यूएनएफपीएद्वारा सरकारलाई आठ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण

संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)ले नेपालको कोभिड–१९ महामारी प्रतिकार्यमा उपलब्ध गराउँदै आएको मानवीय सहायतालाई निरन्तरता दिँंदै थप जीवन रक्षक सामग्री प्रदान गरेको छ ।
नेपालस्थित यूएनएफपीए उपप्रतिनिधि डा. हसिना बेगमले सोमबार १ करोड १९ लाख मूल्य बराबरको आठ सय थान अक्सिजन सिलिन्डर स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीलाई हस्तान्तरण गरे ।
नेपालको कोभिड–१९ प्रतिकार्यका लागि यूएनएफपीएबाट प्राप्त सहयोग नेपाल सरकार, चीन सरकार र यूएनएफपीएबीचको विद्यमान दक्षिण–दक्षिण र त्रिकोणीय सहयोग परियोजना सम्झौताअन्तर्गत चीन सरकारबाट सहयोग भएको हो ।
कोभिड–१९ को दोस्रो लहरविरुद्ध संघर्ष गरिरहेको समयमा नेपालले अक्सिजनको ठूलो अभाव भोग्नु परेको थियो । महामारीले देशभरिका स्वास्थ्य संस्थामाथि निकै ठूलो दबाब सिर्जना गरेको छ । “हामीलाई अहिलेको आपतकालीन स्थितिको सामना गर्न र सम्भावित तेस्रो लहरको लागि तयारी गर्न अक्सिजन चाहिन्छ । चीन सरकार र यूएनएफपीएको यो सहयोगले अक्सिजन आपूर्ति सहज रहेका स्वास्थ्य संस्थामा पहुँच बढाउन मद्दत गर्नेछ,” डा. टिंकरीले भने । “हाम्रो सामूहिक कोभिड–१९ प्रतिकार्यमा अन्तर्राष्ट्रिय विकास साझेदारसंँगको साझेदारीको हामी कदर गर्दछौं ।”