन्दै गएको हो । सरकारी क्षेत्रबाट समेत सो क्षेत्रमा चहलपहलका लागि कुनै प्रयास नभएको उनले बताए । हुन त त्यसै क्षेत्रमा जौबारीमा कृषि अनुसन्धान केन्द्र समेत स्थापना भएको छ । यसरी दिनप्रतिदिन बजार सुनसान हुन थालेसँगै किसानहरूले आफूले भने जस्तो आफ्नो समानको मूल्य पाउन छोडेपछि उत्पादित वस्तु त्यहाँ बिक्रीका लागि लग्न छोडेका छन् ।
विशेषत त्यस क्षेत्रका बासिन्दा कृषि क्षेत्रमा लागि परेका छन् । किसानहरुले उत्पादन गरेको घिउ र छुर्पीसमेत त्यस बजारमा महंगो मूल्यमा बिक्री हुने गरेको थियो । जौबारीको चहलपहल घटेसँगै घिउ, छुर्पीले भने जस्तो बजार पाउन छोडेको छ । किसानहरुले भारतका बजारमा पठाउने घिउ छुर्पीको समेत मूल्य कम पाउन थालेपछि त्यस बजारमा उत्पादित वस्तु लैजान छोडेको दावा शेर्पाको भनाइ छ । किसानहरुले घिउ छुर्पी तथा कृषि उपज बिक्री गरेर खाद्यान्न मात्र नभइ कपडा लगायत अन्य सामग्रीहरु समेत ल्याउने गरेका थिए । तर हाल बजारमा सामान पनि छैन स्थानीय बजारमा किनमेल भनेर जाने गरेका पनि छैनन् ।
सीमा क्षेत्रमा रहेको जौबारी मात्र हैन जिल्लामा सञ्चालित अन्य बजारहरुको अवस्था समेत उस्तै छ । जिल्लाको मानेभन्ज्यांगमा समेत उस्तै भिम्भाड हुने गरेको थियो । इलामको भारततर्फ जाने मुख्य नाका मानिएको पशुपतिनगरमा समेत चहल पहल कमी नै भएको छ । तर यहाँ किनमेल नै ठप्प भएको भने हैन ।
व्यापारमा कमी आएपछि त्यहाँका व्यापारीहरु समेत बिस्थापित हने खतरा बढेको छ । विशेष गरेर पशुपतिनगरमा हाल कपडाकै व्यापार बढी हुने गरेको छ । कपडा मात्र बेचेर बजार कायम रहिरहन नसक्ने व्यापारी पवि राइको भनाइ छ । उनले कहिले व्यापार नै नगरी बेलुका सटर तानेर हिँड्नु परेको समेत बताइन् । यो कोरोना पछि अझ व्यापार घटेको छ । पलायन हुन लागेका व्यापारीलाई थाम्न सरकारले विशेष प्याकेजका कार्यक्रम ल्याउनु पर्ने स्थानीयहरुको भनाइ छ । व्यापारीलाई सहुलियत दरमा ऋणको व्यवस्था मिलाउन सके पनि हदसम्म समस्याको समाधान हुने सो क्षेत्रका व्यापारीहरुको भनाइ छ ।
सूर्योदय नगरपालिकामा रहेको उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले समेत सो क्षेत्रमा चहलपहल बढाउन जिजी क्षेत्रले मात्र सम्भव नभएकाले सरकारी निकायबाट समेत पहल चाल्नु पर्नेमा जोड दिए । त्यस क्षेत्रका भारतिय व्यापारी भारत नै फर्किन थालेका छन् भने स्थानीय व्यापारी समेत बिर्तामोड, बिराटनगर लगायतका स्थानमा जान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्