राष्ट्रिय प्रसारण लाइनमा जोडियो जुम्ला «

राष्ट्रिय प्रसारण लाइनमा जोडियो जुम्ला


जुम्ला जिल्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । लामो प्रयास र संघर्षपछि जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
पूर्वनिर्धारित समयअनुसार साउनकै दोस्रो साताबाट जुम्लामा राष्ट्रिय प्रसारणलाइन पुगेको नेपाल विद्युत् प्राधिरकण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले बताए ।

उनले भने, “दैलेखदेखि दुल्लु १५० किमि, दुल्लुदेखि कालिकोट ६० किमि र कालिकोट हुँदै जुम्ला ८० किमिको दूरीमा परीक्षण गर्दै ११ केभी राष्ट्रिय प्रसारणलाइन जुम्ला पुगेको छ । आइतबार बिहान १० बजेदेखि राष्ट्रिय प्रसारण लाइनको बत्ती जुम्ला सदरमुकाम खलांगामा बलेको हो ।”
गएको असार २६ गतेदेखि कालिकोट हँुदै जुम्लाका विभिन्न भागमा नेपाल विद्युत् प्राधिकरण जुम्लाको टोलीले परीक्षण कार्य गरिरहेको थियो ।

जुम्ला क्षेत्रमा असार २८ गत नै परीक्षण कार्य सकाएर असार ३१ देखि साउन १६ गतेसम्म कालिकोट क्षेत्रका विभिन्न भागमा परीक्षण गरी अन्ततः सफल भएको प्रमुख पाण्डेको भनाइ छ ।
प्रमुख गौरव पाण्डेले राष्ट्रिय प्रसारण लाइनको ११ केभी जुम्ला पु¥याउने आफ्नो जिम्मेवारी पूरा गरेको बताए । उनका अनुसार जुम्लाका आठ स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकामा एक डेढ हप्तामै घरघरमा बत्ती पुग्ने छ भने, तिला र तातोपानी गाउँपालिकामा दसैसम्म सबै मेजरपार्ट जडान भई सञ्चालनमा आउने छन् । साथै सिंजा क्षेत्र तथा गुठिचौर पातारासीमा चालू आवभित्रै बत्ती बल्ले गरी काम दुर्त रूपमा काम अघि बढाइने समेत प्रमुख पाण्डेले उल्लेख गरे ।
राष्ट्रिय प्रसारणलाइन जुम्ला पुग्यो । यसको विस्तारका लागि सरकारले बजेट पनि छुट्याइ सकेको छ । जुम्लाका आठै तहका (एलटी) लाइन विस्तारका लागि चाँडै टेण्डर आह्वान गर्ने र लाइन विस्तारको काम पनि अघि बढाउने जानकारी दिए । राष्ट्रिय प्रसारणलाइन जुम्ला पुगेसँंगै जुम्लीबासीको बहुप्रतीक्षाको घडी पनि सकिएको छ ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले भने, “जुम्लाबासीमा खुसीको सीमा छैन । अब जुम्लाका अँध्यारा बस्ती झिलिमिली हुनेछन् । विद्युत् अभावले होटल व्यवसाय, उद्योगधन्दा बन्द हुने छैनन् ।”
करिब १ लाख २० हजार जनसंख्या रहेको जुम्लामा अझै ९५ प्रतिशत नागरिक अँध्यारोमै बस्न बाध्य छन् । अब छिटै सबै नागरिक विद्युत्को पुहँचमा पुग्ने आशामा छौं । प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले भने, “सडकदेखि सदनमा कर्णालीमा राष्ट्रिय लाइन पु¥याउन दबाब दिइयो । तर सरकारले ढिलै भए पनि कर्णालीको गुनासो सुनुवाइ ग¥यो अब बत्तीको दिगो व्यवस्थापनमा ध्यान दिनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्